खोटाङ, रावावेसी गाउँपालिका–४ मण्डलीछापका अभिनारायण सार्की चर्को घाममा दाउरा चिर्दै थिए। तिर्खाले उनको घाँटी सुक्यो। आँगन छेउमै धारो छ, पानी आउँदैन।
'धारो त सपनामा मात्रै। बर्खामा ऊ... त्यो आहालको पानी वस्तुभाउलाई दिन सजिलो हुन्छ भनेर यसरी नाला जोडेको,' उनले भने।
घाँटी भिजाउने एक घुड्की पानीका लागि उनी श्रीमती पर्खिरहेका छन्।
'श्रीमती पानी लिन पर... कुवापानी गएकी छ। पानी पाउने हो कि रित्तै फर्किर्ने हो, थाहा छैन। हामीसँग तिर्खा छ पानी छैन,' अभिनारायणले खुई काढे।
उनका अनुसार खाने पानीको मुहान नजिक छैन। घन्टौं धाउँदा एउटा कुवामा पुगिन्छ। हिउँदमा त्यहाँको पानीले सबैलाई पुग्दैन। पैताला खिइने गरी हिँडेर पनि कहिलेकाँही रित्तो गाग्री फर्किनुपर्छ।
वर्षौंदेखि तिर्खाले छटपटाएका मण्डलीछापका बासिन्दा सरकारसँग रिसाएका सुनिन्छन्। सरकारले 'जनताका दुःखका दिन सकिए' भन्दा उनीहरूलाई भाउन्न हुन्छ। आफ्ना पुर्खाले झेलेको समस्या अहिले आफूहरूले पनि भोगिरहँदा अभिनारायणलाई दिक्क लाग्छ।
भख्छन्, 'देशमा के–के तन्त्र आए, तर हाम्रो समस्या ज्युँकात्युँ छ। हाम्रै भोटले अध्यक्ष भएकाहरूले माथि पुगेपछि हाम्रो कुरा सुनेनन्। हामी पानी नपाएर प्याकप्याक हुँदा पनि हाम्रो तिर्खा देखिदिने कोही छैन।'
मण्डलीछापका स्थानीयले पानी ल्याउने एउटा कुवा मात्र भएकाले सबैलाई पानी पुग्दैन। पुगेसम्म बाँडिचुँडी ल्याउँछन्। नपुग्दा रित्तै। कुनै दिन छरछिमेकमा पानी पैंचो मागेर पनि गुजारा चलाउनुपर्ने अवस्था छ।
यो वर्ष त लामो समय पानी परेन। उनीहरूले अझै चर्को समस्या भोगे।
'तिर्खा लाग्छ पानी पाइँदैन। बिहानै गए एक गाग्रीसम्म पाइन्छ। दिउँसो कुवा सुक्छ। रित्तै फर्किनुपर्छ,' स्थानीय निशा मंग्राति भन्छिन्, 'यस्तो हुँदा कहिलेकाँही छिमेकीसँग पानी पैंचो मागेर तिर्खा मेट्नुपर्छ। पैंचो पानी पछि तिर्नुपर्छ।'
निशा बिहे गरेर मण्डलीछाप आएकी ६ वर्ष भयो। आएदेखि नै उनले पानीको सास्ती खेपिरहेकी छन्। उनी दैनिक एक घन्टा हिँडेर कुवासम्म पुग्छिन्। अचेल त कुवामा धमिलो पानी आउने उनी बताउँछिन्। त्यो पानी खाँदा उनीहरूको घाँटी दुख्न थालेको छ। तर विकल्प नभएकाले त्यही खान बाध्य छन् उनीहरू।
मण्डलीछाप नजिकैको छिमेकी गाउँ कवासेमा भने धाराकै पानी आउँछ। त्यो पानी मण्डलीछापभन्दा परको गाउँसम्म पुग्छ।
'त्यहाँ हामीले भोट दिएका वडा अध्यक्षको घर छ। मास्टरको घर पनि त्यहीँ छ। त्यही भएर उनीहरूको घरसम्म धारो छ। हाम्रो त बोल्दिने कोही छैन। पानी आउँछ–आउँछ भन्छन्, टार्छन्। खै त,' निशाले सुनाइन्।
जीवनभर पानीको समस्या झेलेकी कुमारी सुनुवारलाई पानी आउला भन्ने आश पनि छैन। उमेरले सात दशक नाघिसकेकी उनलाई आँत भरिनेगरी पानी पिउन मन छ।
'बिहान चाँडै ऊ त्यो तल...गयो भने पानी पाइन्छ। नत्र पाइँदैन। २-३ घन्टासम्म लाग्छ,' कुवा भएतिर औंलाले देखाउँदै कुमारीले भनिन्, 'कोसीको पानी आउँछ भनेर आश देखाएका उहिल्यै हो। तर खै हामीले कहिले पो हो आँत भरिनेगरी पानी पिउन पाउने।'
मण्डलीछापका स्थानीयलाई पानीको धारो घरघरै आओस् भन्ने पनि छैन। ढुक्कले पानी भरेर खान पाउने एउटा धारो भइदिएहुन्थ्यो भन्ने छ सबैलाई। यसका लागि उनीहरूले सबभन्दा धेरै भर आफूले भोट हालेर जिताएका वडाध्यक्षमाथि गरेका थिए।
'आफ्नै ठाउँका मान्छेले जिते केही सुविधा पाइएला भनेर भोट हालियो। यतिका वर्ष भइसक्यो। समस्या उस्तै छ,' स्थानीय तारा तुलंगी जङ्गिइन्।
रावावेसी गाउँपालिका डुम्रेधारापानी वडा नम्बर-४ का वडाध्यक्ष मण्डलीछापको छिमेकी गाउँ कवासेका ज्ञानबहादुर पाण्डे छन्। गाउँनजिक पानीको मुहान नभएका कारण मण्डलीछापका स्थानीयलाई समस्या भएको उनी बताउँछन्।
'नजिक पानीको मुहान नै छैन। मण्डलीछापमा मात्रै होइन अहिले अरू गाउँमा पनि समस्या छ। भूकम्पपछि पानीको मुहान सुक्दै गएका छन्। पहिले सजिलै पानी आउने पनि अहिले कम छ,' अध्यक्ष पाण्डेले सेतोपाटीसँग भने।
वडा नम्बर ४ मा दूधकोसीको पानी लिफ्टिङ गरेर ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
'कोसीको पानी लिफ्टिङको काम भइरहेको छ। केही समय लाग्छ त्यसपछि पानी सहज हन्छ,' उनी भन्छन्।
रावावेशी गाउँपालिकाका मेयर लिलानाथ निरौला भने यहाँका अधिकांश स्थान सुख्खा भएका र नजिकै पानीको मूल नहुँदा पानी अभाव भएको बताउँछन्।
'कतिपय छिमेकी पालिकामा पनि पानीको मुहान नहुँदा स्थानीयहरू पानी बोक्नकै लागि तीन घन्टासम्म हिँड्नुपर्ने अवस्था छ,' निरौलाले भने।
पानी समस्या समाधानका लागि पालिकाले पहल गरिरहेको उनको दावी छ। उनका अनुसार रावाखोला र दूधकोसीको पानी लिफ्टिङबाट लैजान काम अगाडि बढाइएको छ। केही ठाउँमा मूलको खोजी भइरहेको छ।
'अन्य गाउँपालिकाबाट भए पनि मुहान खोजी गरेर पानी पुर्याउने कुरा अगाडि बढेको छ,' उनले भने।
वडा नम्बर ४ स्थित खहरे खोलाको पानी वस्तीसम्म पुर्याउन प्राविधिक कारणले काम अड्केको मेयर निरौलाको भनाइ छ। वडा नम्बर ५ दुवेकोलमा पनि खानेपानी ट्यांकी बनाउन लागिएको उनले बताए।
'मुहान छैन, पानीको समस्या धेरै छ, बजेट थोरै छ,' मेयर निरौला भन्छन्, 'सबै ठाउँमा एकैचोटि समस्या समाधान गर्न गाह्रो छ। पानी लिन दुई/तीन घन्टा हिँड्नुपर्ने अत्ति जटिल समस्या भएका वस्तीमा यो वर्षभित्रै रावाखोला र दूधकोसीको पानी लिफ्टिङ गरेर लैजाँदैछौं।'
पानी मुहान खोजी गरी समस्या समाधानका लागि पहल गर्ने उनी बताउँछन्। कतिपय पालिकाका स्थानीयवासीको परम्परागत सोचका कारण पनि एउटा ठाउँको पानी अर्को ठाउँका मानिसलाई पुर्याउन समस्या भएको उनले बताए।
'कतिपय मानिसमा आफ्नो ठाउँको पानी अरू ठाउँकालाई दिन हुँदैन भन्ने मानसिकता छ। यसले पनि काममा बाधा आइरहेको छ,' मेयर निरौलाले भने।