हिमाली जिल्ला डोल्पामा एउटा स्कुल छ- तापिरिचा माध्यमिक विद्यालय। शे–फोक्सुन्डो गाउँपालिका–८, साइजलमा रहेको यो स्कुल डोल्पाको मात्र होइन, कर्णाली प्रदेशकै नमूना मानिन्छ।
तापिरिचा भनेको बोन धर्मावलम्बीको धर्मगुरूको नाम हो। ध्यान, योग र तपस्याबाट सिद्धि प्राप्त गरेको विश्वासका आधारमा बोन धर्मावलम्बी उनलाई ज्ञानको प्रतीक मान्छन्।
यो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। मंसिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले कक्षा १० बाहेकका विद्यार्थीलाई विदा दिइन्छ। त्यति बेला कक्षा १० का विद्यार्थीलाई काठमाडौं लगेर पढाइन्छ। त्यहाँ चार महिना कोचिङ कक्षा पढेर उनीहरू जाँच दिन डोल्पा फर्कन्छन्।
२०६५ सालदेखि एसएलसीमा सामेल हुन थालेको यो विद्यालयका विद्यार्थी राम्रो अंक ल्याएर पास हुँदै आएका छन्।
यो स्कुल स्थानीय सेम्दुक लामाको हुटहुटीको नतिजा हो।
डोल्पाको शे-फोक्सुन्डोमा पहिले ८-९ वटा प्राथमिक विद्यालय मात्र थिए। सबैले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था थिएन। यसले कालान्तरमा डोल्पो संस्कृति, लिपि र भाषा नै हराउँदै जाने डरले लामा चिन्तित भए।
उनी डोल्पाकै पुग्मो गाउँमा जन्मे-हुर्केका हुन्। उनले सदरमुकाम दुनैको सरस्वती माविबाट एसएलसी दिए। त्यसपछि शिक्षकको जागिर खान धेरै दौडधुप गरे। तर, पाएनन्। अनि रिग्मो गाउँमा घुम्ती पसल चलाउन थाले।
यसबीच सन् १९९६ मा अनुसन्धानका लागि डोल्पा आएका स्विट्जरल्यान्डकी मानवशास्त्री मारियटा काइन्ड र अमेरिकाकी क्याथ्री इन्मानसँग लामाको भेट भयो। उनले दुवैको अनुसन्धानमा सहयोग पुर्याए।
त्यतिखेर धो–तराप उपत्यकामा क्रिष्टल माउन्टेन स्कुल खुलिसकेको थियो। त्यस्तै स्कुल शे-फोक्सुन्डोमा खोल्ने लामाको इच्छा थियो। यसनिम्ति उनले मारियटा र क्याथ्रीसँग सहयोग मागे। उनीहरू लामाको प्रस्तावमा त्यति विश्वस्त भएनन्।
लामाले आफ्नो प्रयास जारी राखे।
एक वर्षपछि सन् १९९७ मा उनीहरू सहयोग गर्न राजी भए। स्विट्जरल्यान्डकी मारियटाले 'तापिरिचा भेहराइन', अमेरिकाकी क्याथ्रीले 'फ्रेन्ड्स अफ डोल्पा' र लामाले 'तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा' नामक संस्था खोलेर स्कुल सञ्चालन निम्ति सहयोग जुटाउन थाले।
लामा आवासीय विद्यालय चलाउन चाहन्थे, ताकि विद्यार्थीलाई मौसमी प्रतिकूलताबीच स्कुल जाने-आउने समस्या नहोस्।
'सुरूमा त गाउँलेहरूले मेरो कुरा पत्याउनुभएन,' लामाले भने, 'स्कुल खुलिसक्दा पनि आफ्ना केटाकेटी पठाउन आनाकानी गर्नुभयो। त्यसपछि मैले आफ्नै गाउँ पुग्मोका १५ जना विद्यार्थी ल्याएर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्दुवामा रहेको खाली भवनबाट विद्यालय सुरू गरेँ।'
तीन महिनासम्म उनीहरूलाई पढाएर देखाएपछि बल्ल अरू विद्यार्थी थपिएको उनी सम्झन्छन्।
तापिरिचा माध्यमिक विद्यालयमा नेपाली, अंग्रेजी र स्थानीय लामा भाषामा पढाइ हुन्छ। विद्यालय हाताको गुम्बामा बिहान र बेलुकी विद्यार्थीलाई ध्यान गराइन्छ। उनीहरू विद्यालयमै खाजा, खाना खान्छन्। त्यहीँ पढ्छन्, त्यहीँ सुत्छन्।
हिमाली भेगमा आवासीय विद्यालय सञ्चालन गर्नु लामाको निम्ति सजिलो थिएन। यसका लागि निजी स्रोतका शिक्षक, कर्मचारीको तलबका साथै भवन बनाउन विदेशी शुभेच्छुकहरूबाट सहयोग जुटाउँदै आएको उनी बताउँछन्।
विस्तारै यो स्कुलका विद्यार्थीले राम्रो नतिजा ल्याउन थाले। ८ कक्षाको जिल्लास्तरीय परीक्षा दिन यहाँका विद्यार्थी सदरमुकाम दुनै जाँदा डोल्पा जिल्लामै उत्कृष्ट नतिजा ल्याए। त्यही बेलादेखि तापिरिचा स्कुलबारे सबैले थाहा पाए।
लामाका अनुसार यहाँका ९५ प्रतिशत विद्यार्थी एसइईमा पहिलो श्रेणी र बाँकी ५ प्रतिशत दोस्रो श्रेणीमा पास हुँदै आएका छन्। कोही पनि फेल भएका छैनन्।
'यहाँ पढेर काठमाडौं वा अन्य ठाउँका निजी स्कुल जाने विद्यार्थीले एक-दुई कक्षा बढाएरै भर्ना पाउने गरेका छन्। यसबाट पनि यो विद्यालयको शिक्षा कस्तो छ भन्ने आकलन हुन्छ,' उनले भने, 'नेपालगन्ज वा काठमाडौं गएर माथिल्ला कक्षा पढेका कतिपय विद्यार्थी डोल्पामै फर्केका छन्। कोही शिक्षक बनेका छन्, कोही इञ्जिनियर, डाक्टरदेखि कोही पुर्ख्यौली पेसामा समेत छन्।'
यही विद्यालयमा आफ्ना केटाकेटी पढाइरहेका डोल्पा, पुङ्बोका नीमा ग्याल्सेन वैजीले विकट ठाउँको स्कुलमा पढे पनि आफ्ना नानीहरू कुनै निजी स्कुलमा पढेका विद्यार्थी बराबर भएको बताउँछन्। त्यो क्षमता यही स्कुलले दिएको उनको भनाइ छ।
'मैले यही स्कुलबाट पहिलो श्रेणीमा एसएलसी पास गरेँ, काठमाडौंमा उच्च शिक्षा पढ्न प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकालेँ,' उनले भने, 'मेरा नानीहरू अहिले यहीँ पढ्छन्। उनीहरूको पढाइबाट म सन्तुष्ट छु।'
यहाँ शिक्षक, विद्यार्थी र कर्मचारीलाई खान, बस्न सबै निःशुल्क व्यवस्था गरिएको छ। शिक्षकहरूले पालैपालो अतिरिक्त कक्षा पढाउँछन्। हरेक महिना हुने बैठकमा कुन विद्यार्थी कुन विषयमा कमजोर छ र कसलाई कस्तो सहयोगको खाँचो छ भनेर लेखाजोखा हुन्छ। विद्यालय सुधार्न गर्नुपर्ने काम र बाहिरका स्कुलका उपलब्धिमाथि पनि छलफल गरिन्छ। बैठकको निष्कर्ष राम्ररी पालना हुन्छ।
विद्यालयमा सरकारी कोटाका १२ र निजी स्रोतका ५ शिक्षक छन्। स्थानीय लामा भाषा पढाउने दुई जना शिक्षक पनि छन्। उनीहरू निजी स्रोतकै हुन्। यसबाहेक ७ जना कर्मचारी काम गर्छन्। यहाँ गुम्बाका साथै खेल मैदान, पुस्तकालय, कक्षाकोठा, छात्रावास लगायत संरचना छन्।
यहाँ सार्वजनिक विदाको सरकारी क्यालेन्डर लागू हुँदैन। दसैं र तिहारमा एक-एक दिन विदा हुन्छ। चार महिना जाडो विदा हुन्छ। मौसममा यार्चा टिप्न १५ दिन विदा दिइन्छ। यो विदा सबैले पाउँदैनन्। जो जो टिप्न सक्ने हुन्छन्, उनीहरूलाई मात्र दिइन्छ। शिक्षकले भने यस्तो विदा पाउँदैनन्।
यहाँको पढाइ खर्च सबै विद्यालयले बेहोर्दै आएको छ। यसमा सरकारबाट आउने हिमाली छात्रावासको रकमले केही सहयोग हुन्छ।
अहिले यो विद्यालयमा २ सय १० जना विद्यार्थी छन्। तीमध्ये ५० प्रतिशतभन्दा बढी बाहिरबाट आएका छन्। सदरमुकाम दुनै, जुफाल, लिकु लगायत डोल्पाका अधिकांश भाग र छिमेकी जिल्लाबाट समेत पढ्न आउँछन्।
'हामीले आएका सबै विद्यार्थी भर्ना लिने हो भने ४-५ सयभन्दा बढी हुन्छन् होला। तर, एउटा कक्षामा २१ जनाभन्दा बढी विद्यार्थी राख्दैनौं,' लामाले भने।
विद्यालयले प्रतिविद्यार्थी वार्षिक ७० किलो चामल, १० किलो मकैको पिठो, १० किलो फापरको पिठो, घिउ डेढ किलो र १ किलो नुन उठाउँछ। बाँकी खानेकुरा, शैक्षिक सामग्री, ब्रस, मन्जन, साबुन आदि विद्यालयले नै व्यवस्था गर्छ।
तापिरिचाले दुई वर्षभित्र कक्षा १२ सम्म पढाइ सुरू गर्दैछ। त्यसका लागि भवन निर्माण हुँदैछ। प्राविधिक शिक्षासमेत सुरू गर्ने लामाको सोच छ। स्कुल पूरा गरेपछि प्राविधिक शिक्षा दिएर विद्यार्थीलाई दक्ष बनाउने तयारीमा उनी लागेका छन्।
'यो विद्यालयलाई अझ सक्षम बनाउन हामीले माध्यमिक र निम्न माध्यमिक तहमा शिक्षक दरबन्दी थप्न सरकारसँग माग गरेका छौं,' उनले भने।
पछिल्लो एक वर्षदेखि विश्वव्यापी कोरोना महामारीको असर यो स्कुलले पनि झेल्नुपरेको थियो। लकडाउनका कारण स्कुल बन्द गर्नुपरेपछि यहाँका शिक्षकले विद्यार्थीको घरघरै गएर पढाए।
'हामीले लकडाउनको समय विद्यालय बन्द भए पनि शिक्षकहरूलाई गाउँ-गाउँ पुर्याएर विद्यार्थी पढाउन लगाइरहेका छौं,' लामाले भने, 'डोल्पालाई शिक्षा क्षेत्रमा कमजोर भनिए पनि तापिरिचाले यसको परिचय बदल्नेछ।'
कति शुल्क तिर्नुपर्छ?
स्थानीय:
प्रावि- वार्षिक १६०० रूपैयाँ
निमावि- वार्षिक २००० रूपैयाँ
मावि- वार्षिक २५०० रूपैयाँ
बाहिरका:
प्रावि- वार्षिक २००० रूपैयाँ
निमावि- वार्षिक २५०० रूपैयाँ
मावि- वार्षिक ३००० रूपैयाँ