कोरोनामा महामारीको संक्रमणका कारण धनुषामा लगभग एक महिनादेखि निषेधाज्ञा जारी छ।
प्रदेश २ का अधिकाशं जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले गत वैशाख २१ गतेदेखि निरन्तर निषेधाज्ञा थपिरहेको छ।
गत सोमबार समेत जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बसेको बैठकले आगामी ७ दिनका लागि निषेधाज्ञा थपेको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक केही खोल्न दिइएको छैन। जसका कारण दैनिक ज्याला मजदुरी गरी घर परिवारको हातमुख जोर्ने मजदुरहरूको अवस्था दयनीय बन्दै गएको छ।
निषेधाज्ञाकै चपेटमा परेकामध्ये एक हुन् जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ का ४० वर्षीय सुरेश सदा।
सुरेश निषेधाज्ञा सुरू हुनुभन्दा पहिले प्लाष्टिक टिप्ने गर्दथे। दिनभरि जम्मा गरेको उक्त प्लाष्टिकहरू कवाडमा गएर बिक्री गरेबापत उनले दैनिक ५० रुपैयादेखि ६० पाउने गरेका थिए।
सुरेशको त्यही कमाइले उनको घरका सबै जनाले बिहान बेलुकाको भोक मेट्दै आएका थिए।
धनुषामा निषेधाज्ञा जारी भएको एक महिना पुग्दैछ। सुरेशको कमाइ बन्द छ। उनी बाहिर निस्किन पाउँदैनन्। घरभित्रै बस्नु परेकोले उनलाई आफूभन्दा पनि घरपरिवारको चिन्ताले सताइरहेको छ।
‘पहिला दैनिक ६० रुपैयाँ नै भएपनि सधैं आम्दानी गर्ने गर्दथें। एक महिनामा एक सुकोसम्म हेर्न पाएको छैन,’ सुरेशले भने, ‘निषेधाज्ञा अझै लम्बिँदै गए हामी कोरोना संक्रमित भएर भन्दा पनि भोकमरीले मर्छौं। हाम्रो घरको अवस्था कस्तो हुन्छ भन्ने कल्पनासम्म गर्न सक्दैनौं।’
सुरेशको घरमा श्रीमती, भान्जी र बहिनी छन्। श्रीमती भने अशक्त छिन्। तर पनि उनी भने घरपरिवार चलाउनकै लागि घर-घरमा गई भिक्षा माग्ने काम गर्दै आएकी थिइन्। निषेधाज्ञा लागू भएदेखि उनी समेत निस्कन पाएकी छैनन्।
‘मेरे कमाइले घर खर्चसम्म निस्किँदैन,’ सुरेशले भने, ‘त्यसैले शरीरले अशक्त भए पनि उनी पनि माग्न जान्थिन्।’
दुबै जनाको दिनभरिको परिश्रमबाट घर चलिरहेको थियो।
४२ वर्षीय बेचन मण्डल पनि प्लाष्टिक टिप्ने काम गर्छन्। सदाजस्तै उनले पनि त्यही कमाइले आफ्नो घर चलाउँछन्। उनको घरमा जम्मा चार जना छन्। वृद्ध आमा र १८ वर्षीय छोरालाई भने उनी केही दिनअघि मात्रै गुमाएका छन्।
उनका अनुसार आमालाई कालगतिले गुमाउनु परेको हो भने छोरा राम ईश्वर मण्डल मदिरा कुलतमा फसिसकेका कारण उनलाई गुमाउनु परेको हो। केहीदिनकै अन्तरमा आमा र छोरालाई गुमाएका बेचनलाई अहिले शोक मनाउनुभन्दा पनि घरमा रहेका अन्य सदस्यहरूको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ।
निषेधाज्ञाका कारण कमाइ बन्द भएपछि घरको चुल्हो कसरी बल्छ भन्ने तनावले सताइरहन्छ।
दिनभरि कवाडी जम्मा गरेर बेचन ५ देखि ६ सयसम्म कमाइ गर्थे।
‘निषेधाज्ञा लागू हुनुभन्दा अगाडिसम्म दिनभरिकै कमाइले घर चलाउन सकिन्थ्यो,’ उनले भने, ‘त्यो पनि लकडाउनले गर्दा समाप्त भइसक्यो अब साहुसँग ऋण लिएर घर चलाउनुबाहेकको विकल्प छैन।’
पछिल्लो वर्षको निषेधाज्ञामा स्थानीय तहबाट राहतमा चामल, दाल, तेल, तरकारी पाए पनि यस वर्ष भने कहीँ कतैबाट कुनै दाताले पनि राहत उपलब्ध नगराएकाले निषेधाज्ञामा परिवार चलाउन समस्या भइरहेको बेचन बताउँछन्।
स्थाानीय जमिरिया देवी धर्मशालामा मागेर आफ्नो गुजारा चलाउने दुई वृद्धा जगतोरिया देवी र चाइना देवीलाई समेत यो निषेधाज्ञाले छोडेको छैन।
जगतोरिया उमेरले ७५ वर्ष कटिसकेकी छिन्। उनको आवाज समेत स्पष्ट छैन। तर भोको पेटले नमानेकै कारण मागेरै भए पनि गुजारा चलाउँदै आएकी छिन्।
‘न मेरा श्रीमान् छन् न सन्तान नै छन्,’ जगतोरियाले भनिन्, ‘बन्दी भएपछि माग्न जान पनि समस्या नै छ, माग्नका लागि बाहिर निस्किँदा प्रहरीले हप्काउँछ। खानाका लागि गाह्रो भएको छ हामीलाई।’
उमेरले ४० कटिसकेकी चाइना देवीको घरमा भने एक छोरा र एक छोरी छन्।
उनीहरूको पेट पाल्नका लागि चाइनालाई दैनिक भिख माग्न निस्किनु नै पर्छ।
तर टोल टोलमा पनि कोरोनाको संक्रमण रहेकाले माग्न जाँदा पनि कसैले दिन नमानेको चाइना बताउँछिन्।
‘हाम्रो अहिले कोही सहारा छैन,’ उनले भनिन्, ‘अब पनि राहत नदिए कतिसम्म समस्या हुनेछ भन्न सकिँदैन।’
यता वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहलाई निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेकाहरूलाई राहत उपलब्ध नगराउनुको कारणबारे सोध्दा वडा कार्यालयले दैनिक मजदुरी गर्नेहरूका लागि खानाकै व्यवस्था गरेको बताए।
‘सुरूमा उहाँहरूले निषेधाज्ञाका कारण भोगिरहेका पीडाबारे जानकारी नभएर केही दिनसम्म कुनै प्रकारको सहयोग गर्न सकिएन तर अहिले भने आर्थिक समस्यामा परेका तथा दैनिक मजुदरी गरेर घर परिवार चलाउने सबैका लागि खानाकै व्यवस्था गरिएको छ,’ वडाध्यक्ष साहले भने।