डोटीका नौवटै स्थानीय तहमा सडक पुर्याउने नाममा यहाँका गाउँघरमा जथाभावी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ।
पछिल्लो समय भइरहेको वर्षातले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन्।
डोजर अपरेटरका सनकका भरमा जथाभावी सडकको ट्रयाक खन्दा पहिराको जोखिम बढेको स्थानीयबासीको आरोप छ। विगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पुर्याउने नेताले गरेका बाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ।
जथाभावी खनिएका सडकले विकासभन्दा पनि विनाश बढाएको भन्दै यहाँका स्थानीयबासी आक्रोसित बन्न थालेका छन्।
गाउँ-गाउँमा सडक पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्ती नै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए।
उनले भने,‘नामका सडक मात्रै भए कामका कोही सडक भएनन्, मनपरि खनिएका सडकले अहिले पहिरा आउन थाल्यो।’
लाखौं रकम खर्च गरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षातको समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तीसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताए।
उनले भने,‘जथाभावी डोजर प्रयोग गरेर विना अध्ययन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिन नै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिरा भएका छन्, अब कसरी गाडी चल्छन्।’
जिल्लाका ग्रमीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोस्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ।
यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरूद्ध भएका छन्।
पानीले सडकभरमा पहिरा आउनुका साथै सडकनै बगाएर चिरा चिरा बनाएको स्थानीयबासी बताउँछन्।
सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्सा बिना डोजर अपरेटरको डिजाइन र नक्सांकनले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन्।
सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरा आउदा सडक बन्द भएका छन्।
यसरी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका-५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताए।
उनले भने, ‘सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ति मात्रै जोखिम बनायो।’
जिल्लामा निर्माण गरिएका मापदण्ड बिनाका सडक खारेज हुनु पर्ने यहाँका नागरिकको माग रहेको छ।
यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरीएका सडकको सर्वेक्षण आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका सडक प्रविधिकको आरोप छ।
यहाँका सडकबस्ती माथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए।
प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उनले आरोप लगाए।रासस