संखुवासभा, खाँदबारी जाने भन्दै टिकट लिन विनोद घिमिरे मंगलबार बिहान दसै बजे नयाँ बसपार्क पुगेका थिए। साँझ पाँच बजिसक्दा पनि उनले टिकट पाएका थिएनन्।
'उभिएर जाने ठाउँ भए पनि जान हुन्थ्यो, त्यो पनि पाइएन,' गोंगबु बसपार्कमा भेटिएका घिमिरेले सेतोपाटीसँग भने।
घर जान भनेर झोला बोकेर कोठाबाट निस्किएका उनी बसपार्कमै अलपत्र परेका थिए। भन्दै थिए, 'कोठा फर्किऊँ भने कहिलेसम्म लकडाउन हुने हो। त्यो बेलासम्म के खाएर बस्ने? घर फर्कनलाई गाडी छैन।'
कोरोना महामारी नियन्त्रणका लागि सरकारले बिहीबारबाट काठमाडौंमा निषेधाज्ञा लगाउने भएको छ। घर जान चाहने र सरसामान किन्न समय दिने उद्देश्यले सोमबारै यो निर्णय गरिएको हो। निषेधाज्ञा हुने भएसँगै काठमाडौंबाट जिल्लाबाहिर जानेहरूको संख्या बढेको छ।
एकाएक धेरै मान्छे बाहिरिने भएपछि लामो दुरीका बस टिकट अभाव भएको छ। टिकट काउन्टरहरूमा यात्रुको घुइँचो थेगिनसक्नु भएको टिकट व्यवसायीहरू बताउँछन्।
यस्तै यात्रुको भिडमा मंगलबार गोंगबु बसपार्कमा बझाङ, चैनपुर जान हिँडेका करण सार्की पनि भेटिए। तर उनले पनि टिकट पाएका थिएनन्।
'भोलि (बुधबार) सम्मको टिकट पाए पनि जान हुन्थ्यो भनेको, पाइएन। पर्सिदेखि त गाडी बन्द भइहाल्यो। अब कहिलेसम्म बन्द हुने हो, काम पनि छैन। के खाएर बस्ने होला?,' उनले गुनासो पोखे।
अध्ययनको सिलसिलामा काठमाडौं बस्ने सार्की आफैं काम गरेर खर्च जुटाउँथे। निषेधाज्ञामा काम पनि ठप्प हुने र खर्च चलाउन मुश्किल भएकाले उनले घर फर्किने सोच बनाए हुन्। तर टिकटै नपाएपछि अब कसरी गुजारा चलाएर यहाँ बस्ने भन्ने चिन्ताले उनलाई गाँजेको छ।
बुटवल जान बसपार्क पुगेका कपिलवस्तुका दुर्गाप्रसाद यादवले भने बल्लतल्ल बस चढ्न पाएका थिए। तर सिटमा बसेर होइन, उभिएर।
'बुटवल जान सिट पाइएन। अब जसरी हुन्छ उभिएर जानुपर्नेछ,' उनले भने।
घिमिरे, सार्की र यादव अहिले घर फर्किन खोजिरहेका सयौं मान्छेका प्रतिनिधि मात्र हुन्। बसपार्क काउन्टरका अनुसार निषेधाज्ञा जारी गर्ने निर्णयसँगै उपत्यका छाडेर बुधबार बेलुकासम्म घर फर्कनेको टिकट बुकिङ मंगलबार पाँच बजे नै सकिइसकेको छ।
'सिट क्षमतामा मात्रै यात्रु बोक्न पाउने भनिएको छ। अब सबैजसो ठाउँ जाने बसमा सिटको टिकट सकियो। यात्रुहरू जसरी पनि घर जाने भन्नुहुन्छ। कसरी पठाउने हो?,' बसपार्क टिकट काउन्टरका बुकिङ इन्चार्ज बद्रि भट्टराईले भने।
सल्यान-रुकुम यातायात प्रालि टिकट काउन्टरका इन्चार्ज शान्तकुमार डाँगी पनि सल्यान र रुकुम जाने बसका सबै टिकट सकिएको बताउँछन्।
'भोलि बेलुकासम्मको सबै टिकट बुकिङ भइसकेको छ,' मंगलबार साँझ सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'यात्रुहरू भने अझै आइराख्नुभएको छ। तर अब हामीसँग टिकट नै छैन।'
बिहीबार बिहानैदेखि उपत्यकामा निषेधाज्ञा भएकाले थप यात्रु लैजान सकिनै अवस्था नरहेको उनको भनाइ छ।
'उपत्यका छाड्न चाहने धेरै हुनुहुन्छ। हाम्रा सबै बस बुकिङ भइसकेको छ। फर्किन चहाने सबैलाई टिकट पुगेन,' उनले भने।
गाईघाट, पत्तेपुर, बेल्टार, रामपुर, झापा, इनरुवा, इटहरी, खोटाङ, सोलुखुम्बु लगायत अधिकांश स्थानको टिकट सकिएको काउन्टरहरूले बताएका छन्। बुधबारसम्म केही गाडी थपिए भने थप केही यात्रुलाई सेवा दिन सकिने उनीहरूको भनाइ छ।
टिकट नपाउने भएपछि जोखिम मोलेर बाहिरिने यात्रुको चाप बढेको छ। सरकारले सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने निर्णय गरे पनि निषेधाज्ञा अगावै गाउँ पुग्ने योजना बुनेका यात्रुहरू भिडभाडमा उभिएरै भए पनि गाउँ फर्कन तयार देखिएका छन्।