रौतहटको समनपुरस्थित बागमती नदीमा निर्माणाधिन पुलको निर्माण कार्य सुरू भएको करिब आठ वर्ष भए पनि अझै सकिएको छैन।
जिल्लाको समनपुर र सर्लाहीको हजरिया जोड्ने उक्त पुल निर्माणको ठेक्का पाएको कम्पनीले ३६ महिनामा निर्माण सक्ने लिखित सम्झौता गरेको थियो। तर आठ वर्ष बितिसक्दासमेत अहिलेसम्म पुल निर्माण सकिएको छैन।
पुल नहुँदा वर्षेनी वर्षातको समयमा जोखिम मोलेर नदी वारपार गर्नुपर्ने गढीमाई नगरपालिका समनपुरका स्थानीय शैलेन्द्र साहले बताए।
‘हाम्रा प्रायः नातेदारहरू जिल्ला पारी छन्,’ साहले सेतोपाटीसँग भने, ‘नदीमा पानीको सतह बढ्दा करिब ३ महिनासम्म आवत/जावत नै बन्द हुन्छ, पानी केही कम भएको समयमा डुंगा चढेर वारपार गर्दै आएका छौं।’
ठेकेदार कम्पनीले समयमै काम नगरेका कारण आफूहरूले वर्षौदेखि उक्त समस्या भोग्दै आएको अर्का स्थानीय हरिनारायण साहले बताए।
‘समनपुरमा पुल निर्माण कार्य थाल्नुभन्दा धेरै पछाडि सुरु गरिएका जिल्लाकै अन्य कतिपय स्थानका पुलहरू बनिसके पनि हामी भने अझै निर्माण कहिले सकिएला भन्दै बाटो हेरेर बसिरहेका छौ,’ उनले भने।
यता सरकार र ठेकेदारबीच २०६९ असार २६ गते ठेक्का सम्झौता भए पनि निर्माण कार्य भने २०७१ चैतदेखि मात्रै सुरू भएको साईट ईन्जिनियर यज्ञ बहादुर खड्काले जानकारी दिए।
‘मलाई जानकारी भए अनुसार हाम्रो कम्पनीले २०७१ सालदेखि मात्रै काम सुरु गरेको हो,’ साईट ईन्जिनियर खड्काले भने, ‘म पनि यो साईटको जिम्मेवारी पाएको धेरै भएको छैन्, त्यसैले मलाई ठ्याक्कै सबैकुरा थाहा भएन।’
साईट ईन्जिनियर खड्काका अनुसार २०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौं जेभीले ६ सय मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सरकारसँग सम्झौता गरेको थियो ।
पूर्व–पश्चिम राजमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म बागमती नदीमा उक्त पुल निर्माण हुँदैछ। जसमध्ये सवारी साधन गुडाउन सात मिटर ५० सेन्टीमिटर र मान्छे आवतजावत गर्न दुबै तर्फबाट ८०–८० सेन्टिमिटर गरी पुल निर्माण कार्य जारी छ।
साईट ईन्जिनियर खड्काका अनुसार पुलको अन्य भागमा माटो राखेर सोलिङ गर्ने काम भईरहेको छ। सडक डिभिजन कार्यालय रौतहटबाट डिजाईन आएलगत्तै ग्राभेलिङ गर्ने काम समेत सुरू हुनेछ। यद्यपि असार मसान्तसम्म भने मान्छे आवत जावत गर्ने गरी पुल निर्माणको काम सम्पन्न हुने खड्काले दाबी गरे।
‘पुल निर्माणको काम ठ्याक्कै यही आर्थिक वर्ष सम्पन्न हुन्छ भन्ने ठोकुवा त गर्न सक्दिनँ तर मान्छे हिँड्न सक्ने गरी पुलको माथिको स्लाबको काम भने सकिन्छ, बाँकी रहेको जोईन्ट र रेलिङको काम वर्षा लाग्नुभन्दा पहिल्यै सकाउने प्रयासमा छौँ,’ उनले भने।
एलाइट कन्स्ट्रक्सन काठमाडौं, सूर्य कन्सट्रक्सन र एसबिए गरी तीन वटा कम्पनीले पुल निर्माणको ठेक्का लिएको थियो। जसमध्ये एलाईट कम्पनी र एसबी अहिले साझा रूपमा निर्माण कार्य जारी राखेको छ।