लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डअघि स्वाब संकलन केन्द्र छ।
बिहान ८ बजेदेखि स्वाब दिनेहरूको लाइन लाग्छ। त्यही लाइन मिलाउन, स्वाब झिक्न, मान्छेहरूलाई सम्झाउन व्यस्त हुन्छन् भरत क्षेत्री। उनी एकछिन टुसुक्क बस्नसमेत पाउँदैनन्।
बुटवलको चर्को गर्मी, टाउकोदेखि हातखुट्टा समेत ढाकिने गरी प्लाष्टिकको पिपिई अनि अनुहारमा फेससिल्डभित्र पसिनाले निथ्रुक्क भिज्छ शरीर।
गत वर्षदेखि उनको दैनिकीको धेरै समय शरीरमा पिपिई लगाएरै बित्छ।
एक वर्षअघि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना उपचार कक्षमा करार सेवामा भर्ना भएका थिए।
बिहान ८ देखि दिउँसो २ बजेसम्म नै स्वाब संकलनमा व्यस्त हुन्छन्।
यस्सो फुर्सद भएका बेला उनले कोरोनाबाट बच्न के गर्ने भनेर सावधानीका उपाय बताइदिन पनि भ्याइहाल्छन्।
‘५/ ६ घन्टापछि तपाईंको स्वाबको रिपोर्ट मोबाइलमा एसएमएसमार्फत् आउँछ, केही कन्फ्युज हुनुभयो भने सम्पर्क गर्नुहोला है, पोजेटिभ आयो भने पनि नडराउनुहोला। बरू घरमा सुरक्षित बस्ने र स्थानीय सरकार र चिकित्सकको सल्लाह लिनुहोला,’ उनी सम्झाउने गर्छन्।
२२ वर्षीय क्षेत्रीलाई सरकारी संस्थाको कर्मचारी भएकाले थप जिम्मेवार र सेवाको भावनाले काम गर्न पर्छ भन्ने थाहा छ।
स्वाब संकलन केन्द्रमा उनीसँगै ६ जना कर्मचारी करार सेवामा भर्ना भएका छन्।
गुल्मीको धुर्कोट गाउँपालिका-६ स्थायी घर भएका भरतले बिरामीहरूको सेवामा लाग्ने भन्दै मेडिकल ल्याब टेक्निसियन अध्ययन गरेका थिए। पढाइ पूरा गरेपछि एक वर्ष ब्लड बैंकमा स्वयंसेवकको रूपमा काम गरेका उनी सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना करारमा कर्मचारी आह्वान गरेपछि भर्ना भएका थिए।
‘सुरूमा त भर्खरै महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले कस्तो रूप लिन्छ, आफैं पनि संक्रमित भइन्छ कि भनेर नजाउँजस्तो लागेको थियो। तर, आफ्नो पढाइको विषय पनि त्यही भएकोले यस्तो संकटको बेला जिम्मेवारीबाट भाग्नु हुँदैन भन्ने लागेर भर्ना भएँ,’ भरत भन्छन्।
सानैदेखि विभिन्न क्लब तथा सामाजिक संस्थाहरूमा स्वयंसेवकको रूपमा काम गर्दै आएकोले पनि आफूमा महामारीको समयमा जनताको सेवामा लाग्नुपर्छ भन्ने ऊर्जा आएको उनी बताउँछन्।
अहिले दैनिक तीन सयभन्दा बढीको स्वाब संकलन हुने लुम्बिनी प्रादेशिक अस्पतालमा आफैंले मात्र अहिलेसम्म १५ हजार बढीको स्वाब संकलन गरिसकेको भरत बताउँछन्।
स्वाब संकलन केन्द्रमा कार्यरत् कतिपय कर्मचारी कोरोना संक्रमित भइसकेका छन्। बिरामीहरूको बढ्दो चापका बीचमा संक्रमित कर्मचारीहरूको काम पनि उनीहरू आफैंले गरिदिनुपर्छ। एक वर्षको अवधिमा दैनिक संक्रमितहरूको स्वाब संकलनमा व्यस्त रहे पनि अहिलेसम्म भने उनी संक्रमणबाट जोगिएका छन्।
‘कोरोनाको जस्तै सामान्य लक्षण देखिने त पटक-पटक भयो, तर व्यक्तिगत सरसफाइ, नियमित व्यायाम र खानपानमा ध्यान पुर्याउँदा ठूलो समस्या नदेखिएपछि स्वाब पनि परीक्षण पनि गर्नु परेको छैन,’ भरत भन्छन्।
सेवा सुरू गरेको पहिलो दिन नै धागो कारखानास्थित आइसोलेसनमा गएर बिरामीको स्वाब संकलन गरेका उनलाई केही दिन त डरले चक्कर आउलाजस्तो भएको थियो रे।
‘एकातर्फ कोरोनाको डर, अर्कोतर्फ चर्को गर्मीमा प्लाष्टिकका पिपिई र फेससिल्डमा ढाकिएर ६/७ घन्टा बिताउनु सहज थिएन, केही दिन त चक्कर लागेर काम गर्न सक्दिनँ जस्तो पनि लाग्यो, अहिले भने सबै सामान्य लाग्छ,’ उनले भने।
स्वाब संकलन केन्द्रमा दिउँसो २ बजेसम्म ड्युटी भने पनि कतिपय बिरामीको तत्काल रिपोर्ट दिनुपर्ने भएपछि रातिसमेत स्वाब निकाल्न पुग्ने गर्थे। अहिले भने एक घन्टामै रिपोर्ट निकाल्ने किट सकिएकोले इमरजेन्सी अवस्थामा स्वाब निकाल्न जानु पर्दैन।
अस्पतालमा आउने सामान्य व्यक्तिमात्र होइन, शंकास्पद रूपमा मृत्यु भएका व्यक्तिको शवबाट स्वाब संकलन गर्नु सामान्य कुरा थिएन। तर, उनी हिम्मत जुटाएर काममा लागिरहे।
‘मानिसहरू आइसोलेसन नजिकैको बाटो भएर हिँड्न पनि डराउँथे, कोरोना संक्रमितहरूले भरिएको आइसियूभित्र गएर मृत्यु भएका व्यक्तिको शव निकाल्दा थोरै डर त लाग्थ्यो, तर अहिले बानी परिसक्यो,’ उनले भने।
आफूसँगै दिदी र बहिनीसमेत स्वास्थ्य क्षेत्रमै रहेकोले कोरोना संक्रमितहरूको बीचमै रहेर काम गर्दा घर परिवारले बुझे पनि टोल छिमेकमा केही भन्छन् कि भन्ने डर भने मनमा भइरहने उनी बताउँछन्।
‘दिदी भैरहवामा हेल्थ असिस्टेन्ट हुनुहुन्छ, बहिनी पनि पब्लिक हेल्थ अध्ययनरत् भएकोले बुवाआमाले त बुझ्नुहुन्छ, तर टोल-छिमेकमा संक्रमण देखियो भने यिनी अस्पताल जान्छन्, उनैले फैलाए भन्छन् कि भनेर आमा डराउनुहुन्छ,’ उनले भने।
पहिलो लहरको संक्रमणमा जोगिएका भरत दोस्रो लहरमा कसरी जोगिन सकिएला भनेर झनै सावधानी अपनाएको बताउँछन्। बुटवलमा घर भाडामा लिएर बसेका उनलाई आफ्नो कारण परिवार पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले तनावमा पारिरहन्छ।
‘गत वर्ष त कोरोनाको उच्च जोखिम भएको समयमा अस्पतालले होटलमै राख्ने व्यवस्था गरेको थियो, तर अहिले सरकारले आवासको व्यवस्था नगरेपछि घरबाटै आउनेजाने गरेको छु,’ उनले भने।
८ बजेअगावै खाएको खाजाको भरमा २ बजेसम्म पानीसमेत नपिई काम गर्छन्। पिपिई र फेससिल्ड लगाएर स्वाब संकलन गर्न लागेपछि भोक तिर्खा, दिसा-पिसाब लागेको केही सम्झना नहुने उनी बताउँछन्।
‘पिपिई लगाउनु पहिले खाजा र टन्न पानी खाएर काम सुरू गर्छौं, एकैपटक २ बजे पिपिई खोलेर हातमुख धोएपछि बल्ल पानी खाने गर्छौं, काममा खटिएको बेला भोक तिर्खा, दिसा-पिसाब लागेको समेत पत्तो हुँदैन,’ उनले भने।
जन्मिएको सात दिनदेखि १०५ वर्षका वृद्धसम्म र बिरामीदेखि मृतकको समेत स्वाब संकलन गरेका भरतलाई कहिलेकाहीँ समयमा सेवा नपाएका सेवाग्राहीले नराम्रो व्यवहार प्रदर्शन गर्दा दुःख लाग्छ।
भन्छन्, ‘दिनभरि कोभिडका बिरामीको स्वाब तान्ने हो, अहिले स्वाब संकलन भएका ८५ प्रतिशतको पोजेटिभ आउने गरेको छ। त्यसमाथि आउने बिरामीहरूले हाम्रो समस्या बुझिदिनु हुँदैन, एकछिन आराम नगरी खटिइरहँदा पनि केहीबेर पर्खिन पर्यो भने भिडियो बनाएर फेसबुकमा हाल्ने गर्नुहुन्छ।’
कोभिड करारमा सेवारत् भरत अस्पताल प्रशासन र सेवा-सुविधाप्रति भने सन्तुष्ट नरहेको बताउँछन्। विभिन्न अस्पताल र आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीहरूले नियमित तलब र जोखिम भत्ता नपाएका समाचार सार्वजनिक भइरहँदा उनले भने गत वर्ष पाँच महिनाको जोखिम भत्तासहित नियमित तलब-भत्ता पाएको बताए।
‘गत वर्ष पनि पाँच महिनाको जोखिम भत्ता पाएका थियौं, अहिले पनि गत साता सरकारले ५० प्रतिशत जोखिमभत्ता दिने घोषणा गरेको छ, पाइन्छ भन्ने आशा छ,’ उनले भने।