अशान्त भएकाहरूलाई कलाले सहज वातावरण बनाइदिन्छ। जो सहजतामा बाँचिरहेका छन्, उनीहरूलाई सोच्ने बनाइदिन्छ।
कलाकार रवीन्द्र श्रेष्ठ त्यस्ता कलाकार हुन् जो असहज समयमा सहज वातावरण खोज्न कलालाई माध्यम बनाउँछन्। त्यो माध्यममा कहिले चित्र बन्छन्, कहिले 'इन्स्टलेसन' त कहिले 'कन्सेप्चुअल आर्ट', आफ्नो मनभित्रको उकुसमुकुस पोख्नु न हो।
काला–गोराबीच अन्तरको आन्दोलन 'ब्ल्याक लाइभ्स म्याटर' होस्, चाहे नवराज विकको हत्या, संविधान विघटन वा अहिले म्यानमारमा भइरहेको सैनिक कू, रवीन्द्र विचलित भइहाल्छन्।
पत्रपत्रिका पढिरहने र सामाजिक सञ्जालमा सक्रिय भएकाले समाजमा भइरहेका घटना नजरअन्दाज गर्न सक्दैनन् उनी। एकपटक त्यो घटनाले दिमागमा राज गर्न थालेपछि घोत्लिइरहन्छन्, आइडिया फुर्छ, कलामा ढाल्छन्।
भन्छन्, 'म सानोभन्दा सानो घटनाले चाँडै बिथोलिन्छु। यो पटक म्यानमारमा प्रजातन्त्रको पुनःबहालीका लागि लड्दा मारिएका नागरिक र त्यहाँका मान्छेले हरेक दिन भोग्नुपरेको त्रासदीले मलाई सताइरह्यो।'
म्यानमारमा मारिएका मान्छेलाई श्रद्धाञ्जली दिने काम कलामार्फत गर्न लागेका रवीन्द्रले भने, 'मान्छे मर्नकै लागि जन्मिएको हुन्छ। तर कुनै कुनै मृत्युले एकदम बिचलित बनाउने रहेछ। आफूले गर्नुपर्ने सामान्य कामसम्म पनि गर्न सकिरहेको छुइनँ। त्यस घटनाबाट पार लगाउने माध्यमका रूपमा डुंगाको सहारा लिएको हो।'
'इन्स्टलेसन आर्ट' अन्तर्गत रवीन्द्रले यो पटक डुंगा छानेका हुन्। त्यसको मौलिकता ध्यानमा राखेर प्लास्टिकको नभई काठकै डुंगा उनले प्रयोग गरेका छन्।
डुंगा नै किन?
.jpg)
.jpg)
'डुंगामा मैले मेटाफोरिकल कनेक्सन पाएँ। यहाँदेखि म्यानमार कहाँ छ भनेर मलाई थाहा छैन। तर त्यसलाई जोड्ने भावनात्मक अनुभूति डुंगामै भेटेँ,' रवीन्द्रले भने, 'सामान्य तर प्रतीकात्मक छ नि डुंगा। यसले एक ठाउँदेखि अर्को ठाउँसम्म पानीबाट पार गराउँछ। म्यानमारमा भइरहेको नरसंहारलाई पनि चाँडै पार लगाउनु छ। त्योसँगै जोडिएको मेरो मनभित्रको उकुसमुकुसलाई पनि।'
कुनै पनि कन्सेप्टमा छिर्नुअघि दृश्यहरू हुनुपर्छ। त्यो आकर्षक होओस् भन्ने चाहनाले पनि उनले डुंगा छानेका हुन्। तर काठमाडौंका विभिन्न ठाउँमा डुंगा खोज्न संघर्ष गर्नुपर्यो उनले। खोजेका ठाउँमा नपाएपछि पोखराबाट गाडीमा ल्याउनेसम्म सोचेका थिए। अन्तिममा एउटा साथीले नागदहमा पाइने सम्भावना देखाएपछि त्यही पुगे।
करिब १७ वर्ष पुरानो उक्त डुंगा कामै नलाग्ने भएपछि बेवारिसे, झारैझारमा तैरिरहेको अवस्थामा थियो। त्यसलाई डोजर लगाएर निकालेपछि दुई–तीन दिन किनारमा सुक्न दिइयो। सुक्दै जाँदा डुंगा पनि हलुका हुँदै जाने रहेछ।
तर अचानक पानी पर्लाजस्तो भएपछि अघिल्लो बिहीबार हतारिँदै उनी आफ्नो घर जोरपाटीदेखि नागदह हुर्रिए। डुंगालाई प्लास्टिकले छोपे र बल्ल शान्त भएर फर्किए। भोलिपल्ट डुंगा ल्याउन पाइने आशाका साथ फेरि त्यहाँ पुगे।
.jpg)
.jpg)
तर दिउँसो चक्रपथभित्र ट्रकहरू र्छिन नपाउने थाहा पाए। शनिबार बल्ल त्यो डुंगा आर्ट काउन्सिलसम्म ल्याउन पाए। माइतीघर मण्डलसम्मको दुरी नजिक भएकाले काम गर्ने उपयुक्त ठाउँ पनि बन्यो, काउन्सिल।
डुंगामा एक साताभर खाक्सी लगाउने, रंगाउने लगायत काम भयो। यही आइतबार माइतीघर मण्डलमा करिब चार बजेतिर हुने प्रदर्शनमा डुंगाभर राता, पहेँला, सेता लगायत विभिन्न रङका गुलाब र अन्य फूल हुनेछन्। ती फूल खोज्न उनी गोदावरीदेखि इचंगुसम्म पुगे।
मानवीय सम्बन्धलाई सांकेतिक रूपमा जोड्ने पहिल्यैदेखि गर्दै आएको 'फिंगर प्रिन्ट' को काम पनि डुंगामा हुनेछ। त्यहाँ आएर मान्छेहरूले म्यानमारमा मारिएका करिब सात सय मान्छेलाई सम्झेर दीप प्रज्वलन गर्दै श्रदाञ्जली दिन सक्छन्।
डुंगामा आफूलाई मन लागेका कुरा विभिन्न रङका मार्करले लेख्न पनि सकिन्छ। त्यसपछि केही समय आर्ट काउन्सिलमै राखेपछि त्यो डुंगा फेरि आफ्नै थलो नागदह पुग्नेछ।
डुंगा चालक कृष्ण माली यो डुंगा नागदह फर्किएपछि त्यसलाई पहिलेजस्तो अलपत्र अवस्थामा छाड्ने पक्षमा छैनन्। कला संग्रहकै रूपमा नागदहको आकर्षण बनाउने सोच उनले बनाइसकेका छन्।
'यसलाई फाइबर कभरिङ गरेर घुम्न आउने मान्छेहरूलाई फोटो खिच्ने ठाउँ बनाउने योजना छ,' उनले भने।
.jpg)
.jpg)
इन्स्टलेसन आर्टका रूपमा त्यहाँको डुंगा प्रयोग हुने भएदेखि डुंगासँगको सम्बन्ध झनै ताजा बन्दैछ, कृष्णको। नागदहमा पहिले पाँच वटा काठकै डुंगा थिए। पछि प्लास्टिकका डुंगाले त्यसको ठाउँ ओगट्न थाले। डुंगाबाटै गुजारा चलाउने कृष्णजस्ता कति चालक आर्थिक अवस्था कमजोर भएकाले विदेशिनु पर्यो।
पाँच वर्ष बहराइन बसेर आफ्नो ठाउँ फर्किँदा नै उनले कतिपय काठका डुंगा साथीभाइले आगो तापेर सकिसकेको पाए। कति कुहिएर सकिए। बचेको यो एक मात्र डुंगा अब इतिहासको चिनोका रूपमा सँगाल्न र सजाउन चाहन्छन्।
कृष्णका कुरा सुनेर प्रभावित हुँदै कलाकार रवीन्द्र भन्छन्, 'कलाले समाज र मान्छेलाई जोड्छ भन्छ नि, यो कामबाट पनि मैले त्यो कुरा महशुस गरेँ।'
कृष्ण माली (बाँया) र रवीन्द्र श्रेष्ठ।
बाँयाबाट क्रमशः दीपेश लिम्बू, करिमा जोशी, कृष्ण माली (बाँया) र रवीन्द्र श्रेष्ठ।रवीन्द्रको काममा कृष्णसँगै दीपेश लिम्बू र हेटौंडादेखि आएकी करिमा जोशी पनि जोडिएका छन्। उनीहरूले कामको 'डकुमेन्टेसन' गर्नुका साथै रवीन्द्रको काममा सहायता दिइरहेका छन्।
समग्रमा रवीन्द्रले यो काम अरूलाई सन्देश दिनभन्दा आफ्नै पीडा भुलाउन गरेका हुन्। म्यानमारको सैनिक कूले त्यहाँका मान्छेले भोगिरहेका पीडा आफ्नै ठाउँमा छन्। त्यस विषयमा ऐक्यबद्धताभन्दा फरक पर्दैन यो कला।
यसबाट मान्छेमा सकारात्मक सन्देश गए झनै राम्रो हुने बताउँदै रवीन्द्रले भने, 'कुनै काम शब्दले भन्न सकिन्न, आफैं अनुभव गर्नुपर्छ। माइतीघरमा आइसकेपछि मान्छेहरूले छुट्टै खालको अनुभव सँगाल्नुहोला। अहिले त म यसको प्रक्रियामै रमाइरहेको छु, जुन कुनै वैज्ञानिकले केही पत्ता लगाउँदा जत्तिकै रोचक र रहस्यमयी छ।'
सबै तस्बिर सौजन्यः करिमा जोशी
.jpg)