नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियामा देखिएको समस्या र असमझदारीलाई समाधान गर्न दुवै देशका सुरक्षा प्रमुखहरूबीच समझदारी भएपछि बेलहिया नाका सुचारू भएको छ।
भारतीय सीमा सुरक्षाबल एसएसबीले स्थानीय महिलालाई ज्यादती गरेको भन्दै सीमानाका बेलहियाबासीले बुधबार साँझ सीमानाकामा प्रदर्शन गरेपछि रातिसम्म नाका अवरूद्ध भएको थियो।
भारतीय सुरक्षाकर्मीले चेकिङको बहानामा बेलहियाकी देवी आलेमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारतको महाराजगञ्जका सुरक्षा प्रमुख डिएम र एमपिबीच छलफल भएको थियो।
छलफलमा महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने तथा सीमा क्षेत्रमा देखिएको सामान्य समस्यालाई सामान्य ढंगले नै समाधान गर्ने समझदारी भएपछि नाका खुलेको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आ-आफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए।
उक्त सहमतिपछि अहिले बेलहिया नाका पूर्ण रूपमा सुचारू भएको छ।
कोरोना महामारीपछिको लकडाउनको समयमा बन्द गरिएको सीमानाका खुला गरिए पनि भारतीय पक्षले नेपालीहरूलाई भारततर्फ जान रोक लगाउँदै आएका थिए।
भारततर्फबाट नेपाल आउनका लागि नाका खुला गरिए पनि नेपालीहरूलाई भारत जान रोक लगाएपछि विगत केही सातादेखि बेलहियाबासीले नाका खोल्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका थिए।
बेलहिया नाका भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरू पैदलमार्ग हुँदै नेपाल आउने सबैभन्दा ठूलो नाका हो। तर विभिन्न बहानामा भारतीय एसएसबीले नाकामा अवरोध गर्दा पर्यटक आवागमनमा समेत समस्या भएको पर्यटन व्यवसायीहरू बताउँछन्।
बुद्ध जन्मस्थल लुम्बिनी आउने अधिकांश पर्यटकहरू भारत हुँदै बेलहिया नाका भएर आउने र फर्किंदा पनि यही नाका भएर फर्किने गरेका छन्।
तर भारतीय एसएसबीको ज्यादतीका कारण अहिले यो नाकाबाट न्यून संख्यामा पर्यटकहरू नेपाल आउने गरेका छन्। यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको समयमा समेत बेलहियाबासी एकजुट भएर प्रदर्शनमा उत्रिएका कारण बन्द नभएको बेलहिया नाका कोरोनापछि भने विभिन्न समयमा अवरोध हुने गरेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतबाट नेपाल प्रवेशमा रोक नलगाए पनि नेपालबाट भारत सुनौलीतर्फ जाँदा रोक लगाउने र नेपालीमाथि अभद्र व्यवहार गर्दै आएको छ।