नेपालमा बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश दुईमा प्रत्येक वर्ष ठूलै जनधनको क्षति हुने गरेको छ।
यद्यपि यो वर्ष अहिलेसम्म भएको वर्षाले तराईका नदीहरुमा वहाव खतराको घेराभन्दा तलै रहेकोले अहिलेलाई प्रदेश दुई सुरक्षित देखिएको छ। अहिले मौसमको सुरुआत मात्रै भएकोले अब आउने दिनमा नदीको बहाव बढ्दै गयो भने सबैभन्दा बढी प्रभावित प्रदेश दुई नै हुने छ। पछिल्ला वर्षहरुको तथ्यांकले समेत बाढीबाट सबैभन्दा बढी प्रदेश दुई प्रभावित रहँदै आएको देखाउँछ।
प्रदेश दुईमा गत दुई आर्थिक वर्षमा गरी बाढी तथा डुवानमा परेर ९२ जनाले ज्यान गुमाएको तथ्यांक प्रदेश दुई प्रहरी कार्यालयको छ। जसमध्ये सबैभन्दा बढी रौतहटमा ४३ जनाको ज्यान गएको थियो। त्यस्तै धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५ पर्सामा ६ र बारामा २ जनाको ज्यान गएको थियो।
गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश २मा कृषिमा मात्रै अढाई अर्ब भन्दा बढीको क्षति भएको थियो। प्रदेश दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत वर्षको बाढीले करिब १ अर्ब ५५ करोड बराबरको बाली क्षति भएको थियो। त्यस्तै पशुपंक्षीतर्फ १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।
प्रदेश दुईमा कुल ५ लाख ४७ हजार २२५ हेक्टर खेतीयोग्य जग्गा छ। बाढी तथा डुबानका कारण प्रदेशका ८ वटै जिल्लामा बाली तर्फ गत वर्ष ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्याङ्क छ। त्यस्तै पशुपंक्षी तर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको थियो।
प्रदेश दुई प्रहरी प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुवानबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि डुवान क्षेत्रलाई पहिचान गरी अहिले तयारी गरिएको बताउँछन्। उनले विपद व्यवस्थापनका लागि प्रदेश २का मुख्य नदीहरु कोशी, वाग्मती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको जानकारी दिए। सिंहका अनुसार विपद व्यवस्थापनका लागि आवश्यक १ करोड बराबरको सामाग्री प्रदेश सरकारले दिएको र थप २ वटा मोटर बोट खरिद गर्ने तयारी भइरहेको छ।
प्रदेश २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले विपदबाट हुने क्षतिको न्यूनीकरणका लागि अहिलेदेखि नै प्रदेश सरकारले तयारी थालेको दावी गरे। ‘विपद व्यवस्थापन सम्बन्धी सरकारले नीति तथा ऐन ल्याउनुका साथै नियमावली समेत बनाई सकेको छ’ मन्त्री यादवले भने ‘विपद व्यवस्थापनाका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाइरहेको छ।’ मानवीय क्षति कम गर्नका लागि वर्षको शुरुमै योजना बनाउने गरेको मन्त्री यादवले बताए।
मन्त्री यादवका अनुसार आठ वटै जिल्लाका सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि मोटर बोट, नाइनल बोट, रबर बोट, थ्रोओइंग ब्याग, ड्रोन क्यामेरा लगायतको सामाग्री हस्तान्तरण गरिएको छ।