हिन्दु धर्मावलम्बीहरूले आज धूमधामका साथ भगवान शिवको पूजा आरधना गर्दै महाशिवरात्रि पर्व मनाउँदैछन्।
पर्वको अवसरमा जनकपुरधाममा रहेका विभिन्न शिवालयमा समेत श्रद्धालु भक्तजनहरूको भीड लागेको छ।
महाशिवरात्रि पर्वको अवसरमा जनकपुरधामको शिव मन्दिर, सोमेश्वर नाथ, भूतनाथसहितका मन्दिरहरू सजाइएको छ। तर जनकपुरधामको दुई प्राचीन शिव मन्दिर भने आजको दिनमा समेत सुनसान देखिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिर र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ गिरनारी कुट्टीमा रहेको पौराणिक शिव मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ।
किम्बदन्ती अनुसार त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कुनामा महादेव मन्दिरको स्थापना गरेका थिए। जसमध्ये एक रहेको छ वडा नम्बर १६ मा रहेको कपिलेश्वरनाथ महादेव मन्दिर।
ती मन्दिर प्राचीनकालमा स्थापित रहेको भए पनि व्यवस्थापन तथा संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयहरूको भनाइ छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण, संवर्द्धन तथा विकासका कामहरू स्थानीयबासीको अग्रसरता तथा चन्दा संकलन गरेर मात्रै हुँदै आइरहेको बताउँछन्।
‘यहाँ प्राचीन शिवलिंग रहे पनि मन्दिरको विकासतर्फ प्रदेश सरकार र स्थानीय सरकारमध्ये कसैको ध्यान पुग्न सकेको छैन,’ वडाध्यक्ष पंजियारले भने,‘यहाँसम्म कि जनकपुरधाम उपमहानगरपालिकाले समेत चासो देखाएको छैन।’
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरू कहाँ लगियो भन्ने विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको वडा नम्बर १६ का स्थानीय श्याम पूर्वेले बताए।
स्थानीयका अनुसार कपिल मुनिको आश्रमको मुनि समेत त्यहीँ रहेको मान्यता छ।
मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो। पछि उक्त संरचना वि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए।
सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए। उनले नै भत्केको मन्दिर तोड्न लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए। पछि उनी फर्केर आएनन्।
पछि पुरातत्व विभागबाट वि.सं. २०३९ सालमा आर्थिक सहयोग प्राप्त भएपछि नयाँ मन्दिरको निर्माण कार्य भएको थियो।
स्थानीयबासीको सक्रियतामा मन्दिरमा शिवलिंग पुनर्स्थापना गरिएको थियो भने वर्तमान मन्दिरको निर्माण गरिएको थियो।
मन्दिर परिसरको चारैतिर स-साना मन्दिरहरू बनाएर त्यसमा भगवानका प्रतिमाहरू स्थापित गरिएका छन्।
मन्दिरको उत्तर पूर्वमा सन्तोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानकी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ।
मन्दिर परिसर ५ कठ्ठामा फैलिएको छ। यो मन्दिर गुठी अधिनस्थ रहेको छ।
महाशिवरात्रिकै लागि शिव मन्दिरहरूलाई सजाइए पनि गिरनारी कुट्टीमा रहेको शिव मन्दिरमा भने खासै तयारी गरिएको देखिँदैन।
जनकपुरधामका अन्य शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड देखिए पनि यो मन्दिर शिवरात्रि पर्वका दिन समेत सुनसान छ। मन्दिरमा आकलझुकल श्रद्धालुहरू दर्शनका लागि पुग्ने गर्छन्।
टिकमगढको गिरनारका वैद्य राम गिरीले सो मन्दिरको स्थापना गरेकाले सो कुट्टीको नाम गिरनारी कुट्टी राखिएको स्थानीय बताउँछन्। उनी टिकमगढका राजाको कुल पुरोहित समेत थिए।
राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिंग रहेको छ।
एउटा शिवलिंग कालो रंगको छ भने अर्को सेतो रंगको।
धार्मिक जानकारहरूका अनुसार कालो रंगको शिवलिंग प्रायः स्थानमा पाइने गरे पनि सेतो लिंग अदभूत संयोग नै हो।
ती दुवै शिवलिंग नर्मदा नदीबाट ल्याइएको बताइन्छ। कालो शिवलिंगको नाम महाकालेश्वर राखिएको छ भने, सेतो रंगको लिंगको नाम गौरी शंकर राखिएको छ।
स्थानीय प्रदीप शर्माका अनुसार सन् १७३४ मा गिरनारका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगे। उनी भगवान शिवका परम भक्त थिए। राजर्षी जनक पनि भगवान शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिंग स्थापना गरे।
जनकपुरधामको उक्त कुटीमा रहको शिव मन्दिरमा कुनै बेला सयौंको संख्यामा श्रद्धालु भक्तजनहरू पुजा आरधनाका लागि पुग्ने गर्दथे।
तर वि.सं. २०२९ सालमा त्यहाँका महन्थको हत्या भएपछि १२ वर्षसम्म सो मन्दिरमा पूजा नै भएन। उक्त वर्ष तत्कालीन महन्थ रवि गिरी र उनका चेला वीर गिरीको हत्या भएको थियो।
उनीहरूको हत्यापछि बन्द रहेको सो मन्दिर स्थानीयको सक्रियतापछि फेरि खोलियो। तर मन्दिरका लागि ती पुराना दिन फर्केर आएन।
गिरनारी कुटी गुठी अधिनस्थ रहेको छ। तर गुठी संस्थानको उदासिनताका कारण यो मन्दिरमा रौनकता आउन नसकेको स्थानीय युवा राकेश विक्रम साह बताउँछन्।
‘गिरनारी कुटीको नाममा विगो जग्गा थियो तर गुठी संस्थानकै कर्मचारीहरूको मिलोमतोमा उक्त जग्गा कब्जा गरिए,’ उनले भने ‘र पछि जग्गाहरू बेचिए अहिले त्यो मन्दिर आफैं संरक्षणको अभावमा ओझेलमा परेको छ।’
मन्दिरमा हाल शिवु गिरी महन्थको रूपमा रहेका छन्। उनी गत ६ वर्षदेखि महन्थ छन्।
उनका अनुसार उनलाई गुठी संस्थानले पूजाका लागि ११ सय र तलब ११ सय रुपैयाँ मासिक उपलब्ध गराउँदै आइरहेको छ। त्यसबाहेक गुठी संस्थानले सो मन्दिरमा केही सहयोग नगरेको उनले बताए।
‘मन्दिरको भवन जीर्ण भएका छन्,’ महन्थ गिरीले भने,‘हामीले ती भवन जीर्णोद्धारका लागि सम्बन्धित निकायहरूलाई कयौं पटक हार गुहार लगायौं तर कुनै निकायले चासो देखाएनन्।’