डल्लुको विष्णुमती पुलनिर एक महिलाले दौडिएर सडक पार गरिन्। उनलाई सडकमा हुइँकिएका गाडीको कुनै वास्ता थिएन। नजाने कुन तोडले होला, उनी त्यसरी बेतोडले दौडिएकी!
उनले कालो मास्कले मुख ढाकेकी थिइन्, नाक भने खुल्लै थियो। उनले ओढेको रातो पछ्यौरीको छेउमा सानो पोको थियो। त्यो सानो पोको उनले बडो जतनसाथ सम्हालेकी थिइन्।
उनी हामी भएतर्फ आइन् र टक्क अडिइन्।
'बेटी कहीँ रासन मिल जाए तो...' स्याँस्याँ मिसिएको उनको आवाज वाक्य पूरा नहुँदै रोकियो।
त्यत्तिकैमा उनी पछ्यौरीको छेउको पोको खोतल्न थालिन्। त्यहाँ एउटा कागजको टुक्रा रहेछ। त्यो टुक्रा निकालेर दिँदै उनले नेपालीमै भनिन्, 'हामीलाई कतै रासन मिल्दैन? मिल्यो भने यो नम्बरमा फोन गर्नुस् है।'
'पछ्यौरीमा के बोक्नुभएको?' हामीले सोध्यौं।
'खानेकुरा,' उनले एक शब्दमा जवाफ दिइन्।
कहाँबाट ल्याउनुभएको?
'यहाँ बाँडिरहेको थियो। अहिले त गाडी गइसक्यो।'
कुन ठाउँबाट आउनुभएको?
'त्यहाँ पर...ढोकाटोलबाट।'
एक्लै आउनुभएको?
'होइन श्रीमान र नाति पनि आएका छन्। म तपाईंलाई देखेर छिटोछिटो दौडिएर आइपुगेँ। उनीहरू पनि आउँदैछन्।'
उनको नाम मन्जु गुप्ता हो। उमेर ५५ वर्ष। घर बिहार, भारत। उनको परिवार २५ वर्षदेखि काठमाडौंमै बस्छ। परिवारमा उनी र उनका श्रीमानसहित दुई छोरा, एउटी बुहारी र तीन नाति-नातिना छन्।
उनीसँग कुराकानी गर्दागर्दै उनका श्रीमान मुन्ना गुप्ता र साना नाति पनि आइपुगे।
'हामी खाना लिन आएका। कोठामा खानेकुरा केही छैन,' श्रीमानतर्फ इसारा गर्दै मन्जुले भनिन्, 'काम गर्ने मान्छे उही हो, उसको काम नभएपछि भात खानलाई पनि हात फैलाउनुपरेको छ।'
'तपाईं के काम गर्नु हुन्थ्यो?' हामीले मुन्नालाई सोध्यौं।
'ठेलागाडामा सामान व्यापार गर्थेँ। अहिले त गाडा निकाल्न पनि दिएको छैन। अघिल्लो वर्षदेखि नै व्यापार छैन। के गर्नु हजुर अप्ठ्यारोमा परियो। एकचोटि भोक मेट्न पनि अरूको भर पर्नुपरेको छ,' ६५ वर्षीय मुन्नाले सुनाए।
मुन्ना टीका, काइँयो, ऐना लगायत सामग्री गाडामा राखेर बेच्थे। दैनिक ५ सयदेखि ७ सयसम्म व्यापार हुन्थ्यो। व्यापार हुँदा त्यसैबाट गुजारा चल्थ्यो। बचत गर्न भने गाह्रो थियो। त्यसमाथि उनीहरूका जेठा छोरा मानसिक रोगी छन्। चिकित्सकले औषधि नियमित खानुपर्छ भनेको छ। गाँस कटाएर पनि छोराको औषधिका लागि पैसा जोहो गर्थे मुन्नाले।
कोरोना महामारी सुरू भएयता मुन्नाको व्यापार चौपट भयो। अघिल्लो वर्ष लकडाउनपछि केही समय बजार खुल्यो, तर मुन्नाको व्यापार फर्किएन। त्यसपछि त मुन्नालाई खान र कोठा भाडा तिर्ने रकम जुटाउनै मुश्किल पर्न थाल्यो। छोराको औषधि किन्ने पैसा त कता हो कता!
'डाक्टरले औषधि नियमित खानुपर्छ भनेर के गर्नु, पैसा भएन। उसको दिमागको बिमार झन् बल्झियो,' मन्जुले भनिन्।
उनीहरूले यसपालि फेरि लकडाउन हुन्छ रे भन्ने हल्ला त सुनेका थिए। अरू कति साथीभाइ लकडाउन छल्न आफ्नै देश फर्किए। उनीहरू भने फर्किएनन्।
'हामी गरिबको देश नहुने रहेछ,' मुन्ना भन्छन्, 'उता गए पनि समस्या यस्तै हो। सम्पत्तिका नाममा केही छैन। जता गए पनि भोकै। हामी त गएनौं।'
नभन्दै कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न सरकारले निषेधाज्ञा घोषणा गर्यो। मुन्नाले चलाउने गाडाका चक्का रोकिए। आम्दानीको स्रोत सुक्यो। कोठामा दाल, चामल सबै सकिएको थियो। अलिकति चिउरा चाहिँ बाँकी थिए। त्यसपछि सुरू भयो भोकको शृंखला।
निषेधाज्ञा हुने हल्ला सुनेपछि नै उनले चामल जोहो गरिराख्ने नसोचेका होइनन्। तर सोचेजस्तो व्यापार नै भइदिएन।
'अघिल्लो सालको जस्तै दुःख नहोस् भनेर चामल जोहो गरिराखौंला भनेको, व्यापार नै भएन। लकडाउन भइहाल्यो,' मुन्नाको स्वर मसिनो सुनियो।
कोठामा भएको चिउराले केही दिनको भोक टारे उनीहरूले। केही दिनमा चिउरा पनि सकियो। एक दिन त उनीहरूले पानी मात्रै खाएर कटाए। तर भोक सहन सजिलो थिएन।
उनीहरूले कतै रासन पाइन्छ कि भनेर छरछिमेकमा बुझे। रासन त होइन, सडकतिर केही मनकारीहरूले खानेकुरा बाँड्दैछन् भन्ने सुने। त्यसपछि खाली पेट भर्न सडकमै निस्किन थालेका छन् उनीहरू।
'बिमार छोरालाई कता लिएर हिँड्नु। त्यसलाई घरै छाडेर श्रीमान र म खाना लिन आउँछौं। साँझतिर दुई प्याकेट खाना पाइन्छ। त्यही बाँडेर बेलुका खान्छौं। दिनभरि भोकै बस्नुपर्छ,' मन्जुले सुनाइन्।
अघिल्लो लकडाउनमा पनि समस्या त उस्तै हो। तर, केही संघसंस्थाले बाँडेको रासन पाएका थिए। योपटक कतैबाट पाएनन्।
'परिचय पत्र नभएकालाई यहाँको सरकारले रासन दिँदैन रे। त्यो रासन त हामीले पाउँदैनौं,' मन्जु भन्छिन्, 'हामीलाई कसले देला रासन? कसैले दिए कति धर्म हुन्थ्यो।'
विष्णुमती छेउछाउ भोकाहरू थपिँदै थिए। साँझ कुनै चिनियाँ संस्था खाना लिएर आउँदैछ भन्ने सुनेपछि उनीहरू कुरिरहेका थिए। घरमा बिरामी छोरा सम्झिएर मन्जु अत्तालिँदै कुरा गरिरहेकी थिइन्।
'कुरा गर्दै जाऔं न, हाम्रो कोठाको दुःख पनि हेर्नुस्,' उनले आग्रह गरिन्।
हामीले उनीहरूलाई पछ्यायौं। बीच बाटोतिर पुगेपछि मुन्ना त्यतै रोकिए।
डल्लु नजिकैको पुलबाट दस मिनेट हिँडेपछि उनीहरूको कोठा पुगियो। साँघुरो गल्लीभित्र अँध्यारो कोठा। भुइँमा ओछ्यान। उनीहरूका जेठा छोरा पल्टिरहेका थिए। हामी पुगेपछि उठे।
कोठामा रित्ता भाँडा, पानीका बोतल र कपडाका पोका, बिग्रिन लागेको तरकारीबाहेक केही थिएन।
कोठामा पुग्नेबित्तिकै मन्जुका नातिले डल्लुबाट लगेको खानेकुराको पोको खोले। पोकोभित्र दाल, भात र तरकारी रहेछ। दाल प्लास्टिकमा बाँधिएको थियो। त्यो उनले खोल्न सकेनन्। भोकले हतारिएका उनले दालबिना नै खाना खान सुरू गरे। दालको पोको मन्जुले खोलिदिइन्।
'हामी सबै बिहानदेखि भोकै छौं। खानेकुरा केही छैन। हेर्नु न, चिनेको तरकारीवालीले तरकारी दिएको थियो। तेल नै छैन कसरी पकाउनु,' बिग्रिन लागेको तरकारी देखाउँदै उनले भनिन्, 'लैजाऊ तिमी खाऊ भनेर दिनुभएको थियो, यस्तो भयो।'
काम छउन्जेल मन्जुलाई कसैको आश लाग्दैन थियो। मीठोमसिनो खाएर गुजारा चलेको थियो। तर, अहिलेको निषेधाज्ञाले एक छाक खान पनि अरूको आश गर्नुपरेको भन्दै उनले दुखेसो गरिन्।
'पर्दैन मेरोमा तेल छैन भन्न लाज लाग्यो। चुपचाप ल्याएँ,' उनी भक्कानिएर रून थालिन्।
मन्जुलाई एकातिर भोकको चिन्ता छ, अर्कातिर जेठा छोरा र कान्छी बुहारीको औषधिको। उनकी कान्छी बुहारीलाई मुटुको रोग छ। चिकित्सकका अनुसार उनको मुटुको भल्भमा प्वाल छ।
'बुहारी र यसलाई टिचिङ अस्पतालबाट औषधि ल्याउने गरेको थियो। कान्छा छोराको पनि काम छैन,' रुन्चे स्वरमा उनले भनिन्, 'यसलाई डाक्टरले पन्ध्र–पन्ध्र दिनमा ल्याइराख्नु भनेको थियो। लैजान सकिएन। पूरा उपचार गरे पो ठीक हुन्छ भनेर डाक्टरले कराउँछन्। पैसा पुग्दैन कसरी उपचार गर्ने?'
उनीहरूका दुइटा कोठा रहेछन्। भुइँतल्लाको कोठामा मन्जु, मुन्ना र जेठा छोरा बस्ने रहेछन्। माथिल्लो तल्लाको कोठामा कान्छा छोरा, बुहारी र नाति-नातिना।
माथिल्लो कोठाको अवस्था उस्तै थियो। खाली भाँडा र बट्टाहरू, कपडाका पोका, एउटा टेलिभिजन, झुन्डिएको तार, भुँइमा राखिएको ग्यास चुह्लो असरल्ल थिए।
मन्जु र मुन्नाका कान्छा छोरा सन्नी गुप्ता कमजोरीले बिस्तारामा सुतिरहेका थिए। उनकी श्रीमती रिमा राहतको खाना खोज्न बाहिर गएकी थिइन्।
'अहिले हाम्रोभन्दा केटाकेटीको भोकको चिन्ता छ। आफू त अलिबेर खप्न सकिन्छ। साना छोराछोरीलाई दिनभरि भोकै राख्नुपरेको छ,' सुतिरहेका सन्नीले बिस्ताराबाटै सुनाए।
सन्नीका पनि तीन सन्तान छन्। स–साना छन् उनीहरू। सामान्य अवस्था हुँदा सन्नी पसलमा काम गर्थे। तलब १२ हजार आउँथ्यो। त्यही पैसाले जसोतसो छोराछोरी र आफूहरूलाई खान र कोठाभाडा तिर्न पुर्याउँथे। त्यसमाथि बिरामी श्रीमतीको औषधि किन्न पनि जोहो गर्नुपर्ने हुँदा निकै मुश्किल थियो।
निषेधाज्ञाका कारण उनको छँदाखाँदाको जागिर गयो। हिजोआज त उनीहरूको चुह्लो पनि चिसिएको छ। कोही मनकारीले दिएको खानेकुरा पाइयो भने त्यो तताउन कहिलेकाहीँ चुह्लो बल्छ।
केही बेरमा रिमा एउटा पोको लिएर आइपुगिन्।
'हनुमानढोका नजिकै खाना बाँडेको थियो। त्यहीँबाट ल्याएको,' उनले भनिन्।
उनकी छोरी भोकले अत्तालिइरहेकी थिइन्। रिमाले बाहिरबाट आउनेबित्तिकै हातसमेत नधोइ हतारहतार पोकोबाट खानेकुरा निकालिन्। अलिकति खानेकुरा बटुकामा राखेर सानी छोरीलाई दिइन्।
'आज साँझ यति खाएपछि फेरि खान भोलिपल्ट साँझ नै कुर्नुपर्छ। छोराले आमासँग गएर खायो। यो प्याकेटले हामी चार जनालाई पुर्याउनुपर्छ,' उनले सुनाइन्।
'काम गर्छुभन्दा काम छैन। खान कसैले केही दिँदैन। बाँच्नु त पर्यो हजुर के गर्नु,' सन्नीले थपे।