हात्तीवनका सौरभ रिमाललाई जनावरको खुबै माया लाग्छ। पहिल्यैदेखि बेवारिसे गाई, कुकुर, बाँदरलाई खानेकुरा दिँदै हिँड्थे। पहिलो लकडाउनपछि भने उनी घरै बसेका थिए। मानिसहरू काम नभएपछि भोकै परेका समाचार सुन्न थाले। उनीहरूलाई मनकारीले सहयोग गरेको पनि थाहा पाए।
यसपछि उनी आफ्नो घरबाहिर निस्के र सर्सर्ती नियाले, उनले माया गर्ने जनावर पनि भोकभोकै रहेछन्। तिनलाई खाना दिनेहरू कोही थिएनन्।
सौरभ यो सबै हेरेर बस्न सकेनन्। घरमै खाना बनाए र टोल वरिपरिका कुकुरलाई बाँडे। मन भने शान्त भएन। काठमाडौंमा थुप्रै भोका जनावर भएको भन्दै उनले अन्त पनि जाने निधो गरे। एक जना भाइलाई लिएर घरभन्दा अलिपर रिङरोड हुँदै विस्तारै काठमाडौंका थुप्रै स्थान पुगेर खाना बाँड्न थाले।
'हामी मानिस आफूलाई भोक लागे वा अप्ठ्यारो परे भन्न सक्छौं। जनावरका लागि बोलिदिने कोही छैनन्,' ३४ वर्षीय सौरभले भने, 'त्यसैले तिनलाई खाना खुवाउने जिम्मेवारी लिएर अघि बढेका हौं।'
पहिलो लकडाउनदेखि सुरू भएको उनको यो काम आजसम्म रोकिएको छैन। एक वर्षमा उनले बाटोमा भोकै रहेका मानिस र जनावरलाई निरन्तर खाना खुवाइरहेका छन्।
सुरूमा खाना बाँड्न एक्लै हिँडे पनि अचेल सौरभसँग नौ जनाको टोली छ।
सौरभ आफूले गरेको कामको फोटो-भिडिओ सामाजिक सञ्जालमा हालिरहेका हुन्थे। उनको काम देखेर डल्ले रेस्टुरेन्टका आलोक योञ्जनले सहयोगको हात बढाए र खानाको जिम्मा लिए। अहिले रातोपुलस्थित डल्लेको मुख्य अफिसमा खाना पकाएर लगिन्छ। कुकुरका लागि मासुभात, बाँदर र गाईलाई फलफूल दिन्छन्। सिंहदरबार, पुतलीसडक, अनामनगर, बानेश्वर, गोंगबु बसपार्क, भृकुटीमण्डप र भक्तपुरको पेप्सीकोला क्षेत्र उनीहरूको मुख्य गन्तव्य हो।
'कोही साथी आफ्नै चिनजानको हुनुहुन्छ र कोही हाम्रो काम देखेर हात बढाउन आउनुहुन्छ,' सौरभले भने, 'सबैजना बाँडिएर हिँड्छौं र एकअर्कालाई काम सघाउँछौं।'
सडकका जनावरलाई खाना खुवाउँदा सबैले सरहाना भने गर्दैनन्। केही स्थानीयले फोहोर भएको गुनासो गर्ने सौरभ बताउँछन्। उनको टोलीले पत्रिका वा कागजको प्लेटमा खाना राखेर दिन्छन्। पछि सबै कागज बोरामा टिपेर उनीहरू आफैं लैजान्छन्।
'जनावर भोकै भइरहेको अवस्थामा खानाले गर्दा फोहोर हुने सोच्नु हुँदैन नि,' उनी भन्छन्, 'कुकुरले खाएर बाँकी भएको खाना पछि चरा आएर खाइहाल्छन्।'
सौरभ सानैदेखि जनावर प्रेमी थिए। सडकका जनावरको अवस्था देखेर तिनको व्यवस्थापनमा केही गर्ने मन हुन्थ्यो। अहिले यी भोका जनावरलाई खुवाउन पाउँदा निकै खुसी छन्।
'अहिले त यिनीहरूसँग एक किसिमको भावनात्मक सम्बन्ध गाँसिएको छ,' उनी भन्छन्, 'अहिले हामी सबैलाई चिन्छन्। हाम्रो गाडी आएको थाहा पाउने बित्तिकै टाढाबाट दौडिएर आउँछन्। यिनीहरूसँग यति नजिक भइसक्यौं, अब त खाना दिन नजाने भन्ने सोच पनि आउँदैन।'
पानी परेका बेला भने उनीहरू जनावर ओत लाग्ने ठाउँमै गएर खाना दिन्छन्। सौरभ र उनको टोली घामपानी नभनी हरेक दिन पूर्वतयारीका साथ खाना बाँड्न जान्छन्।
भारतको स्ट्राटफोर्ड विश्वविद्यालयबाट बिजनेस विषय अध्ययन गरेका सौरभको आफ्नै 'डिस्कभरी सिटी प्राइभेट लिमिटेड' नामक सूचना-प्रविधि कम्पनी छ। व्यवसाय क्षेत्रका विद्यार्थी भए पनि उनी सामाजिक कार्यमा पहिलेदेखि सक्रिय भएको बताउँछन्।
त्यसैले पहिलो लकडाउनदेखि अहिलेसम्म उनले खाना बाँड्ने काम रोकेका छैनन्। अफिसको काममा पनि ध्यान दिनुपर्ने भएकाले समय मिलाएर खाना बाँड्न जान्थे। दोस्रो लकडाउन हुनु दुई दिनअघि भने सौरभलाई कोरोना देखियो। १६ दिन आइसोलेसन बसे। खाना बाँड्ने सबै जिम्मा आफूले लिएकाले उनी नहुँदा बीचमा रोकियो।
'त्यसबेला मलाई निकै छट्पटी भएको थियो,' उनले भने, 'कहिले निको होला र जनावरलाई खुवाउन जान पाऊँला भन्ने सोच्थेँ।'
आइसोलेसन हुँदा खाना बाँड्न नपाए पनि उनले पछिको काम कसरी गर्ने भनेर योजना बनाइरहे। १७ औं दिनमा कोरोना नेगेटिभ आएपछि फेरि खाना लिएर निस्किए। कोरोनाले शरीर कमजोर बनाएको थियो तर पछि हटेनन्।
दोस्रो लकडाउनकै बीच एक साथीले सौरभलाई गोरखाको चेपाङ बस्तीमा खाद्यान्न अभाव भएको कुरा सुनाए। उनी आफ्नो टोलीसँग खाना र कपडा लिएर इच्छाकामना गाउँपालिकास्थित चेपाङ बस्ती पुगेर सहयोग गरे। काठमाडौं उपत्यकाभित्र मात्रै उनीहरूले अहिलेसम्म पाँच हजार बढी भोका मानिसलाई खाना खुवाइसकेका छन्।
'कसैलाई सहयोग अरूलाई देखाउन गरिने होइन, आफ्नो मनैबाट भावना आउनुपर्दो रहेछ,' सौरभ भन्छन्, 'सुरूका दिनमा सहयोग गर्न आउनुभएका कतिपयले एक-दुई दिन आएर वास्ता गर्नुभएन। तर पछि आउनुभएका साथीहरू आजसम्म मसँगै खाना बोकेर हिँड्नु हुन्छ।'
सौरभसँग जनावरलाई खाना खुवाउन आउनेमध्ये एक हुन् नितिनमणि राजभण्डारी। नितिनले सौरभलाई आफ्ना एक साथीमार्फत् चिनेका हुन्।
'लकडाउनमा केही काम थिएन। त्यतिबेलै सौरभलाई सहयोगी साथीको खाँचो परेको थाहा पाएँ,' नितिनले भने, 'एक-दुई दिन खाना बाँड्न आएँ। जनावरलाई खुवाउन पाउँदाको खुसी मैले यसअघि कहिल्यै अनुभव गरेको थिइनँ। अहिले सधैं आइरहेको छु। लकडाउन खुलेपछि पनि यो काम नछाड्ने सोच बनाइसकेँ।'
सौरभले पनि यो काम नछाड्ने सोच बनाएका छन्। अमेरिकामा रहेका नेपालीद्वारा स्थापित 'के फाउन्डेसन ग्लोबल'को सहयोगमा यो काम भइरहेको छ। फाउन्डेसनकै सहयोगमा बेवारिसे जनावर उद्धार र बालबालिकाको कल्याणमा लागिरहने सौरभले बताए।
'अरू थुप्रै व्यक्तिले पनि दिनदुःखी र जनावरलाई खाना खुवाइरहनुभएको छ,' उनी भन्छन्, 'यस्तो काम एक-दुई जनाले गरेर पुग्ने होइन। सबैले सहयोग गर्नुपर्छ।'
उनले थपे, 'रोग र भोग दुवैलाई मायाले जित्न सकिन्छ। त्यसैले आफ्नो वरिपरि भोका कोहीलाई अलिकति खान दिनसके उनीहरूको भोक मेटिन्छ। आफ्नो मनले पनि सन्तुष्टि पाउँछ।'