न गर्मीमा ओत लाग्ने त्रिपाल छ, न त चिसोमा न्यानो दिने छाप्रो।
छ त खुला आकाश र त्यही खुला आकाशमुनि सडकछेउ टुसुक्क बसेर ४६ वर्षदेखि खानेतेल र मट्टीतेल बेच्दै आएका छन्, ७० वर्षीय रामशंकरलाल देव।
सप्तरी, राजविराज नगरपालिकास्थित कृष्ण मन्दिरको ठिक सामुन्ने छ उनको पसल। यो पसल सुरू गर्दा उनी जम्मा २४ वर्षका थिए। भर्भराउँदो जवानीदेखि प्रौढ हुँदै अहिले वृद्धावस्थासम्म उही ठाउँमा उसैगरी उही व्यवसाय गर्दै आएका रामशंकरलाललाई राजविराज हटियामा नचिन्ने सायदै कोही होला।
उनलाई यहाँका स्थानीय र हटियामा आउने-जाने सबैले 'देवजी' का नामले चिन्छन् र यही नामले बोलाउँछन्। चाहे ती उनका समवयी हुन् वा युवा वा बालक।
‘मैले जुन बेला मट्टीतेल र खानेतेल बेच्न सुरू गरेको थिएँ, त्यति बेला मट्टीतेलको भाउ पैसामा थियो,’ आफ्नो युवावस्था सम्झिँदै देवजीले भने, ‘हामी डिलर र मिलहरूबाट सस्तोमा तेल किनेर ल्याउँथ्यौं र दुई-चार पैसा बढाएर बेच्थ्यौं।’
पहिले-पहिले जो पनि खुला तेल नै खान्थे, उनको दोकान खुब चल्थ्यो। टुकी बाल्नदेखि खान पकाउनसम्म मट्टीतेलकै प्रयोग ज्यादा हुन्थ्यो। त्यो समय देवजीलाई पसलमा भ्याइनभ्याइ थियो।
उनी बिहान ६ बजे नै हटिया पुग्थे र राति १० बजेसम्म व्यापार गरी घर फर्किन्थे। उनको घर हटियाभन्दा करिब तीन किलोमिटर दुरीमा पर्छ।
जसै समाज विकसित हुँदै गयो, तेल उद्योगहरू फस्टाए। स्थानीय मिलमा पेलेर ल्याइने खुला तेलको ठाउँ ठूल्ठूला उद्योगले उत्पादन गर्ने प्याकेजिङ तेलले लियो। घर-घरमा बिजुलीबत्ती आएपछि टुकीबत्ती बाल्न मट्टीतेल पनि प्रयोग हुन छाड्यो। भान्छामा प्रयोग हुने मट्टीतेललाई विस्तारै ग्यासले विस्थापन गर्यो।
अचेल देवजीलाई कामको खासै चटारो छैन। दिनको एकाध खरिदकर्ता आउँछन्। मुश्किलले डेढदेखि दुई सयको बिक्री हुन्छ। तै पनि नित्य पसल खोल्ने र दिनभरि रूँगेर बस्ने धर्म छाडेका छैनन्। अहिले पनि उनको घरको एउटा कोठा तेलका भाँडाहरूले भरिभराउ नै छ।
देवजी राजविराज नजिकैको बवनाकट्टीका स्थानीय हुन्। २०१६ सालमा उनका बुवा परिवारसहित राजविराज बसाइँ सरेका थिए।
‘राजविराज आउँदा म ३ वा ४ कक्षा पढ्दै थिएँ होला,' उनले भने, 'त्यसपछि १० कक्षासम्मको पढाइ यहीँ आएर गरेँ।'
यसबीच केही समय बिरामी भएर पढाइ रोकिए पनि २०२७ सालमा उनले एसएलसी पास गरे। त्योभन्दा अगाडि पढेनन्। ‘एसएलसी त जसोतसो दिएँ, पास पनि हुन्छु जस्तो लागेको थिएन,’ उनले भने, ‘धन्न दोस्रो श्रेणीमा पास भएँ, त्योभन्दा बढी पढ्ने जाँगर चलेन। भाइहरूले भने पढाइलाई निरन्तरता दिइरहे।’
पढाइ छाडेपछि परिवारका साइँला छोरा देवजीले घरको कमजोर आर्थिक स्थितिमा भरथेग गर्न तेल बेच्न सुरू गरे। अहिले उनका भाइहरू आ-आफ्नो जागिरबाट रिटायर्ड भएर बसेका छन्। उनले भने पसल छाडेका छैनन्।
कामप्रतिको लगाव र निरन्तरतालाई लिएर उनकी पत्नी आशा देव पनि प्रसन्न छिन्।
‘मसँग बिहे गर्नुभन्दा वर्षौं पहिलेदेखि तेल बेच्दै आउनुभएको हो, उहाँलाई अझै यसैमा आनन्द लाग्छ,’ उनले भनिन्, ‘हाम्रो घरपरिवार उहाँको त्यही व्यापारले चलायो। छोराछोरीको पढाइ खर्च पनि त्यसैले टार्यो।’
उनले अगाडि भनिन्, 'जीउले साथ दिएसम्म उहाँले पसल चलाउन छाड्नुहुन्न।'
सत्तरी वर्षको जीवनयात्रामा आर्थिक अभावदेखि थुप्रै हन्डर खाएका देवजीले २०७२ को मधेस आन्दोलनमा भने दु:खको ठूलो भारी बोक्नुपर्यो। आन्दोलन क्रममा उनका जेठा छोरा जितेन्द्रनारायण देवले ज्यान गुमाए।
त्यो २०७२ असोज ३० को दिन थियो।
जितेन्द्र 'एकैछिनमा फर्किन्छु है' भनेर साइकल चढेर निस्केका थिए, कहिल्यै घर फर्केनन्।
आन्दोलनमा सक्रिय जितेन्द्र मधेस र मधेसीको अधिकारबारे सामाजिक सञ्जालमा लेख्ने गर्थे। बेपत्ता भएको चार दिनपछि उनको शव कान काटिएको अवस्थामा सप्तरीको सशस्त्र बेसक्याम्प नजिकै नहरमा फेला पर्यो। त्यति बेला जितेन्द्रको विवाह भएको करिब ४ महिना मात्र भएको थियो।
‘त्यो पीडा पाँच वर्ष बित्दा पनि भोगिरहेका छौं,’ देवजीले भने।
उनको पीडा यतिमै सीमित भएन। दुई वर्षपछि पतिको शोकमा रहेकी बुहारीको समेत मृत्यु भयो। त्यसको अर्को दुई वर्षपछि कम्प्युटर इञ्जिनियरिङको अन्तिम वर्ष पढ्दै गरेकी २२ वर्षीया कान्छी छोरी लक्ष्मी देव सवारी दुर्घटनामा बितिन्।
‘मंसिरमा उनको फाइनल जाँच थियो, विदा भएपछि घर आउँदै थिइन्,’ शंकरनारायणका कान्छा छोरा चन्द्रनारायणले भने, ‘साथीभाइसँग ऋण लिएर इञ्जिनियर बनाउने सपना देखेका थियौं, दैवलाई हाम्रो त्यो खुसी पनि सही नसक्नुभयो।'
अहिले देवजीको घरमा तीन जनाको परिवार छ। कान्छा छोरा चन्द्रनारायण एनसिसी बैंक लहानमा सहायक प्रबन्धक छन् भने देवजी आफ्नी पत्नी आशाका साथ राजविराजमै बस्छन्।
देव दम्पती अहिले पनि हत्या गरिएका छोराको न्याय निम्ति भौंतारिरहेका छन्। तर, उनको पीडा सुन्ने फुर्सत कसैलाई छैन। न केन्द्रीय सरकारले सुन्छ, न त मधेस आन्दोलनकै जगमा स्थापित प्रदेश नम्बर दुईको सरकारले।
‘दाजुको हत्यापछि वृद्ध अभिभावकलाई विक्षिप्त अवस्थामै छाडेर हामीले थुप्रै सरकारी निकाय धायौं,’ भावुक हुँदै चन्द्रनारायणले भने, ‘राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँदा पनि कहीँ कतैबाट सहयोग पाइएन। कानुन भनेको सानालाई लाग्ने रैछ, न्याय भनेको ठूलाबडाले मात्र पाउने रैछन्। हामीजस्ता सामान्य वर्गका व्यक्तिका लागि पीडा सहनुको विकल्प रैनछ।’
देवजीको अन्तिम इच्छा अब एउटै छ- छोराका हत्यारालाई पक्राउ गरी कारबाही गरियोस् र उनलाई सहिद घोषणा गरी सम्मान दिइयोस्।