सर्लाहीको एक गाउँमा चार दिनमा ३ जना भारतीय नागरिक र ५ नेपाली नागरिकको मृत्यु भएको छ।
ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ५ पडरिया २४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझीको मृत्यु भएको हो।
यसैगरी उक्त गाउँमा रहेको चन्दन इँटा उद्योग र नेपाल कट्टा इँटा उद्योगमा काम गर्ने भारतको उत्तर प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
उनीहरूमा टाउको दुख्ने र बान्ता हुने समस्या देखिएको थियो। गत जेठ २८ गते साँझ उनीहरू मलंगवा अस्पतालमा उपचारका लागि गएका थिए। अस्पताल भर्ना भएको केही समयमै उनीहरूको मृत्यु भएको थियो।
त्यसैगरी जेठ २९ गते भारतको उत्तर प्रदेश आग्रामा काम गर्न पुगेका रामईश्वर पासवान र दिनकर दासको मृत्यु भएको प्रनाउ कुँवरले जानकारी दिए। यी दुई जना सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए।
साथै तीन जनाको जनकपुरस्थित अस्पतालमा मृत्यु भएको हो। कैलु दासको जेठ ३० गते, जुगेश्वर सामझी र बलिन्द्र दासको असार ३१ गते बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु भएकाहरूको शवको पोस्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूको मृत्युको कारण खुलेको छैन। तर बम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले विशाक्त मदिरा सेवनबाट उनीहरूको मृत्यु भएको हुन सक्ने बताएका छन्।
उनीहरू सबै मजदुरी गर्थे। अध्यक्ष साहका अनुसार गत जेठ २८ गते पनि त्यहाँ उनीहरूले मदिरा सेवन गरेका थिए।
घटनाबारे अनुसन्धान गर्न प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवको नेतृत्वमा तीन सदस्यीय टोली नै खटेको छ।
स्वास्थ्य निर्देशनालयका प्रशासकीय अधिकृत डाक्टर बिजयकुमार झाका अनुसार उक्त टोलीले उनीहरूको मृत्यु के कारणले भएको हो भन्ने पत्ता लगाउने काम बाँकी नै छ।
‘घटनाबारे जाँचबुझ गर्न हाम्रो टोली हिजो घटनास्थलमा पुगिसकेको छ,’ डाक्टर झाले भने, ‘रिपोर्ट अहिलेसम्म आएको छैन। तर प्रारम्भिक जानकारीको क्रममा मृतक सबैले तीन चारदिन अघि मदिरा खाएका थिए भनेर हामीलाई खबर प्राप्त भएको छ।’
पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे विस्तृतमा जानकारी आउने उनले बताए।