गत वैशाख १५ गते, साँझ ५ बजेतिरको कुरा हो। गोंगबु बसपार्कमा सहर छाडेर जानेहरूको बाक्लै भिड थियो। त्यही भिडभित्र रुकुम, आठबीसकोटकी कल्पना परियार आफ्नो परिवारसँगै थिइन्।
वैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएपछि उनीहरू काठमाडौंको डेरै छाडेर निस्किएका थिए। कल्पना घरि सामानको थुप्रोमाथि बसिरहेका छोराछोरी हेर्थिन्, घरि बाटोतिर। दिउँसै जाने भनेको बस नआएपछि हेर्न गएका श्रीमान हतारिँदै आइपुगे।
परिवारै सामानसहित गाडी चढे।
सहरबाट बिदाइ हुँदै गर्दा कल्पनालाई सोधेँ– 'घर पुग्न कति समय लाग्छ?'
'भोलि लगभग तीन–चार बजे पुगिन्छ,' गाउँ लैजान पोको पारेका सामान सम्हाल्दै उनले भनेकी थिइन्। उनीहरूले बसमा सिट पाएका थिएनन्। एक दिनको कुरा त हो, मुढामा बसेर पुगिहालिन्छ भन्ने सोचेका थिए।
तर भनेजस्तो भएन। भोलिपल्ट करिब चार बजे फोन गर्दा उनीहरू बल्लतल्ल बुटवल पुगेका रहेछन्।
'जाममा फसेर बल्ल बुटवल आइपुगियो। घर त कहिले पो पुग्ने हो,' फोनमा कल्पनाको रुन्चे स्वर सुनियो, 'अझ मुढाको सिट भनेको, त्यो पनि छैन। बच्चाहरूसँग उभिनुपरेको छ। बिजोग भयो।'
उनले यत्ति भनेपछि फोन पनि काटियो।
बच्चाहरूसँग उभिएर बसमा अप्ठ्यारो यात्रा गरिरहेकी उनलाई फेरि फोन गरेर मुश्किल थप्न मन लागेन। भोलिपल्ट उनीहरू पुगे कि पुगेनन् भनेर सोध्न फोन गरेँ, लागेन। पर्सिपल्ट पनि नम्बर डायल गरेँ, लागेन।
केही दिन समय–समयमा उनको नम्बर डायल गरिरहेँ। तर कल्पनासँग सम्पर्क हुन सकेको थिएन। धेरै दिनपछि गत बिहीबार बल्ल सम्पर्क भयो। उनीहरू काठमाडौंदेखि बसमा उभिएरै तीन दिन लगाएर गाउँ पुगेछन्।
'कुनै बेला त सिटमा बसेका मान्छेले नानी र बाबुलाई बोकिदिनुभयो। उहाँहरू पनि निदाएका बेला त हामी अब सक्दैनौं, आफैं बोक भन्नुभयो। बच्चासँग उभिएर निकै बिजोगले आइयो नि,' कल्पनाले बसको यात्रा सम्झिइन्।
साना बालबच्चा, सामानको भारी, तीन दिन बसमा झुन्डिएर गरेको यात्रा, खानाको बेटुंगो। कल्पनाको ज्यान लखतरान भइसकेको थियो। गाउँ पुगेपछि थकाइ मरिहाल्छ, कम्तीमा सहरमा भोकै बस्न परेन भनेर उनको मन हलुका भयो। तर आफ्नो गाउँ र गाउँलेको व्यवहारले झनै गलायो।
केही गाउँलेले 'कोरोना सार्न आएका' भनेर कल्पनाको परिवारलाई दुर्व्यवहार गरेछन्। मुखामुख गर्दै परपर भए। कोरोनाकालमा भौतिक दुरी कायम गर्नैपर्छ, तर मनको दुरीले झन् बिमारी बनाउँछ। गाउँलेको व्यवहारले कल्पनालाई चसक्क बनायो। तर मनको पीडाभन्दा पेटको पीडा सहन मुश्किल थियो। त्यसैले त उनीहरू केही पर्वाह नगरी गाउँ फर्किएका थिए।
उनीहरूले गाउँलेको व्यवहार चुपचाप सहे। केही दिन कतै ननिस्की घरभित्रै बसिरहे।
'केही दिनसम्म त हामीलाई पनि हाम्रै कारणले गाउँमा कोरोना फैलिने हो कि भन्ने डर थियो। धन्न त्यस्तो केही भएन,' कल्पनाले सुनाइन्।
कल्पनाहरू बसुन्धारामा डेरा गरी बस्थे। श्रीमान विनोदको ज्यामी कामले परिवार जसोतसो धानिएको थियो। कल्पनाले पनि भर्खर एउटा घरमा काम पाएकी थिइन्। निषेधाज्ञा हुने भएपछि दुवैको काम गुम्यो। कामधाम बिना काठमाडौंमा भोकै परिएला भन्ने चिन्ताले उनीहरू घर फर्किएका थिए।
अहिले गाउँमा खान/बस्न सजिलो भयो त?
कल्पनाले भनिन्, 'यहाँ पनि के सजिलो हुनु? ओत लाग्ने घर छ, भाडा तिर्नुपर्दैन। खान त यहाँ पनि समस्यै हुने भयो। किनेर ल्याएको अलिकति चामल छ। सकिएपछि के खाने भन्ने चिन्ता छ। यो वर्ष गहुँ पनि फलेनछ। के गर्ने, यस्तै छ स्थिति।'
लामो सास तान्दै कल्पनाले आफ्ना भनाइ सकिन्। एकछिन केही बोलिनन्। बोल्दाबोल्दै भक्कानिएकी थिइन् सायद।
'अरू त त्यस्तै हो। बुधबारदेखि बाबुलाई ज्वरो आएको छ। दिउँसो कम हुन्छ। राती बढी च्याप्छ। घरमा भएका केही औषधि दिइरहेकी छु। बाहिर सबै बन्द छ। अस्पताल पनि कसरी लैजाने हो,' एकछिन रोकिएपछि बोलेकी उनको कामेको आवाज सुनियो।
कल्पनाका साढे तीन वर्षीय साना छोरा बिरामी छन्। उनलाई बेलाबेला निमोनिया र ज्वरोले च्यापिरहन्छ। चिकित्सकका अनुसार छोराको मुटुको दुवै भल्भमा प्वाल छ। त्यसैले बेलाबेला सिकिस्त भइरहन्छन्। उपचार गाउँमा सम्भव भएन। गाउँको अस्पतालले छोरा ८ महिनाका हुँदै काठमाडौं अस्पताल रिफर गरेको थियो।
'रुकुमको चौरबारीको अस्पतालले मुटुमा प्वाल छ, काठमाडौं लैजानु भन्यो। उपचारका लागि ऋण काढेर काठमाडौं लग्यौं। मनमोहन अस्पतालले मुटुको दुवै भल्भमा प्वाल छ, एक वर्षसम्म औषधि खुवाउँदा पनि ठीक नभए अपरेसन गर्नुपर्छ भनेको छ,' उनले भनिन्।
उपचारका लागि पहिलो पटक काठमाडौं आउँदा एक लाखभन्दा बढी खर्च भएको थियो। विनोदले जसोतसो ऋण काढेर जुटाए। डाक्टरले छोरालाई बेलाबेला अस्पताल ल्याइरहन सुझाएका छन्। तर रुकुमबाट काठमाडौं धाइरहन पैसा थिएन। फलोअपका लागि छोरालाई काठमाडौं ल्याउन सकेनन्। परियार दम्पत्तिले।
तर बीचमा छोरा अचानक सिकिस्त भए। त्यसपछि उनीहरू दोस्रो पटक काठमाडौं आए।
'पहिलो पटकको ऋण श्रीमानले मजदुरी गरेर जसोतसो तिर्नुभयो। दोस्रो पटक माइती गाउँबाट ५० हजार र घरतिरबाट ६० हजार गरेर एक लाख दस हजार ऋण लियौं। अझै तिर्न सकेको छैन,' कल्पनाले भनिन्, 'अब छोराको ज्वरो कम भएन भने फेरि के गर्ने हो। आफूसँग पैसा छैन, यो महामारीमा ऋण कसले पत्याउला?'
छोरा बेलाबेला बिरामी भइरहने र धाइरहनुपर्ने भएपछि कल्पना र विनोद काठमाडौं बस्ने सोचेर आएका थिए। पहिलो लकडाउनपछि काठमाडौं छिरेका उनीहरूको योजना थियो- सकुन्जेल मजदुरी गरेर छोराको उपचार गराउने र छोराछोरी पढाउने।
ज्यामी कामबाट विनोदले दैनिक ८ सय रूपैयाँ कमाउँथे। मनमोहन अस्पताल आसपास, बसुन्धाराको डेराभाडा महिनामा चार हजार आठ सय बुझाउनुपर्थ्यो। छोराको उपचार खर्च पनि जुटाउनुपर्ने। सात वर्षीया छोरी स्कुल जान थालेकी थिइन्, शुल्क पनि थपियो।
'पहिले छोरीलाई सरकारी स्कुल पढाएका थियौं। अर्को महिनाको तीन सय शुल्क लिने बोर्डिङजस्तै स्कुल रहेछ, त्यहीँ भर्ना गर्यौं,' कल्पनाले भनिन्, 'आफू पढिएन, छोराछोरीले पढून् भन्ने भयो नि। बरू आफू पनि काम गरेर पढाउँछु भन्ने सोचेकी थिएँ।'
छोरालाई पनि छोरीसँगै भर्ना गरिदिने उनीहरूको सोच थियो। तर एक जनाको मात्र कमाइले खर्च धान्न मुश्किल। अनि कल्पना पनि काम खोज्न थालिन्। घरमा बच्चाको हेरविचार गर्नुपर्ने भएकाले भनेजस्तो काम सजिलै भेटिएन। बल्ल एउटा घरमा सफाइको काम पाइन्। महिनाको तीन हजार रूपैयाँ तलब!
काम थालेको एक साता नपुग्दै निषेधाज्ञा हुने भयो। कल्पनाको काम छुट्यो, विनोदको बन्द भयो। सहरमा बाँच्ने आधार कमाइ नै नभएपछि कसरी बाँच्नु?
'छोराछोरीको स्कुल बन्द भयो। काम पनि। तर जसरी पनि बाँच्नु छ। नखाइ बाँच्न सकिँदैन। बरू बिमार खप्न सकिन्छ भनेर डेरा छाडेर फर्कियौं,' कल्पना भन्छिन्।
जिन्दगी सोच्नु र भोग्नुमा कोसौं अन्तर छ। गरिबी र अभावले थिचेको गाउँको जीन्दगी पनि भोगी साध्य छैन। जसले भोग्छ उसैलाई थाहा हुन्छ। भोक मेट्ने विकल्प गाउँ देखेका कल्पना र विनोद अहिले उही नियति भोगिरहेका छन्। केही दिनका लागि चामल छ, तर चामलले बिरामी छोराको अवस्था सुधार हुने भए पो!
नजिकै अस्पताल नहुँदा टुलुटुलु छोराको अनुहार हेरेर रुनुको विकल्प छैन। क्रुर समयले उनीहरूलाई विकल्पमा यति मात्रै दिएको छ।
'छोरालाई ठीक भइदिए त हुन्थ्यो। उपचारका लागि काठमाडौं लैजानसक्ने अवस्था छैन, यतिबेला ऋण कसले पत्याउला,' उनको स्वर मसिनो सुनियो।
कल्पनाका श्रीमान विनोद जेठा सन्तान हुन्, उनका एक भाइ र एक बाहिनी छन्। मजदुरीका लागि भारत पुगेका भाइ कोरोनाका कारण उतै बिचल्ली परे। उमेरले छ दशक नाघिसकेका आमाबुवा विनोदकै भरमा छन्। धान फल्ने खेत छैन। पाखो बारीको उब्जाउले वर्षभरि खान पुग्दैन।
'बारीको उब्जनीले बल्लतल्ल पाँच महिना खान पुग्छ। बाँकी समय छाक पुर्याउन मजदुरी गर्नुपर्छ। गाउँमा त मजदुरी गर्छु भन्दा पनि पाइँदैन। त्यसैले अधिकांश मान्छे मजदुरीका लागि भारत पुग्छन्,' कल्पनाले सुनाइन्।
सानै उमेरमा बिहे गरेका कल्पना र विनोदले पनि केही वर्ष त्यसैगरी गुजारा गरिरहेका थिए। विनोद सिजनमा भारत जान्थे, सकेसम्म धेरै खट्थे। मजदुरी गरेर ल्याएको पैसाले केही दिनको छाक टर्थ्यो। कल्पना घर सम्हाल्थिन्।
'नानी पेटमा हुँदा उहाँ ढुंगा फोर्ने कामका लागि डोल्पा जानुभएको थियो। त्यहाँको काम सकिएपछि सिजनमा भारत आउने/जाने गर्न थाल्नुभयो। एक पटक दस-पन्ध्र हजार लिएर आउनुहुन्थ्यो,' कल्पनाले सम्झिइन्।
भारतमा विनोद स्याउ बगैंचामा काम गर्थे। स्याउ टिप्ने, बोक्ने, प्याकिङ गर्ने। तर यो कामबाट आएको पैसाले उनको परिवारलाई स्याउ किनेर खान त के, छाक पुर्याउन पनि मुश्किल हुन्थ्यो। समस्या पर्दा कल्पना माइती सम्झिन्थिन्। रुकुम, मुसिकोट नगरपालिका पुग्न आठबीसकोटबाट दिनभर हिँड्नुपर्छ।
'माइतबाट त केही ल्याउन सकिँदैन,' कल्पना भन्छिन्, 'फेरि माइती पनि सम्पन्न भए पो!'
कहिलेकाँही वरिपरि पैंचो मागेरै छाक टार्थे उनीहरू। गाउँ धेरै बाक्लो छैन। ऐंचोपैंचो पनि 'जात मिल्ने' बाट मात्रै पाइने उनी बताउँछिन्, 'गरिब हुनु, त्यसमाथि दलित हुनु, पापै जस्तो रहेछ। जात नमिले ऐंचोपैंचो पाइँदैन।'
गरिबी, जातीय विभेद र कष्ट त वर्षौंदेखि भोग्दै आएका हुन् उनीहरूले। तर यो अभावभित्र छट्पटाइरहेका बिरामी छोराको पीडाले उनीहरूलाई खुत्रुक्कै गलाएको छ।
'बाबुलाई सञ्चो भइदिए त हुन्थ्यो। कोरोना सामान्य भएपछि काठमाडौं फर्किन्थ्यौं,' कल्पना भन्छिन्, 'बाबुलाई अस्पतालमा देखाउन पनि सजिलो हुन्थ्यो।'