महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका/किशोरी भारतमा फेला परेका छन्।
मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका/किशोरी अपहरणमा परेको अनुमान थियो।
भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले सेतोपाटीलाई बताए।
उनकाअनुसार सबै बालिका/किशोरी सकुशल छन्। उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए।
धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए।
प्रहरी र अभिभावकहरू अहिले भारत गइरहेको उनले बताए।