प्रदेश दुई सरकारले आफूहरू कोरोनाको दोस्रो लहरसँग लड्न पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि धनुषाका एक शंकास्पद कोरोना बिरामी अस्पतालले भर्ना नलिएकै कारण ज्यान गुमाएका छन्।
जिल्लाको बटेश्वर गाउँपालिका -४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै ज्यान गुमाए।
पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोले ग्रसित परियार घरमै सामान्य उपचार गराइरहेका थिए। सास फेर्न कठिन भएपछि सोमबार साँझ उनको उपचार गर्दै गरेका बटेश्वरकै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल जनकपुरधाम पठाए।
एम्बुलेन्स चालक रामबाबु महतोले बिरामी परियारलाई जनकपुरधामको प्रादेशिक अस्पताल पुर्याए। अस्पतालले बेड अभाव भन्दै बिरामीलाई भर्ना गर्न मानेन।
त्यसपछि चालक महतोले उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्याए। त्यहाँ पनि अस्पतालले बेड खाली नरहेको भन्दै फर्काइदियो। त्यसपछि महतोले जानकी मन्दिर पछाडि रहेको रामजानकी हस्पिटल लिएर गए। त्यहाँ पनि अस्पतालले बिरामी भर्ना गर्न मानेन।
करिब एक घण्टासम्म विभिन्न अस्पताल चहार्दा पनि कुनै अस्पतालले बिरामी भर्ना लिन नमानेपछि अन्त्यमा आफूले बिरामीलाई गाउँकै सुवोध मेडिकल ल्याएको चालक महतोले सेतोपाटीलाई जानकारी दिए।
‘मैले बिरामी लिएर प्रादेशिक अस्पतालसहित १ घन्टासम्म विभिन्न अस्पताल धाएँ, हारगुहार गरेँ, तर कसैले भर्ना लिन नमानेपछि सिकिस्त बिरामीलाई पुनः फर्काएर ल्याएँ’, उनले सेतोपाटीसँग भने।
चालक महतोका अनुसार रामजानकी अस्पताल पुग्दा त्यहाँका चिकित्सकले उनको शरीरमा अक्सीजन मात्रा जाँच गरेका थिए। चेकजाँच गर्दा मृतक परियारको शरीरमा अक्सीजन मात्रा करिब ४० देखि ४५ मात्र रहेको बताएका थिए।
महतोका अनुसार ती बिरामीसँग उनको कोही आफन्त गएका थिएनन्। मंगलबार बिहान उनको स्वास्थ्यमा थप समस्या आएपछि छिमेकीले आरपी मेडिकल हल लैजाने तयारी गर्दा मेडिकलसम्म नपुग्दै सिँडीमै ढलेका उनको त्यहीँ मृत्यु भयो।
यसैबीच मेडिकल सञ्चालक सुवोध साहले बिरामी आफ्नो मेडिकलसम्म आइनपुगेको र सिँडिमै ढलेर मृत्यु भएको जानकारी दिए।
‘बिरामीका छिमेकीले उनलाई हाम्रो मेडिकल हलमा लिएर आउँदै गर्दा मैले परैबाट उहाँ एकदमै सिरियस हुनुहुन्छ राति नै मैले उहाँलाई जनकपुर लैजान भनेको थिए भनेर भने,’ मेडिकल हल सञ्चालकसमेत रहेका साहले सेतोपाटीसँग भने, ‘यतिकैमा उनी हाम्रै मेडिकलको सिँडी अगाडि ढल्नुभयो र त्यहीँ उहाँको मृत्यु भयो।’
आफूले बिरामीको अवस्था गम्भीर देखेर हिँजै साँझ अस्पताल पठाएको तर आफूले पहिले उनको उपचार नगरेको बताए।
‘उनी कहिलेदेखि बिरामी थिए, गाउँको कुन कुन मेडिकलमा उपचार गराए भन्ने पनि थाहा भएन,’ उनले सेतोपाटीसँग भने, ‘हिजो साँझ मकहाँ पुग्दा उनको अवस्था एकदमै नाजुक देखेर मैले एम्बुलेन्स मगाएर जनकपुरको प्रादेशिक अस्पताल पठाउन लगाएको थिएँ।’
यता प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेडेण्ट डा. जामुन सिंहले अस्पातलले बिरामी भर्ना नलिएकोबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
‘यसबारे मलाई केही थाहा भएन,’ निमित्त मेसु डा. सिंहले सेतोपाटीसँग भने, ‘हाम्रो अस्पतालका आईसोलेसन अहिले भरिभराउ छन्, कुनै बिरामी आउँदा पनि हामी फर्काउन बाध्य हुन्छौं।’
उनका अनुसार प्रादेशिक अस्पतालमा अहिले २६ शैय्या क्षमता रहेकोमा ३२ जना बिरामी भर्ना गरेर उपचार भइरहेको छ।
‘आईसोलेसनमा जम्मा २६ वटा बेड छन्। त्यसमा पनि हामीले क्षमता भन्दा बढी ३२ जना बिरामीलाई जसोतसो व्यवस्थापन गरेर उपचार गरिरहेका छौँ,’ उनले भने, ‘माथिल्लो तलामा थप ६३ वटा शैय्या सञ्चालन गर्ने तयारीमा गरेका छौं। अक्सिजनको पाईपलाईन जोडिँदै छ। पाईपलाईन जोडिने काम भइरहँदा त्यहाँ कुनै पनि बिरामी भर्ना गर्दा मिस्त्री त्यहाँ कामै गर्न चाहनन्, ३–४ दिन अझै लाग्छ।’
यता मृतकको शव अहिले पनि आरपी मेडिकल हलको बाहिरै छ।