ओखलढुंगामा जीप भीरमा खस्दा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलका अनुसार तीन जनाको अवस्था चिन्ताजनक छ। उनीहरू अचेत छन्।
मंगलबार दिउँसो १२ बजे मानेभन्ज्याङ गाउँपालिका-४ स्थित केतुके बजारबाट सामान बोकेर ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटनामा परेको हो। सो जिप भीरबाट सात सय मिटर तल खसेको प्रहरी निरीक्षक कट्टेलले बताए।
गम्भीर घाइते सिद्धिचरण नगरपालिका-१० का २६ वर्षीय कमलबहादुर थापामगरलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।
'भीरमा खसेर बिचमै अड्किएको छ। मान्छे जान नसकिने खालको छ। रोप रेस्क्यू गर्नुपर्ने ठाउँमा छ,' प्रहरी निरीक्षक कट्टेलले भने।
तीन जनालाई प्रहरीले अचेत अवस्थामा उद्धार गरेको हो। उनीहरूलाई अहिले अस्पताल लगिएको छ।
मानेभञ्ज्याङ-४ ढुसेनी बस्ने ७१ वर्षीया बिनामाया आलेमगर, ५० वर्षीया टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर अचेत छन्।
'उनीहरू अहिले अचेत नै छन्। जिवित वा मृत्यु भए/नभएको अस्पताल पुर्याएपछि चिकित्सकले घोषणा गर्ला,' प्रहरी निरीक्षक कट्टेलले भने।
उनीहरूको उद्दार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले गरेको हो।