औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष नन्दकिशोर बस्नेतले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर शिलान्यासको क्रममा शुक्रबार अवरोध हुनसक्ने संकेत बिहीबार नै पाएका थिए, तर उनले त्यसलाई रोक्न चाहेनन् सामान्य रूपमा लिइदिए।
सरकारले देशका सातवटै प्रदेशमा १ हजार विघाभन्दा बढी क्षेत्रफलमा एकएक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेअनुसार कञ्चनपुरबाट सुरू भएको औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्य शुक्रबार मोतिपुरबाट सकिँदै थियो।
सोही अनुसार शिलान्यासको लागि अर्थमन्त्री विष्णु पौडेल बिहीबार नै रुपन्देही आइपुगेका थिए भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट शुक्रबार आउँदै थिए।
औद्योगिक क्षेत्र शिलान्यासको तयारी स्वरूप बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बिहीबार नै मञ्च निर्माण गरे पनि स्थानीयले विरोध गर्दै भत्काइदिएका थिए।
त्यसअघि बिहीबार बिहान पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्र निर्माणको लागि छुट्टयाइएको स्थानका बासिन्दाले आफूहरूको व्यवस्थाप नगरी औद्योगिक क्षेत्र शिलान्यासको कार्यक्रम अगाडि बढाइए सामूहिक आत्मदाह गर्नेसम्मको चेतावनी दिएका थिए।
यता स्थानीयले पत्रकार सम्मेलनमार्फत् चेतावनी दिइरहँदा व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतलाई रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं पुर्वमन्त्री घनश्याम भुसालले अहिले औद्योगिक क्षेत्रको शिलान्यास गरेर राजनीतिक भूमरीमा नपर्न भन्दै टेलिफोन गरेर चेतावनी दिएको कुरा बस्नेतले बिहीबार नै केहीलाई बताएका थिए।
तर उनले न त स्थानीयबासी र नेता भुसालले शिलान्यास कार्यक्रम रोक्न गरेको चेतावनीपूर्ण आग्रहलाई गम्भीर रूपमा लिए न त कार्यक्रम स्थलको सुरक्षाको लागि सुरक्षा निकायसँग समन्वय मिलाउन नै सके।
स्थानीयको विवादका बीच अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले औद्योगिक कोरिडोरको शिलान्यास गरे पनि विवादरहित बन्न सकेन।
रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजनासहित दर्जनौं साना ठूला विकास आयोजना लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेका कारण विकासप्रेमी नेताको रूपमा अर्थमन्त्री पौडेलले आफ्नो छवि स्थापित गरेका छन्।
पछिल्लो पटक पनि तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन, लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदहस्थित डिन कार्यालय उद्घाटन र आधा दर्जन बढी अन्य कार्यक्रममा सहभागी भई मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्ने कार्यक्रम लिएर पौडेल बिहीबार रुपन्देही आएका थिए।
बिहीबार तिलोत्तमाको प्रशासनिक भवन उद्घाटन गरेका पौडेलले शुक्रबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयको डिन कार्यालय उद्घाटन र भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गरेका थिए।
शुक्रबारका दुइटा कार्यक्रममा आयोजकसँगै स्थानीयको स्वागत र आतिथ्यता पाएका पौडेलले शुक्रबारको अन्तिम कार्यक्रम रहेको मोतिपुरमा भने स्वागत र आतिथ्यता नभई नाराजुलुस सँगै झण्डै आक्रमणको स्थिति सामना गर्नुपर्यो।
मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने कुरा अहिलेको भने होइन। केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहेको बेला २०७२ साल चैत्र १ गते मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिकालाई चारकिल्ला तोकी मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयपछि औद्योगिक क्षेत्रको लागि तोकिएको जग्गाको नापजाँच र सीमा छुट्याई क्षेत्रफल यकिन गरी जग्गाको स्वामित्व औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा कायम गरेको व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेत बताउँछन्।
२०७५ साल जेठ २१ गतेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट ९४६ दशमलव ४६ बिघा जग्गाको डिपिआर स्वीकृत गरेको थियो भने गत माघ १३ गतेको निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गरिसकेको बस्नेतको दाबी छ।
लिमिटेडले ९४६ दशमलव ४६ विगाह जग्गाको वातावरणीय प्रभाव मूल्यांकन गरेको भए पनि ८ सय १३ विगाह जग्गाको मात्र लालपूर्जा प्राप्त गरे पनि १३३ दशमलव ४६ विगाह जग्गाको लालपूर्जा प्राप्त नभएको जनाएको छ।
शुक्रबार औद्योगिक क्षेत्र शिलान्यासमा अवरोध गर्नेहरू केही त्यही १३३ विगाह जग्गामा बसोबास गर्दै आएका थिए। आफूहरू वर्षौदेखि बसोबास र जोतभोग गर्दै आएको जग्गामा औद्योगिक क्षेत्र स्थापना गरेपछि आफूहरू घरबारविहीन हुने आशंकामा उनीहरूले आफूहरूको समस्या समाधान नगरी औद्योगिक क्षेत्र शिलान्यास गर्न नदिने बताउँदै आएका थिए।
यसअघि फागुन १३ गते शिलान्यास गर्ने कार्यक्रम तय भएपछि पनि स्थानीयले आफूहरूको समस्या समाधान नगरी शिलान्यास नगर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ज्ञापनपत्र पठाएका थिए।
औद्योगिक क्षेत्र स्थापनामा धेरै विरोध शुद्धोधन गाउँपालिका ३ का सखुवानी, बेतही र बेतहानीका बासिन्दाको रहेको छ।
त्यहाँका २ सय घरपरिवार र करिब ३ सय जनाको जग्गा गरी १२० बिघा जग्गा औद्योगिक क्षेत्रमा परेको उनीहरूको आरोप छ। आफूहरूको समस्या समाधान नगरी औद्योगिक क्षेत्र शिलान्यास गरे आफूहरूको जग्गा औद्योगिक क्षेत्रले हडप्छ कि भन्दै उनीहरू शसंकित छन्।
शुक्रबार पनि शिलान्यास स्थलमा भेला भएकामध्ये शुद्धोधनकी सीता परियारले आफूहरू त्यो जग्गामा ५० वर्षदेखि बस्दै आएको र अहिले औद्योगिक क्षेत्रले लैजाने भएपछि विरोधमा आएको बताइन्।
तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सरकारका मन्त्रीहरूले पनि स्थानीयको आग्रह र विरोधलाई सामान्य रूपमा लिइदिए। जुन कुरा शुक्रबारको पत्रकार भेटघाटमा मन्त्री भट्टले बताएका थिए।
१३ गतेको कार्यक्रम विभिन्न कारणले रोकिए पनि पुनः शुक्रबारको लागि शिलान्यास गर्ने कार्यक्रम तय भएपछि उनीहरूले बिहीबार पनि पत्रकार सम्मेलन गरी शिलान्यास रोक्न आग्रह गरेका थिए।
शिलान्यासको लागि बिहीबार तयार गरेको मंच समेत भत्काइदिएका थिए।
शुक्रबार पनि बिहानैदेखि कार्यक्रम स्थलमा स्थानीय भेला भएर नाराबाजीमा उत्रिएका थिए। उनीहरूले अर्थमन्त्री पौडेल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेत र सो क्षेत्रका प्रदेशसभा सदस्य तुल्सी चौधरीविरूद्ध नाराबाजी गरिरहेका थिए।
तिनाउ नदीको उकासक्षेत्रमा सिसौका रुखहरू हुर्किंदै गरेको पातलो वनको बीचमा सानो मञ्च बनाइएको थियो, त्यसको पश्चिमतर्फ शिलान्यासको लागि खाडल खनिएको थियो भने शिलास्तम्भ तयार गरिएको थियो।
सुरक्षाकर्मीहरूले विरोधमा उत्रिएका स्थानीयलाई कार्यक्रम बिथोल्नसक्ने भएकोले मञ्चतर्फ जान रोकेको भए पनि खुला क्षेत्रमा भीड मञ्चको नजिकै थियो।
उनीहरूको नाराबाजीलाई छल्दै अर्थमन्त्री पौडेल, उद्योग मन्त्री भट्ट, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी र सांसद भोजप्रसाद श्रेष्ठ गाडीमा हुइँकिदै कार्यक्रम स्थलमा पुगे।
अरू कार्यक्रममा पहिले मञ्चमा आसनग्रहण पछि शिलान्यास तथा उद्घाटन गर्ने गरिए पनि शुक्रबार भने त्यहाँको स्थितिलाई आंकलन गरी सुरूमै शिलान्यासको काम गरेर मन्त्री तथा नेताहरू मञ्चमा आएका थिए।
त्यतिबेलासम्म स्थानीयको आक्रोशित भीडले सुरक्षा घेरा तोड्ने निकै प्रयास गरिरहेका थिए, नाराबाजी भने भइरहेको थियो। मञ्चतर्फ जाने सुरक्षाकर्मीको घेरा तोड्न नसकेपछि आक्रोशित भीडले मञ्चदेखि पछाडिको सिसौ घारीको सुकेका पात र खरमा आगो लगाउँदै मञ्चलाई घेरा हाल्न लागे।
स्थानीयको विरोध छल्दै मञ्चमा पुगेका मन्त्री भट्टले रुपन्देहीमा विकास नचाहिएको भए सुदूरपश्चिम विकासले भोकाएको र अर्थमन्त्रीले रुपन्देहीको विकास बजेट त्यहाँ पठाए फूलमालाले स्वागत गर्ने भन्दै छोटो मन्तव्य दिएर सकाए।
भट्टको मन्तव्य सकिएर अर्थमन्त्री पौडेलले मन्तव्य दिन थालेपछि भीडको आक्रोश झनै चुलिएको थियो। बिहानैदेखि मञ्चको पूर्वतर्फ केन्द्रित भएको स्थानीयको भीड त्यतिबेला पश्चिमतर्फ पुगेर झाडीमा आगो लगाइरहेको थियो।
अर्थमन्त्री पौडेलले मञ्चबाट औद्योगिक क्षेत्रमा जग्गा पर्ने स्थानीयलाई सरकारले व्यवस्थापन गर्ने भन्दै आश्वस्त पार्दै थिए।
उनले औद्योगिक क्षेत्रले बाहिरी बजेट ल्याउने मात्र नभई स्थानीयलाई रोजगारी सिर्जना गर्ने भएकोले विरोध नगर्न आग्रह गर्दै थिए मञ्चमा लगिएको विद्युतको लाइन भीडले बन्द गरिदिएपछि उनी बोल्न रोकिए।
त्यतिबेलासम्म उक्त समूह ढुंगामुढामा उत्रिइसकेको थियो। आन्दोलित भीड ढुंगामुढामा उत्रिएपछि कार्यक्रममा सहभागी भएका नेकपा ओली समूहका स्थानीय कार्यकर्ता र सुरक्षाकर्मीले भीडलाई लखेटेपछि संघीय मन्त्रीहरू र प्रदेशका मन्त्री तथा सांसदहरूलाई सुरक्षा दिएर बुटवल लगिएको थियो।
बुटवलमा आएर लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीद्वय पौडेल र भट्टले पर्दा पछाडि बसेर विकास नचाहने समूहले स्थानीयलाई अगाडि सारेर औद्योगिक क्षेत्र स्थापनामा अवरोध गरेको बताए।
मन्त्रीद्वयले पर्दा पछाडि बसेर कसले स्थानीयलाई उचालेको थियो प्रष्ट नभने पनि उनीहरूको संकेत भने नेकपा प्रचण्ड–माधव समूहप्रति थियो।
स्थानीयले शिलान्यास कार्यक्रममा अवरोध गरिरहँदा नेकपा प्रचण्ड–माधव समूहका जिल्ला अध्यक्ष राजु गुरूङ मञ्चदेखि उत्तरतर्फको हरियो घरमा बसेर भीडलाई परिचालन गरिरहेका थिए।
जिल्ला अध्यक्ष गुरूङ शिलान्यास स्थलमा पुगेका र घनश्याम भुसालले बस्नेतलाई शिलान्यास गरेर आफूहरूको राजनीतिक भूमरीमा नपर्न बस्नेतलाई चेतावनी दिएकोले मन्त्रीद्वयको संकेत पनि उनीहरूतर्फ नै थियो।
औद्योगिक क्षेत्र शिलान्यासमा जसका कारण भए पनि जुन घटना भयो दुखद छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले स्थानीयको समस्या समाधान गरेपछि मात्र शिलान्यास कार्यक्रम तय गर्नुपथ्र्यो।
तर त्यसो नगरी स्थानीयको विरोधका बीच शिलान्यासको कार्यक्रम आयोजना गर्नु र स्थानीयको आक्रोश कुन तहसम्म पुगेको छ आंकलन नगरी मन्त्रीद्वय शिलान्यासका लागि जानुले नेता भुसालले भनेजस्तै औद्योगिक क्षेत्र स्थापनाका विषय पनि नेकपाभित्रको आन्तरिक विवादको भूमरीमा परेको छ।
स्थानीयको अवरोधकाबीच शिलान्यास गरिएको भए पनि त्यसपछि देखिएको आक्रोश र नेकपाका दुबै समूहका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका अभिव्यक्त गरेका विचार तथा टीकाटिप्पणी हेर्दा स्थानीयको समस्या समाधान नगरी औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढ्न सक्ने अवस्था देखिँदैन।
नेकपा नेता भुसाल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शुक्रबार साँझ नै विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्र स्थापनाको विषयमा आफूहरू स्थानीयको पक्षमा रहेको बताइसकेका छन्।
औद्योगिक क्षेत्रको लागि छुट्याइएको क्षेत्र अर्थमन्त्री पौडेलसँगै नेकपा प्रचण्ड नेपाल समूहका नेता घनश्यास भुसालको क्षेत्र पनि हो। यस्तै खाँण पनि यही क्षेत्रका समानुपातिक सांसद हुन्।
भुसालले त औद्योगिक करिडोरको तथाकथित शिलान्यास कार्यक्रमको विरोध गर्न गएका स्थानीय बासिन्दामाथि काम चलाउ सरकारका दुई मन्त्रीले गरेको दमनपूर्ण व्यवहारको हिसाब किताब हुने बताएका छन्।
कांग्रेस नेता खाँणले पनि विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गरेकाहरूको मागको उचित सम्बोधन नगरी जबरजस्ती बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका छन्।
खाँणले जनताको मागलाई सम्बोधन र उचित व्यवस्थापन गरेर मात्र काम अघि बढाउन सरकारसँग माग गरेका छन्।
यता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले भने औद्योगिक क्षेत्रको निर्माण सम्पन्न गरेरै छाड्ने दाबी गर्छन्। शुक्रबार नै पत्रकारहरूसँग बोल्दै बस्नेतले त्यहाँ देखिएको विरोध औद्योगिक क्षेत्रप्रति नभई राजनीतिक रूपमा रहेको दाबी गरे।
उनले शिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै ५ महिनाभित्र मुआब्जाको समस्या समाधान हुने र ६ महिनाभित्र काम सुरू गर्ने दाबी गरे।
उनले यो आयोजनालाई आफूले जसरी पनि पूरा गर्ने र यसबाट पछाडि नफर्कने बताए पनि अहिलेकै अवस्थामा औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढ्न सक्ने अवस्था न्यून छ ।