बाल्यकालमा धेरैको सपना हुन्छ- पढेर डाक्टर, इन्जिनियर वा शिक्षक बन्छु।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगाकी सुनैना ठाकुरको सपना भने फरक थियो।
कक्षा १० पढ्दापढ्दै उनले ठानिसकेकी थिइन्, अरूलाई सामान्य लाग्ने आफ्नै घर बनाइने चित्रकलालाई बजारसम्म पुर्याउने छु।
ठाकुरलाई बच्चैदेखि चित्र कोर्न र त्यसमा अनेक रंग भर्न मन पर्थ्यो।
जब-जब उनको घरमा कुनै पर्व वा अन्य कुनै शुभ कार्य हुन्थ्यो उनी चित्र बनाउन खुबै उत्सुक हुन्थिन्।
पहिले-पहिले गाउँ घरमा विवाह, मुण्डन वा व्रतबन्ध हुँदा महिलाहरूले माटोको भित्तामा अनेक चित्रहरू बनाउँथे। अहिले पनि मिथिलाञ्चलमा कुनै शुभ कार्य हुँदा महिलाहरू घरको भित्तामा आफ्नो संस्कृति झल्किने विभिन्न कलात्मक चित्रहरु कोर्ने गर्छन्। शहरभन्दा यो संस्कारलाई गाउँका महिलाहरूले जीवन्त राखेका छन्।
चाडवाडमा आउँथ्यो अनि हजुरआमा र आमा रंग लिएर भित्तामा चित्र कोर्न बस्थे, सुनैना उनीहरूका हात ध्यान दिएर घन्टौंसम्म हेर्थिन्। कसरी हात चलाउँछन्, कसरी चलाउँदा कस्तो चित्र बन्छ, रंग कसरी भर्छन् सबै। आमाहरूले भित्तामा चित्र बनाएपछि उनको काम सुरू हुन्थ्यो, कापीमा त्यसको नक्कल उतार्ने।
कापीमा उतार्दा-उतार्दै कुनैबेला उनको चित्र हजुरआमा र आमाले बनाएकाजस्तै देखिन्थ्यो भने कुनै बेला जति कोसिस गरे पनि हुन्नथ्यो। उनले प्रयास गर्न कहिलै छोडिनन्।
घरमा सिकेको कला उनले विद्यालयसम्म पुर्याइन्। उनलाई कक्षा पाँचको चित्रकला बनाउने प्रतिस्पर्धामा भाग लिएकी थिइन्। उत्कृष्ट चित्र बनाएकोमा पुरस्कार जितिन्। उनलाई आफूले संसारै जितेझैं लागेको थियो। त्यो पुरस्कार आज पनि उनको प्रेरणाको स्रोत हो रे।
‘त्यतिबेला सरले मलाई पुरस्कारको रूपमा कलर बक्स दिनुभएको थियो,’ सुनैनाले सेतोपाटीसँग भनिन् ‘म त्यो क्षण कहिलै बिर्सिन्नँ, म कति खुसी भएकी थिएँ। त्यही पुरस्कारले गर्दा आज म यहाँसम्म आइपुगेकी हुँ।’
सुनैनालाई त्यति बेला आफूले बनाएको चित्र मिथिला चित्रकला नै हो भनेर थाहा थिएन।
उनले त्यो चित्रमा एउटा रूख बनाएकी थिइन्। त्यही रूखको छहारीमुनि एक महिला बसेको देखाएकी थिइन्।
मिथिलाका गाउँ घरमा प्रायः ठाउँ ठाउँमा रूख र पोखरी हुन्छ नै। गर्मीयाम महिला तथा पुरूषहरू खेतबारीको काम गर्न जाँदा गर्मी भयो भने रूखकै छहारीमुनि सुस्ताउँछन्।
सुनैनाको मनमा त्यही ख्याल आएछ। उनले अरूले झैँ फूल वा घर नबनाई रूख र त्यसको छायामा बसेकी एक महिलाको चित्र बनाइन्।
‘हाम्रा गाउँकै कतिपय काकी दिदीहरू खेतमा काम गर्न जानुहुन्थ्यो। कुनै बेला खेतमा केही रोप्न त कुनै बेला गाईवस्तुका लागि घाँस ल्याउन,’ बाल्यकाल सम्झिँदै सुनैनाले भनिन् ‘चर्को घाम लागेको छ भने केहीबेर खेत वरिपरि रूखबिरूवा छन् भने त्यहाँ गएर थकाइ मार्नुहुन्थ्यो। त्यही कुरा मेरो दिमागमा खेल्यो र हातले त्यसलाई चित्रमा उतारिदियो।’
त्यसयता उनी लगातार चित्र बनाइरहिन्। कहिलेकाहीँ उनी चित्र बनाउन यतिसम्म मग्न हुन्थिन् की कक्षामा शिक्षकले के पढाए भन्नेसमेत थाहा पाउन्नथिन्।
उनको हातमा कलम र कापी हुनेबित्तिक कुनै न कुनै प्रकारको चित्र बनाइ हाल्ने।
‘मानिसलाई चुरोट वा गुटखा खाने लत हुन्छ नि हो मलाई पनि चित्र बनाउने लत नै लागिसकेको थियो,’ सुनैनाले हाँस्दै भनिन् ‘कुनै कुनै बेला त यस्तो हुन्थ्यो की गणितका सरले ब्ल्याकबोर्डमा हिसाब सिकाइरहनु हुन्थ्यो, म पनि ब्ल्याक बोर्डमै हेरिरहेकी हुन्थें, तर मेरा दिमाग र हात चित्र कोर्नमा व्यस्त हुन्थे।'
सरले पढाएर गइसकेपछि साथीहरूसँग सोध्थिन्, उनीहरू हाँस्न थाल्थे।
सुनैनाको यो चित्र बनाउने क्रम कक्षा १० सम्म चलिरह्यो। त्यसपछि घरमा उनको विवाहको कुरा चल्न थाल्यो ।
मिथिलामा छोरीको विवाह हुँदा तन्ना, पर्दा, तकियाको खोलसहितका सामान दिँदा हाते पेन्टिङ गरिएका विभिन्न कलात्मक सामान दिने चलन छ। सुनैनाकी आमाले पनि नदिने कुरै भएन्। सामानमा चित्र आमाहरू बनाउँथे। तर उनकी आमालाई भित्तामा मिथिला चित्रकला बनाउन आए पनि कपडामा पेन्टिङ गर्न आउँन्नथ्यो।
श्रीमानको घरमा पठाउने कपडाका सामग्रीमा चित्र सुनैनाले नै बनाउनु पर्यो।
‘मेरो विवाह हुँदा मेरा जति पनि तन्ना, डसना, तकियासहितका खोल थिए ती सबैमा मैले नै चित्र बनाएकी थिएँ,’ उनले भनिन् ‘ती सामानहरू हेर्ने सबैले मेरो खुबै तारिफ गर्थे।’
बिहेपछि भने उनले केही समय चित्र बनाउन छोडिन्। तर गाउँका अन्य महिलाहरूले पेन्टिङ गरिदिनका लागि आग्रह गर्दा उनी पछाडि पर्दिनथिन्।
उनले चित्रकला बनाएरै भोलिपर्सि आफ्नो नाम बनाउने त सोचेकी थिइन् तर कहिल्यै लागेको थिएन यही कलाले उनलाई विदेशमा ख्याति दिलाउँछ भनेर।
आर्टिष्ट बन्ने सपना बोकेकी सुनैनाले जनकपुरधामलगायत विभिन्न स्थानमा कलाको तालिमका लागि ओहोरदोहोर गरिन्। त्यस क्रममा उनलाई कसैले काठमाडौंस्थित ललितकला क्याम्पस जान सुझाए।
उनी सन् २००३ मा त्यहाँ पुगिन्। ललितकला पुगेपछि उनले सोचे अनुसारको चित्रकला त्यहाँ सिकाइन्छ भन्ने लागेन, केही दिनमै घर फर्किइन्।
विवाहपछि अक्सर बाहिर निस्कन छोरीहरूलाई हम्मे पर्ने जमाना थियो। तर उनका श्रीमानले भने उनको रहर पूरा गर्न साथ दिए।
उनले चित्रकला बनाउँदै गर्दा अझै राम्रो र अर्थपूर्ण होस् भन्ने चाहन्थिन। त्यसैले आफ्ना चिनजानका मानिससँग मिथिला चित्रबारे सोधिखोजी पनि गर्थिन्। नयाँ -नयाँ आइडिया सिक्न उनका श्रीमानले पनि सघाउँथे।
'इन्टरनेटदेखि भारतको बिहारमा बस्ने आफ्ना परिवार सबैसँग सोध्ने गर्थ्यौं,' उनले भनिन्। त्यही क्रममा उनलाई भारतमै बस्ने आफन्तले दिल्लीमा चित्रकलाको तालिम दिइन्छ भन्ने सुनाए।
त्यतिबेला उनलाई त्यो तालिम लिन दिल्ली जानका लागि घरपरिवारका सदस्यलाई खुबै मनाउनु परेको थियो।
सासु ससुरासँग स्वीकृति नलिई जानै नमिल्ने परिस्थिति थियो। उनका श्रीमानले आफ्ना बाआमालाई मनाए।
मिथिला चित्रकलाको तालिम लिएपछि आफ्नै व्यवसाय गर्ने गर्ने हो भनेर सम्झाएका थिए। घर चलाउन बुहारीले पनि सहयोग गर्ने कुरा सुनेपछि भने उनीहरूले स्वीकृति दिए।
त्यसपछि त उनी दिल्लीमात्र हैन बिहार राज्यको मधुवनी, राँटीजस्ता ठाउँमा पनि पुगिन्।
उनले चित्र बनाउने विभिन्न तरिका सिकिन्।
‘चित्र बनाउन त पोख्त भएँ तर कलर कम्बिनेशन मिलाउन आएन्,’ उनले भनिन्। उनी हैरान थिइन्। एकदिन साथीले भारतकी कल्पना सिंह भन्ने व्यक्तिको नम्बर दिए। उनी कल्पनाकहाँ पुगिन्। कस्तो चित्रमा कुन रंग हाल्ने भन्नेमात्र होइन, चित्र बनाउने थप तरिका पनि कल्पनाले सिकाइदिइन्।
त्यसपछि भने उनले कल्पनालाई गुरू मान्न थालिन्।
चित्र सिक्न सुनैनाले करिब डेढ वर्षसम्म महोत्तरीको सुगादेखि–दिल्ली-मधुवनीसम्म दौडिरहिन्। उनी कहिल्यै थाकिनन्। चित्र र रंगले उनलाई कहिल्यै नथाक्ने गरी रंगाएको जो थियो।
सुनैनाको आर्टबारे स्थानीय र राष्ट्रिय पत्रिकामा खबर छापिन थाले। तिनले अवसरका ढोका झन् खोलिदियो।
मिथिला चित्रकलाको एकल प्रदर्शनीकै लागि उनी अमेरिका र जापानसमेत पुगिसकेकी छिन्।
अमेरिकामा एकचोटी उनले आफ्नो चित्रकला प्रदर्शनी गर्न पाइन्। जापानमा ५ वटा एकल प्रदर्शनी गरिसकेकी छिन्।
यति मात्रै होइन उनी एनपिएस वुमन इम्पावरमेन्ट भन्ने संस्थाबाट दिइने सम्मानबाट समेत सम्मानित भएकी छिन्। ललितकलाबाट प्रदान गरिने राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छिन्।
सुनैना अहिले आफ्नै ‘सुनैना आर्ट ग्यालरी’ ग्यालरी चलाउँछिन्। जसमा उनले मिथिला चित्रकलाको पेन्टिङ गरिएको सारीदेखि लिएर मास्कसम्म राखेकी छिन्। उनका अनुसार विस्तारै उनको ग्यालरीप्रति ग्राहकको आकर्षण समेत बढ्दै गरेको छ।
उनले आफ्नो ग्यालरीमा महिला र पुरूष गरी १० जनालाई रोजगारी दिएकी छन्।
उनले ग्राहकबाट माग भएबमोजिम चित्र उनीहरूलाई बनाउन निर्देश गर्छिन्। चित्र अनुसारको पारिश्रमिकको रकम उनीहरूलाई उपलब्ध गराउँछिन्।
सुनैनाका मिथिला पेन्टिङ धनुषाको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महोत्तरीको जिल्ला प्रशासन कार्यालय सहितका स्थानमा हेर्न सकिन्छ। उनी मिथिला चित्रकलाको सामुहिक प्रदर्शनीका लागिसमेत प्रयास गरिरहेकी छिन्।
मिथिला चित्रकलामा ख्याति कमाएकी सुनैनाको एउटै सोच छ- मिथिला आर्टको क्षेत्रमा धेरैभन्दा धेरै व्यक्तिको सहभागिता होस् र मिथिला पेन्टिङलाई विश्वमा अझ उचाइ मिलोस्!