अहिले कोरोना भाइरसको दोस्रो लहरको प्रकोप देशभर बढ्दै छ।
प्रदेश-२ पनि यो लहरको सबभन्दा उच्च जोखिमा रहेको देखिन्छ। प्रदेशको आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकोले जोखिम बढी छ।
प्रदेश-२ मा अहिले कुल १ हजार १ सय ४२ जना सक्रिय कोरोना संक्रमित छन्। जसमध्ये पर्सामा ७ सय १९ बारामा १ सय ४९, धनुषामा १ सय १८, रौतहटमा ७६, महोत्तरीमा ४२, सिरहामा १५, सप्तरीमा १२ र सर्लाहीमा ११ जना कोरोना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश-२ सरकार कोरोना संक्रमणविरूद्ध लड्न र रोकथामका लागि आफूहरू पूर्ण रूपले तयार रहेको पटक-पटक दाबी गर्दै आएको छ।
प्रदेश-२ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नवल झाले संक्रमितको उपचारको लागि पूर्ण रूपले तयार रहेको बताए।
कोरोनाका गम्भीर बिरामीलाई जाँच्न अहिले प्रदेशभरि जम्मा ४५ वटा भेन्टिलेटर उपलब्ध छन्।
उनले जानकारी दिए अनुसार वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेशनल मेडिकल कलेजमा १०, जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। महोत्तरीको जलेश्वरमा ५, सप्तरीको राजविराजमा ४ वटा भेन्टिलेटर राखिएको छ।
तर, प्रदेश-२ मा दिनदिनै कोरोना संक्रमितहरूको संख्या बढिरहे पनि संक्रमितको उपचार गर्न अति आवश्यक मानिएको आइसियू, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणका साथै दक्ष जनशक्तिको अभाव रहेको चिकित्सकहरूको भनाइ छ।
गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. रञ्जितकुमार झाका अनुसार भेन्टिलेटरमा अक्सिजन कन्सनट्रेटर प्राविधिक गडबडी भएकै कारण काम नलाग्नेजस्तै भएको छ।
‘केही अक्सिजन कन्सनट्रेटरमा केही प्राविधिक समस्या देखिएको छ,’ प्रमुख झाले भने, ‘ती समस्या समाधान भए र आवश्यक जनशक्ति उपलब्ध भए भेन्टिलेटरहरू सञ्चालनमा आइहाल्ने छन्। हामी चाँडो भन्दा चाँडो यो समस्या समाधान गर्न लागिपरेका छौँ।’
बाराको कलैयामा २, रौतहटको गौरमा ४, सिरहामा २ र लहानमा १ वटा भेन्टिलेटर छन्। तर, प्रदेश-२ को सर्लाहीमा भने एउटा पनि भेन्टिलेटर उपलब्ध नरहेको स्वास्थ्य महाशाखाले जनाएको छ।
जनकपुरधामको प्रादेशिक अस्पतालमा उलब्ध १० वटामध्ये कोभिड अस्पतालमा एउटा भेन्टिलेटर मात्रै सञ्चालनमा छ।
प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जामुन सिंहले अन्य भेन्टिलेटरूको सेटिङ गर्ने काम भई नै रहेको बताए।
उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा समेत भेन्टिलेटर सञ्चालन गर्ने आवश्यक जनशक्ति छैनन्।
‘त्यसका लागि अहिले बैठक जारी छ,’ निमित्त मेसु डा. सिंहले भने, ‘आजै साँझसम्म हामीले करारमा कर्मचारी भर्नाका लागि विज्ञापन निकाल्ने छौं।’
प्रदेश-२ रहेका भेन्टिलेटरमा जनशक्तिको अभाव रहेको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए।
उनले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेशनल मेडिकल कलेजमा मात्रै दक्ष जनशिक्त रहेको र जनकपुरधामको प्रादेशिक अस्पतालमा जसोतसो भेन्टिलेटर चलिरहेको बताए।
भेन्टिलेटर चलाउने मात्र होइन, अन्य स्वास्थ्यकर्मीको पनि अभाव अस्पतालमा छ।
गजेन्द्रनारायण सिंह अस्पताल प्रमुख झाका अनुसार अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छ।
प्रशासनले प्रदेश-२ को सरकारसँग पटक-पटक गरी ६ चोटि आवश्यक जनशक्ति पूर्ति गरिदिन माग गरिसकेको छ। तर, हरेक समय मन्त्रालय र मन्त्रीको आश्वासन मात्रै आएको छ।
‘हामीले जनशक्तिको अभावबारे ६ पटक जानकारी गराइसकेका छौँ,’ डा. झाले भने, ‘अस्तिको जुम मिटिङमा समेत मन्त्रीजीलाई भनेका हौँ, तर उहाँहरूले आश्वासन दिनु बाहेक केही गर्नु भएको छैन।’
डा. झाले बताए अनुसार पछिल्लो पटक गत साता सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत् जनशक्ति पठाइदिन सिफारिस पठाइएको थियो। अहिलेसम्म मन्त्रालयले जवाफ भने पठाएको छैन।
राजविराजमा रहेको पिसिआर मेसिनको हालत समेत करिब उस्तै छ। जनशक्ति अभावका कारण ल्याब बन्द गर्ने अवस्थामा आइपुगेको डा. झाको भनाइ छ।
सप्तरीको उक्त अस्पताल अहिले एचडियुसहितको व्यवस्थासहित २५ शैयाको बेड थपिएको छ। तर, नर्सिङ स्टाफ र मेडिकल अफिसरको अभाव छ।
प्रदेश-२ मा कोरोना संक्रमण बढिरहेको समयमा ७१ बेडको आइसियूको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले जानकारी दिए।
उनका अनुसार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १५, वीरगञ्जकै नेशनल मेडिकल कलेजमा २६, जनकपुरधामको प्रादेशिक अस्पतालमा १०, रौतहटको गौरमा १० वटा आइसियू बेड व्यवस्था गरिएको छ भने जलेश्वरमा ५ र सिरहामा ५ बेडको आइसियू व्यवस्था गरिएको छ।
प्रदेश-२ मा १ सय ८१ बेडको हाइ डिपेन्डेन्सी युनिट (एचडियु)को व्यवस्था समेत गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए।
उनका अनुसार नेशनल मेडिकल कलेजमा सबैभन्दा बढी ३१ बेडको एचडियु छ।
त्यस्तै, नारायणी उपक्षेत्रीय अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र राजविराजमा २५/२५ बेडको एचडियुको व्यवस्था गरिएको छ।
यसैगरी, बाँकी जिल्लामा १५/१५ बेडको एचडियुको व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख झाले बताए।
उनले भेन्टिलेटर, आइसियू तथा एचडियूको व्यवस्था रहे पनि जनशिक्त अभावमा सञ्चालन गर्न कठिन भइरहेको बताए।
स्वास्थ्य महाशाखा प्रमुख नवल झाले जनशक्ति आपूर्तिका लागि आठवटै जिल्लाका अस्पतालहरूलाई रिक्त दरबन्दी कति रहेको विषयमा पत्र लेखिसकेको बताए।
उनले प्रदेश सरकार करारमा पनि कर्मचारी भर्ना गरेर जनशक्ति अभाव सम्बन्धी समस्या समाधान गर्न तयार रहेको दाबी समेत गरे।
कोरोनाको समयमा सामाजिक विकास मन्त्रालय सचिवविहीन
एकातिर कोरोनाको दोस्रो लहरको जोखिम दिनदिनै बढेको छ। अर्कातिर यही जोखिममा काम गर्ने जिम्मेवारी भएको सामाजिक विकास मन्त्रालय सचिवविहीन बनेको छ।
बजेटको मागदेखि लिएर दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने जिम्मेवारी सबै यही मन्त्रालयको जिम्मेवारी अन्तर्गत पर्दछ।
यसअघि मन्त्रालयका सचिव रहेका कृष्ण कापरीको सरूवा भएको तेस्रो साता बितिसकेको छ।
सचिवको सरुवा भएको करिब एक महिना हुन लाग्दासमेत नयाँ सचिव आउन नसकेको मन्त्रालयका उपसचिव दिलीप ठाकुरले बताए।
उनका अनुसार मन्त्रालयमा सचिव नभएकै कारण कोभिडको समयमा कतिपय प्रशासनिक काम प्रभावित भएको छ।
‘घरको मुखिया नभएपछि घर चलाउन कठिन त हुन्छ नै, मन्त्रालयमा सचिव नहुँदा विभिन्न कामहरू व्यवस्थित रुपमा अगाडि बढाउन समस्या भइरहेको छ,’ उनले भने।