'विजनेश म्यानेजमेन्ट'मा मास्टर्स गरेकी श्रीमती ज्ञानकुमारी पुनसँग बेलायतबाट फर्केर बाख्रापालन सुरू गर्दा प्रेमसागर पौडेललाई खिसीट्युरी गर्नेहरू धेरै थिए।
प्रेमले पनि अंग्रेजी साहित्यमा स्नातकोत्तर र शिक्षाशास्त्रमा एमफिल गरेका छन्।
बागलुङ जैमिनिस्थित पैंयुमा जन्मिएका प्रेमसागर केही वर्ष राजनीति र लेखनमा लागेका थिए। प्रेमसागर विद्यार्थी कालदेखि चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चामा आकर्षित थिए। अध्ययनकै क्रममा अखिल छैठौंमा आवद्ध भएका उनी पछि यसकै केन्द्रीय महासचिवसम्म भए। अनि बेलायत गए।
विदेश गएपछि बल्ल आफ्नो ठाउँको ज्यादा माया लाग्दो रहेछ। त्यसमाथि प्रेमसागर केही न केही समाजको लागि काम गर्नुपर्छ भन्ने सोच हुर्काएका मान्छे। उनलाई कृषिकर्म गर्नुपर्छ भन्ने मनमा थियो। नेपाल फर्किएर कृषिमा के गर्ने भन्ने कुरा उनको मनमा धेरै वर्ष खेल्यो।
उनी चाहन्थे केही सेवा पनि होस्, गरी खान पनि पाइयोस्। त्यसैले नयाँ क्षेत्र रोजे बाख्राको बिउ उत्पादन। बेलायतबाट फर्केर २०६९ सालदेखि रूपन्देहीको सैनामैना-४ मा बाख्रा फर्म खोले।
उनको बुझाइमा कृषि पेशामात्र होइन सेवा पनि हो। धेरै नाफा कमाउन खोज्नेहरूलाई कृषि पेशामा टिक्न गाह्रो हुने उनी बताउँछन्।
'यो फर्ममा पाँच करोडभन्दा बढी लगानी भइसकेको छ। यत्रो लगानी गरेर अरू व्यवसाय चलाएको भए काम गर्न सजिलो र नाफा पनि धेरै हुन्थ्यो तर हामीले पेशासँगै सेवा रोज्यौं,’ उनले भने।
बेलायतबाट फर्केर २०६९ सालदेखि रूपन्देहीको सैनामैना-४ मा बाख्राफर्म खोले।
यो मासुका लागि गरिएको बाख्रापालन भने होइन। बिउ बोकाबाख्रा उत्पादन गर्ने फार्म हो।
२५ वटा बाख्रा र एउटा बोयर जातको बोकाबाट उनीसहित पाँचजनाको समूहले यो फर्म सुरू गरेको थियो। १० विघा जग्गा लिजमा लिएर सुरू गरिएको यो फर्ममा अहिले भने ५ सयभन्दा बढी विभिन्न १४ प्रकारका माउ बाख्रा र ४ प्रकारका बोका पालिएका छन्।
फर्मले बाख्रा पाल्ने किसानलाई नश्ल सुधार गरी उत्पादन गरेका पाठापाठी उपलब्ध गराउँछ। त्यतिमात्र होइन पशु आहारको लागि बहुवर्षीय भुइँ र डाले घाँसको बिउ उपलब्ध गराउने श्रोत केन्द्रको रूपमा पनि काम गरिरहेको प्रेमसागरले बताए।
‘हामीहरूले सैनामैना कृषि उद्योगसँगै सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार भनेर दुई प्रकारबाट काम गरिरहेका छौं,' प्रेमसागरले भने।
यहाँ उत्पादित बाख्रा तथा बोकाहरू मासुको लागि भने बिक्री नगर्ने उनले बताए।
‘मासुको लागि भए त्यहीअनुसार पालिन्थ्यो होला तर यो अभियान हो, यहाँ उत्पादन भएका पाठापाठी बिउको रूपमा किसानले लैजानुहुन्छ,’ उनले भने।
नेपालमा खाद्यवस्तुको उत्पादन राम्रो भए पनि बिउको महत्व बुझ्न नसक्दा परम्परागत जातहरू लोप भएकोले बाख्राका जात संरक्षण गर्ने पनि फर्मको उद्देश्य रहेको प्रेमसागरले बताए।
‘कुनै पनि कृषि तथा पशुपालनको एउटा खाद्यवस्तु उत्पादनको लागि गरिन्छ भने अर्को बिउको उत्पादनको लागि गरिन्छ हाम्रो दोस्रो उद्देश्य हो। नेपालमा बाख्राको गुणस्तर सुधार गर्ने र राम्रो खालको बाख्राको विकास गर्ने हाम्रो उद्देश्य हो,’ प्रेमसागरले भने।
फर्मको क्षमता ५ सय बाख्राको मात्र छ त्यसैले उनीहरूले माग अनुसार उत्पादन गर्न सकेका छैनन्।
प्रेमसागरका अनुसार वर्षमा १ हजार बढी पाठापाठी फर्मबाट किसानलाई उपलब्ध गराउने गरिएको छ।
बाख्राबाट धेरै पटक र धेरै संख्यामा बच्चा जन्माउने भन्दा पनि स्वस्थ र गुणस्तरको बच्चा जन्मियोस् भन्नेतर्फ पनि आफूहरू सचेत रहेको उनले बताए।
'बाख्राको गर्भावस्थाको समय पाँच महिनाको हुन्छ, एक पटक बच्चा पाएको एक महिनापछि फेरि बोका लगाएर ६ महिनामा पुनः पाठापाठी जन्माउन सकिने भए पनि बाख्राको माउ र जन्मिने पाठापाठीको स्वास्थ्यलाई हेरेर एकपटक सुत्केरी भएको ३ महिनापछि बोका लगाएर ८ महिनामा पाठापाठी उत्पादन गर्ने गरिएको छ,’ उनले भने।
फरक-फरक जात र सुत्केरी, गर्भवती र बच्चा गरी अलग-अलग अवस्था अनुसार ५ वटा खोरमा बाख्रा राख्ने गरेको उनले बताए।
त्यस्तै घाँसको स्रोत केन्द्रको रूपमा विभिन्न २१ प्रजातिको घाँसको बिउ र बेर्नासमेत उत्पादन गर्छन्। बाख्राको स्याहार, घाँस र बिउ उत्पादनको लागि १२ जना स्थानीयले उनको फर्ममा रोजगारी पाएका छन्।
गर्न सके त कृषिमा पनि हुने रहेछ भन्ने उनले आफ्नै कृषिप्रतिको सामाजिक मनोविज्ञान त्यति राम्रो नभएको उनको अनुभव छ।
‘नेपालमा सबैभन्दा हेला गरिएको पेसा कृषि हो, प्रविधि र ज्ञानको अभावमा शारिरीक श्रममा मात्र अडिएकोले यो पेसाप्रति समाजको राम्रो दृष्टि छैन,' उनले भने, 'तर हामीकहाँ यसकै सम्भावना राम्रो छ।'
नेपालको अहिलेको शिक्षाले युवाहरूलाई स्वरोजगार र जोखिम लिन सक्ने आँटको विकास गर्न नसकेप्रति उनको दुखेसो छ।
‘हाम्रो शिक्षाले हामीलाई स्वरोजगार र आँटिलो बनाउन सकेन, मेहनत गर्न त सिकायो तर अरूले लगाइदिएको काम गर्न र अरूको लागि गर्न सिकायो,’ उनी भन्छन्।
नेपालको कृषिको बारेमा अध्ययन गरेर बाख्रा पालनमा आएकोले नेपालको कुन क्षेत्रमा कस्तो जातको बाख्रा पालन फस्टाउँछ भन्ने पनि उनलाई ज्ञान छ। नेपालमा घाँसमा आधारित बाख्रा पालन गर्ने आफू नेपालको पहिलो किसान भएको उनी दाबी गर्छन्।
उनको फर्ममा देशका विभिन्न जिल्लाबाट दैनिक रूपमा बाख्रा पाल्न चाहने र कृषि गर्न चाहने किसानहरू आउने गर्छन्। बाख्रा पाल्न चाहने किसानलाई आफ्नै फर्ममा केही दिन राखेर प्राविधिक कुरासमेत सिकाउने गर्छन्। किसानहरूलाई आत्मबल र व्यावसायिक लगाव बढाउन प्रोत्साहन दिन्छन्।
नेपालको आफ्नै जातको खरि जातको बाख्राको उत्पादनलाई सुधार गरेर राम्रो पाठापाठी उत्पादन गर्ने र कतिपय बाख्राको जातीय शुद्धता नहुँदा त्यसबाट राम्रो उत्पादन लिन नसकिएकोले जाति शुद्धतामा पनि विशेष ध्यान दिइएको उनले बताए।
यो फर्ममा अहिले प्रचलन धेरै आएको बोयर जातको बाख्रासँगै ठूलो शरिर भएको अष्ट्रेलियन विटल, अफ्रिकाको बारबेरी, मुडुलो, ब्ल्याक बंगाल, कपारी, खबारी, जमुनापारिलगायत १४ जातका बाख्राको बिउ उत्पादन हुन्छन्। बिउको लागि प्रयोग गरिने बोका भने चार प्रजातिका रहेका छन्।
बाख्रा पाल्न चाहने किसानलाई आफ्नो क्षेत्रको हावापानीसँग मिल्ने र राम्रो बिउको बाख्रा छनोट गर्न उनले सल्लाह दिन्छन्। उनीहरूलाई चाहिने आहार र खोर बनाउने सही तरिका पनि सिकाउँछन्। उनकाअनुसार बाख्रा पालन गर्दा हावा-पानी मिल्ने बाख्रा पाल्ने, खोर बनाउँदा उनीहरूको दिसापिसाब नजम्ने गरी अग्लो र सफा हुनुपर्छ।
१० किलो तौलको बाख्रालाई दिनमा एक किलो सुख्खा घाँस चाहिन्छ। त्यो सँगै हरियो घाँस र दाना पनि मिलाएर दिनुपर्छ। हरियो घाँसमा पानीको मात्रा धेरै हुने र पराल तथा भुस सुख्खा हुने भएकोले काटेर मिलाएर दिनुपर्छ।
यसरी बाख्राको बिउ उत्पादन गर्ने काममा उनले गरेको कामको कदर राज्यले समेत गरेको छ।
सरकारी क्षेत्रबाट गर्नुपर्ने काम गरेको भन्दै उनको फर्मलाई २०७३ सालमै जिल्ला पशु सेवा कार्यालयले नमूना फर्म घोषणा गरेको थियो।
त्यसैगरी नेपालमै सबैभन्दा धेरै पाठापाठी उत्पादन गर्ने नमूना फर्मको रूपमा राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) ले २०७६ सालमा पुरस्कृत गरेको थियो।