जैसीदेवलको साँघुरो कोठाझैं प्रमोद चौधरीको पेट भोकले खुम्चिएको छ। आफूसहित तीन जनाको परिवारलाई कसरी खुवाउने? हरेक बिहान-बेलुकाको चिन्ता हो उनको।
हामी उनको कोठा पुग्दाको साँझ भने उनी केही ढुक्क देखिन्थे। बिहानको अलिकति निस्तो भात रहेछ। चार जनाको भोक थुम्थुमिने देखेर ५५ वर्षीय प्रमोद आफैं थुम्थुमिएका थिए।
यो भात उनको कोठामा पाकेको भने होइन। उनीहरूको चुलो त बीस दिनदेखि बलेको छैन।
'बिहान एक जना चिनेका प्रहरीले खाना दिलाइ दिनुभयो। भरेलाई त खाना छ,' स्टिलको भाँडामा राखिएको भात देखाउँदा उनको अनुहारमा खुसी देखिन्थ्यो।
तर प्रमोदको यो खुसी भोलिपल्ट बिहान सपनाझैं भागेर जान्छ। अब फेरि छाक कसरी जोहो गर्ने भन्ने चिन्ताले गाँज्छ। त्यसमाथि छोरा र श्रीमतीका लागि पनि आफैंले खाना खोजेर, मागेरै ल्याउनुपर्छ उनले।
'उनीहरू हात थापेर खान लाज मान्छन्। काम गरेर खानेकुरा जोहो गर्न कामै छैन,' प्रमोदले भने, 'इलम गरेर खानेलाई कोरोनाले माग्ने बनायो। लाज मानेर के गर्नु?'
उनी छाक जुटाउन कहिले टंकेश्वरी पुग्छन् कहिले भद्रकाली। त्यहाँ मनकारीहरूले खाना बाँड्छन्। प्रमोदले आफ्ना लागि एउटा पोको खाना सजिलै पाउँछन्। छोरा र श्रीमतीका लागि ल्याउन मुश्किल पर्छ।
'कहिले दिन्छन् पनि। कहिले खानेलाई यहीँ पो ल्याउनुपर्छ भनेर फर्काइदिन्छन्,' उनले सुनाए।
प्रायः आफ्नो भागको एक पोको भात लिएर फर्कन्छन् उनी। तीन जनाले त्यही बाँडीचुँडी खान्छन्। काम गरेर टन्न खाने मान्छे, एक पोको भातले कति हुन्छ र! तर खपेरै बसेका छन् उनीहरू।
प्रमोदको घर बेत्तियाँ, भारत हो। उनी २०४५ सालमा नेपाल आएका हुन्। दुई छोरा र श्रीमतीसहित उनी जैसीदेवलमा डेरा गरेर बस्छन्। एक छोरी भने भारत घरमै बस्छिन्।
उनी काठमाडौं जिल्ला अदालत, बबरमहल अगाडि फलफूल काटेर बेच्थे। त्यसबाट दैनिक सात सयसम्म कमाइ हुन्थ्यो। दुवै छोराले चालकको काम पाएपछि प्रमोदको काँध हलुका भएको थियो।
'सुरूमा त मैले एक मोहरमा नरिवल बेचेको। धेरै दुःख थियो। मिठाइ बेच्न भोटेबहालबाट हिँडेर भक्तपुर पुग्थेँ। पछि छोराले कमाउने थालेर अलिकति सजिलो भयो,' प्रमोदले सम्झिए। छोराहरूले कमाउन थालेपछि नै जडौरी कपडा ओछ्याएर भुइँमा सुत्नुपर्ने बाध्यता हटेको उनी बताउँछन्। एउटा साँघुरो कोठाबाट दुइटा फराकिला कोठामा बस्न थालेका थिए, महिनाको आठ हजार भाडा थियो।
सबै ठिकठाक चलिरहेका बेला कोरोना महामारी सुरू भयो। त्यसयता उनीहरूका दुःखका दिन फर्केका छन्। यसपालि निषेधाज्ञा हुने हल्लापछि उनीहरूले एक बोरा चामल, दाल, तेल, नुन जोहो गरेका थिए। बचेको पैसाले एउटा सिलिन्डर ग्यास पनि किने। त्यो रासनले एक महिना धान्यो। कसैसँग हात फैलाउनु परेन। तर निषेधाज्ञा लम्बिँदै जाँदा रासन सकियो।
भोक खप्न मुश्किल हुँदै गएपछि प्रमोदले एकपटक टेलिभिजनको एउटा कार्यक्रममार्फत सहयोग मागे। दस किलो चामल, थोरै दाल, नुन, तेल सहयोग पाए पनि। त्यसले कति दिनको भोक टर्थ्यो र!
खानै समस्या भएपछि निषेधाज्ञा तोड्दै प्रमोद फलफूल बेच्न निस्किएका थिए। राख्न दिएन। बेचेर साहुलाई पैसा दिने शर्तमा लिएको फलफूल बेच्न नपाएपछि उनीहरू आफैंले खाए, 'मेरो भात खाने बाटो यही हो भन्दा पनि सुन्दै सुन्दैनन्। राख्नै दिएनन् के गर्नु!'
केही आधार नभेटेपछि प्रमोदले भारत फर्किने सोचेका थिए। सोचेर पुग्ने भए पो!
'घर फर्किन टिकट मिल्छ कि भनेर बुझ्न निस्किएँ,' प्रमोद भन्छन्, 'टिकट काट्ने पैसा भए त भोक सहेर किन बस्नुपर्थ्यो? रित्तो खल्ती छामेर चुपचाप फर्किएँ।'
अघिल्लो लकडाउनमा भोक खप्न नसकेर उनीहरू ऋण काढेर भारत फर्किएका थिए। उता प्रमोदका दाइभाउजूले खान-बस्न सहयोग गरे। अवस्था सामान्य हुँदै गएपछि काठमाडौं फर्किए। नौ महिनादेखिको कोठाभाडा ऋणपान गरेर बुझाए।
भाडा महँगो भएपछि उनीहरूले जैसीदेवलमै महिनामा पाँच हजार तिर्नपर्ने दुइटा स–साना कोठा खोजे। काम सहज हुन थालेकै थिएन, दोस्रो निषेधाज्ञा भइहाल्यो।
'अलिअलि काम होला कि भन्ने बेलामा फेरि लकडाउन भयो। पहिले कोठाभाडाका लागि लिएको ऋण तिर्नै सकेको छैन। अब भाडा के गर्ने हो,' प्रमोदकी श्रीमती आरतीले भनिन्, 'छोराहरूले अलि समय काम गर्न पाएको भए त यस्तो दुःख हुने थिएन।'
उनीहरूका कान्छा छोरा आकाश कीर्तिपुर यातायातको गाडी चलाउँछन्। सार्वजनिक यातायात नखुलेसम्म उनको कामको टुंगो छैन। खुलिहाले पनि पुरानै साहुकहाँ काम पाउने हो कि होइन। त्यसमाथि तलब पकाउन महिना दिन खट्नुपर्छ। निर्माण सामग्री लिएर गोरखा पुगेका जेठा छोरा विकास पहिरोका कारण उतै रोकिएका आकाशले बताए।
'दाइको काम त अब सुरू हुने बेला हो। तर आफैं फसेर बस्नुभएको छ,' उनले भने, 'अहिले हामीलाई जताततैबाट अप्ठ्यारो मात्रै छ।'
सानैदेखि अप्ठ्यारो झेल्दै आएको प्रमोदका परिवारका लागि दुःख नयाँ त होइन। तर यसरी लामो समय भोक खपेर बस्नुपरेको भने थिएन। बरू आर्थिक अभावकै कारण दाइ र आफूले पढाइ छाडेको आकाशले सम्झिए, 'बुबा यही जैसीदेवल बस्दा पाँच तले घरबाट लड्नुभएको थियो। बुबाले काम गर्न नसकेपछि हामीले पढ्न सकेनौं।'
त्यो बेला प्रमोदको दाइने खुट्टा र हात भाँचिएको थियो। उपचार गराउन पैसा भएन। भारतमै दाइभाउजूले उपचार गरिदिने भनेर बोलाएपछि त्यतै गएका थिए। सामान्य अवस्थामा फर्किन दुई वर्ष लाग्यो। यही समयमा छोराहरूले पढाइ छाडेर सहचालक काम थाले।
'खलासी काम गर्दागर्दै ड्राइभिङ सिकेर यतातिर थालेको। कमाइले खान पुर्याइन्थ्यो। तर कोरोनाले काम गइहाल्यो। भोकै बस्नुपर्ने भयो,' आकाशले कोठाको भान्सातिर हेर्दै भने।