धनुषा, सबैला नगरपालिकाकी पानोदेवी गुप्ता जनकपुरधामको वृद्धाश्रममा बस्छिन्। ७५-८० वर्षकी देखिने उनलाई आफ्नो उमेरबारे खास जानकारी छैन। बोल्न समेत अप्ठ्यारो मान्छिन्।
बोल्न नआउने होइन, आफूलाई सम्हाल्न चाहन्छिन्।
पानोदेवीलाई डर छ, कहीँ आफ्ना छोराका बारेमा धेरै भनुँला कि!
छोराको नाम समेत भन्न चाहन्नन्। कहीँ छोरालाई कसैले गाली गरिदिने हुन् कि!
'बिहे हुँदा म एकदमै सानी थिएँ,' पानोदेवीले सानै स्वरमा भनिन्, 'त्यसको धेरै दिनपछि मेरो पेटमा ऊ (छोरा) भयो। सासूआमाहरूले बडो भाकल गर्नुभएको थियो रे। त्यसपछि ऊ मेरो कोखमा आएको थियो।'
यति भनेपछि उनी चुप लागिन्। त्यहाँ भएका अरू आमा तथा जानकी वृद्धाश्रमका सञ्चालक समेत शान्त बसे। हामीले पनि केही सोधेनौं।
निकैबेरपछि आफैं अलिअलि खुलिन्।
उनका अनुसार भाकल गरेर जन्मिएकाले उनका छोरा सबैका प्यारा थिए।
'म मात्रै होइन, घरका सबैले उसलाई धेरै माया गर्थे। राति पनि उसलाई पाउरोटी, चकलेट खान मन भए त्यति बेलै जसरी पनि ल्याउने प्रयास गरिन्थ्यो,' छोराको बाल्यकालबारे हाँस्दै पानोदेवीले भनिन्, 'भगवानबाट मागेर ल्याएको ऊ हाम्रो एउटै सन्तान थियो।'
छोराको बाल्यकाल सम्झिँदै पानोदेवीका चम्किरहेका आँखामा आँसु र सुकेका ओठमा मुस्कान एकैपटक देखियो।
पानोदेवी र उनका पतिले छोरालाई भविष्यमा ठूलो मान्छे बनाउने सपना देखेका थिए। सकेजतिको शिक्षा दिलाए। हुर्के-पढेपछि छोरा सफल व्यापारी भए। उनको ठाउँमा नाम कमाए।
'ऊ पहिलेदेखि काममा चनाखो थियो। त्यसैले आज आफ्नै बलबुताले प्रतिष्ठित व्यापारीमध्ये एक भयो हाम्रो छोरा,' पानोदेवीका यी भनाइमा गर्व सुनियो।
पानोदेवी र उनका श्रीमानले छोराको बिहे गरेर बाँकी जीन्दगी सुखमय बिताउने सोचेका थिए। तर श्रीमानको चाँडै मृत्यु भयो। एक्लै जसोतसो छोराका लागि आमा र बुवाको भूमिका निर्वाह गरिन् उनले। बुढेसकालमा छोरा सहारा भइहाल्छ भनेर मन बुझाएकी थिइन्।
उनलाई रत्तिभर कल्पना थिएन, तिनै छोराले आफूलाई हेला गर्नेछन्।
राम्रै व्यापारी भइसकेका उनका छोरालाई खान-बस्न चिन्ता थिएन। तर पानोदेवी त्यो घरमा अटाइनन्। अहिले उनको घर वृद्धाश्रम भएको छ। पानोदेवी पनि छोराको घरभन्दा आफूजस्तै आमा बस्ने वृद्धाश्रम नै मनपर्ने बताउँछिन्।
छोराले आफूलाई गरेको व्यवहारबारे उनी धेरै बताउन चाहन्नन्। उनी घर फर्केर जान पनि चाहँदिनन्।
पानोदेवीका अनुसार केही वर्षपहिले उनका नातिको बिहे थियो। उनलाई निम्तो थिएन। तर गाउँघरका व्यक्तिले उनका छोरालाई आमालाई घर नल्याए भोजभतेरमै आउँदैनौं भनिदिएछन्।
'नातिको बिहेमा छोराले समाजको दबाबमा मलाई घर लिएर गएको हो,' पानोदेवीले भनिन्, 'पछि फेरि घरमा छोराबुहारीले पहिलाजस्तै हेप्ने, अपशब्द बोल्ने जस्ता व्यवहार गर्न थाले। भगवानले दिएको एउटा छोराले नै हेला गरेपछि म आफैं यहाँ आएकी हुँ। बाँचुन्जेल यहीँ बस्छु।'
पानोसँगै बसेर कुरा सुनिरहेकी अर्की आमा थिइन् महोत्तरी, भंगहा नगरपालिका, बिर्ता पलासकी ८० वर्षिया देवसुन्दरी देवी।
उनको कथा पानोदेवीको भन्दा फरक छ।
देवसुन्दरीको बिहेपछि सन्तान भएनछ। युवा जीवन जसोतसो काटेकी उनलाई ६० वर्षसम्म खास केही समस्या भएन। अरूका घरमा बच्चा खेल्दा देवसुन्दरीलाई दुःख लाग्थ्यो। तर श्रीमानले सम्झाइबुझाइ गर्थे। श्रीमानश्रीमतीको प्रेमले नै घर भरिएको थियो।
'उहाँ बाँचुन्जेल मलाई कहिल्यै म एक्लो छु, छोराछोरी छैनन् भन्ने चिन्ता भएन,' देवसुन्दरीले भनिन्, 'गाउँका मान्छे हामीलाई बाँझो र निसन्तान भन्थे। तर उहाँ हुँदा मलाई कहिल्यै समस्यामा पर्न दिनुभएन।'
श्रीमानको मृत्युपछि भने उनी एक्ली भइन्। केही दिन त सबैले सहानुभूति देखाए। जसै समय बित्दै गयो, देवरले नै आफ्नो जग्गा र सम्पत्ति लिन विभिन्न जालझेल गरेको उनी बताउँछिन्।
'श्रीमान बितिहाले। भाइजस्ता देवर त छन्, उनैले मेरो हेरचाह गरिदिन्छन्, मेरो जीवन पनि कट्छ, उनीहरूले सम्पत्ति पनि पाइहाल्छन् भन्ने सोचेकी थिएँ,' देवसुन्दरीले भनिन्, 'तर भर गरेका आफ्नाले नै छल गरेपछि कसको के लाग्छ र।'
देवसुन्दरीले आफ्नो सबै सम्पत्ति गुमाइन्। घरबाट पनि निस्किन बाध्य भएपछि उनी वृद्धाश्रममा आश्रय लिन पुगेकी रहिछन्।
'सबै मिलेर मेरो सम्पत्ति हडपे। तर मलाई त्यो लिन र फेरि त्यो ठाउँमा बस्ने इच्छा छैन अब,' उनी भन्छिन्।
पानोदेवी र देवसुन्दरी जस्ता थुप्रै आमा यहाँ छन्। उनीहरूको मनमा आफ्नै कथा-बेथा हुँडलिएको छ।
जानकी वृद्धाश्रमकी सञ्चालक सीता अधिकारीका अनुसार अधिकांश आमाको यहाँ आउँदा शारीरिक र स्वास्थ्य अवस्था एकदमै कमजोर हुन्छ। त्यसैले उनीहरूलाई अस्पतालमा भर्ना गरी सुधार आएपछि मात्रै आश्रम ल्याइन्छ।
'उहाँहरू कसैले यहाँ ल्याएर छोडिदिँदा वा कोही आफैं आउँदा पनि तत्कालै वृद्धाश्रममा राख्नुपर्ने अवस्था हुँदैन,' अधिकारीले भनिन्, 'हामीसँग हुनुभएका १८ आमामध्ये करिब १५ जनालाई अस्पताल भर्नै गर्नुपरेको थियो।'
वृद्धाश्रममा अहिले १८ जना आमा छन्। तीमध्ये अधिकांशका आफ्नै सन्तान, नातिनातिना छन् भने कतिपय निःसन्तान।
'कोही आमा आफैं आश्रम आउनुहुन्छ, कसैलाई स्थानीय प्रशासनको समन्वयमा उद्धार गरेर ल्याइन्छ,' अधिकारीले भनिन्, 'केही आमा भने सन्तान नभएकाले यहाँ आउनुभएको छ।'
अधिकारीका अनुसार आश्रममा आमाहरूलाई छुट्टाछुट्टै ओछ्यान व्यवस्था छ। बिहान ५ देखि ६ बजेसम्ममा उनीहरू उठिहाल्छन्। नुहाइ-धुवाइ गर्छन् र केही समय पूजापाठमा बित्छ। त्यसपछि बिहान सात बजे चिया दिइन्छ। दस बजे दाल, भात, तरकारी र दिउँसो दुई बजे फेरि चिया दिइन्छ। बेलुका दूध, रोटी, तरकारी खान्छन्।
जानकी वृद्धाश्रम २०५३, मंसिर २० गते नेपाली कांग्रेस नेता लिला कोइरालाले स्थापना गरेकी थिइन्। उनी तत्कालीन महिला, बालबालिका तथा सामाजिक कल्याण विकास मन्त्री हुँदा आश्रम स्थापना गरिएको हो।
दुई जना आमालाई आश्रय दिएर सुरू भए पनि महिना नबित्दै १६ जना पुगेका स्थापनाकालदेखि सञ्चालक रहेकी अधिकारीले जानकारी दिइन्।
उनका अनुसार यो आश्रम सुरूमा जनकपुरधामको भानुचोकमा दुइटा भाडाका कोठामा थियो। पछि १६ कोठासहितको फ्ल्याट लिएर नौ वर्षसम्म चल्यो। त्यसपछि गुठी संस्थान मातहतको राजगुठी रत्नसागर मठका महन्थ रामप्रकाश दास वैष्णवले साढे दुई कठ्ठा जग्गा दिए। त्यस्तै जनकपुर अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठले आर्थिक सहयोग जुटाइदिए। अनि आश्रमको भवन बनाउन लगाइयो।
भवन बनाउन समाज कल्याण मन्त्रालयले पनि एघार लाख रूपैयाँ सहयोग गरेको अधिकारीले जानकारी दिइन्। २०६२ सालमा बनेको भवनमा भान्साबाहेक बस्ने कोठा १६ वटा छन्।