स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा फर्कन अनुरोध गरेको छ।
मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीलाई फर्काउने निर्णय गरेको हो। हाल अध्ययन नभएको अवस्था भएको हुँदा दरबन्दी अनुसार स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटाउन अनुरोध गरेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
विभिन्न चिकित्सा विधामा अध्ययनरत विद्यार्थीहरू तथा अध्यापन गराउने सबैलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरूले उपचार व्यवस्थापनमा लगाउन भनेको छ। साथै आवश्यकता अनुसार अन्य अस्पतालहरूमा खटाउन सकिने मन्त्रालयले जनाएको छ।
पछिल्लो समय अस्पतालहरूमा संक्रमितको चाप बढेपछि स्वास्थ्यकर्मीहरूको अभाव हुन थालेको भन्दै मन्त्रालयले विदामा रहेका स्वास्थ्यकर्मीहरूलाई लगालग काममा फर्किन भनेको हो।
त्यस्तै, कोभिड-१९ पिसिआर परीक्षण गर्ने सबै प्रयोगशालाहरूले २४ घण्टा सातै दिन नमूना लिने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रालयले भनेको छ। तर विदेश जानेहरूका हकमा भने सरकारी प्रयोगशाला, न्युनतम सय बेड भएका अस्पताल र 'ए' वर्गका प्रयोगशालाहरूलाई मात्र परीक्षण गर्न पाइने भनिएको छ।