मोरङमा आइतबार मृत फेला परेकी महिलाको पहिचान खुल्न सकेको छैन।
रतुवामाई नगरपालिका वडा नम्बर ४ भद्र चोकस्थित मकैबारीमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। अन्दाजी २०-३० वर्षको देखिने उनको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।
अर्धनग्न अवस्थामा शव भेटिएपछि बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।
ती महिलाको घाँटी र अनुहारमा चोट देखिएको डिएसपी राईले बताए।
'घाँटी र अनुहारमा चोट देखिएको छ,' उनले भने,'पोष्टमार्टमपछि थप थाहा हुन्छ।'
रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे शव फेला परेको हो। घाँस काट्न गएको बेलामा महिलाको लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो।
प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको डिएसपी राईले बताए। यस सम्बन्धी थप अनुसन्धान गरिरहेको उनले बताए।
शव पोष्टमर्टमको लागि कोशी अस्पताल पठाइएको छ।