लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन्।
नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षातपछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन्।
डुम्रे–बेंसीशहर सडकखण्ड नजिकै जिल्लास्थित बेंसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ।
केही दिनअघिसम्म ५०/५५ मेगावाटमात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए।
उनले भने, ‘केही दिनको निरन्तर पानीले मर्स्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ।
आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२/२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो।
विगतका वर्षमा २५/२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन।
आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुइटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ।
यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो। यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो।
सन् २००० मा निर्माण कार्य सुरू गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ। यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो।
त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मर्स्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ।
एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले बताए।
उनले भने, ‘पुस/माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो। अब मर्स्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उनको भनाइ छ।
यस आयोजनामा २५/२५ क्षमताको दुइटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।
सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य सुरू गर्दै सन् २०१७ जनवरीबाट व्यवसायिकरूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो।
सो आयोजना करिब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो।
चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ।
यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो।
यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ।
जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन्।
दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन्। ती आयोजनाहरूले अधिकांश काम सम्पन्न गरिसकेका छन्। उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ।
नेपालडाँडा–तार्कुघाट– बोराङखोला सडक कालोपत्र धमाधम
कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररूपमा अघि बढिरहेको छ।
छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए।
उनले भने,‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ। सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ।’
जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो।
यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताए।
धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उनको भनाइ छ।
नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ।
कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि सुरू भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो।
यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ।
सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ।
गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनियर रिमालको भनाइ छ।
उनका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ।
हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करिब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ।
त्यस्तै, भैंसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
त्यस्तै विभिन्न स्थानमा हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ।
यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ।
यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ। रासस