'अरूहरूले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन्। अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन। नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरू भने धेरै भेटिन्छन्,' कुराकानीको सुरूआत नै यसरी भयो।
पाइलटको एउटा परिवार। सुरूमा पिता अनि तीन छोरा पनि बुबालाई पछ्याउँदै पाइलट। यस्तो संयोग पनि कमै जुर्छ होला। तेस्रो पुस्तालाई समेत सोही पेसामा लगाउने सोच छ त्यो परिवारको।
यो पाइलट परिवारले झन्डै ६५ हजार घन्टा विमान उडाएको रेकर्ड बनाएको छ। नेपाल वायुसेवा निगमको कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार।
धनकुटाबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको रिजाल परिवारका दोस्रो पुस्ताका जेठो सदस्य हुन् सुवास रिजाल। पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए। उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहेका छन्। उनका पाइलट छोराहरू पनि वरिष्ठ भइसके।
कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो निगमको नाम। शाही नेपाल वायुसेवा निगमबाट सुरू भएको यात्रा नेपाल वायुसेवासम्म आइपुग्दा झनै खस्किएको छ। विदेशी एयरलाइन्सको धमाधम कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ।
देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौं उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन्। पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ। निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिँदैन भन्ने मान्यताले काम गरेको छ। जसले हुँदैन र सकिँदैन भन्छन् उनीहरूलाई निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ।
नेपालको हवाई उड्डयन व्यवसाय ९५ अर्बभन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाको कुल हिस्सा २० देखि २५ अर्ब मात्र छ। हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हासिल गर्न सकिने सकारात्मक मत पनि छ।
निगमका वरिष्ठ पाइलट रहेका सुवास भन्छन्, 'उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनुभएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौं। हामीमा आँट छ, गर्ने ल्याकत पनि छ।'
सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा सुरू भएको थियो। सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान सुरू भएको थियो। सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर थिए। त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो। नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो।
अवस्था भने ठिक विपरीत भएर गएको छ। आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ। भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस्। निजी विमान कम्पनीले धमाधम उडान भरिरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त? सुवासको टिप्पणी छ, 'यो पनि सकिँदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ। यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ। हामी सम्भव बनाउन सक्छौँ।'
'जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन। बरू राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो', वरिष्ठ क्याप्टेन सुवासले भने, 'जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उँभो लाग्छ।'
गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ। खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यावसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ। विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन।
सुवासको भनाइ छ, 'जे हुँदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ। निगम पनि अन्य व्यावसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ। प्रतिस्पर्धी बनाउन सकिन्छ।' हुन पनि हो। काम गर्दाभन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस्? अहिले निगममा भएको पनि त्यही हो। सायद यसैले हुनसक्छ उनको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा।
कोरोनाको विपदमा उद्धार गर्नुपर्दा निगमको जहाज चाहिएको छ। स्वास्थ्य सामग्री ल्याउनुपरेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यावसायिक बनाऔं भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उनको गुनासो छ। किनकि, त्यहाँ जवाफदेही हुनुपर्छ। निगम बनाउँछु भनेर आएका एकाधबाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ।
'आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्' नेपाली समाजमा यो भनाइ लोकप्रिय छ। कुनै पनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ।
निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ। बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहेका थिए। बुबा पाइलट भइहाले अब छोरो डाक्टर बनोस् भन्ने भए पनि परिस्थितिले पाइलट नै बनाइदियो। पिता गंगाप्रसादका तीन भाइ छोरा नै पाइलट बने।
बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका गए। यो सन् १९८८ मा उनी त्यहाँ पुगेर करीब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गरे र व्यावसायिक पाइलट बनेर फर्किए। उनले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आएका थिए तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन्। त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन।
जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्नुहुन्छ, सुवास। बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुआती दिनहरुको स्मरण उनी यसरी गर्छन्।
संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो। मरिचमानले विस्तारमा सुवासहरुको कुरा सुने। उनलाई भेटेको केही समय लगत्तै सुवासलाई रोजगारीको खबर आयो।
नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहेका छन्। उनले आफ्नै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएका छन् । सन् १९६७ मा पाइलट बनेका गंगाप्रसाद, सन् २००३ मा अवकाश भए।
कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाइ पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ। भाइ श्रवणसँगै सुवास एअरबस ३२० उडाउँछन्। अहिले भाइ एअरबस ३३० मा छन् भने सुवास ३२० मा प्रशिक्षक पाइलट हुन्। केही वर्ष पहिले तीनै जना दाजुभाइ एअरबस ३२० उडाउँथे।
क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट। बुबाले झण्डै १८ हजार घण्टाभन्दा बढी उडाए। सुवास भन्छन्, 'मेरो नै २१ हजार घण्टा माथि पुग्यो। भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो। यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको छ।'
विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन्। चारै जना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ। एउटै संस्थामा लामो समयसम्म आबद्ध भएर बसेको पनि लामो नै भएको छ।
'पिताजी ८० पुग्नुभएको छैन। म ५३ वर्ष भएँ। भाइहरू मभन्दा चार वर्ष कान्छा छन्,' सुवासले पारिवारिक पृष्ठभूमि बताए। माइला सुदीप पनि केही पहिले निगमको पाइलट थिए। अहिले उनी संयुक्त राष्ट्रसङ्घमा कार्यरत छन्।
विराटनगर–४ बरगाछी स्थायी ठेगाना भए पनि रिजाल परिवार काठमाडौंमा नै बस्यो। सुवासमात्रै विराटनगरमै जन्मिए हुन्। सुदीप र श्रवण काठमाडौंमै जन्मिए। सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेका हुन्।
सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा पढे। खासमा सुदीप र श्रवण पाइलट बन्न खोजेका थिएनन् तर पछि उनीहरू पनि अन्तिममा पाइलट बन्न पुगे। सुदीप–श्रवणले इन्जिनियरिङ पढेका हुन्। त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो। श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो।
इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी सुरू भयो। तर केही गर्दा पनि पाउन सकिएन। काम गर्ने ठाँउ नै पाउन सकिएन। के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो। पाइलट कोर्सका लागि अमेरिका गए।
बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउँथेँ भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै थिए। सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर खुलेको थियो। बाबु र तीन भाइ छोरा सबै निगमको नै जागिरे पाइलट थिए।
सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित थिए। दाजुभाइ नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदोरहेछ त? 'अरूजस्तै सामान्य' सुवासको छोटो उत्तर थियो। झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै छन्। प्रायः एकैसाथ उडेका छौँ। दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन।
उनलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्छ। एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यावसायिक पाइलटको सम्बन्ध? कुन बढी देखिन्छ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग। उनले भने, 'दाजुभाइभन्दा पनि साथी जस्तो लाग्छ मलाई। उडेपछि हामी साथीभाइ।' श्रवणको पनि उस्तै भनाइ छ, 'ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुँदैन।'
नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग। यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि। रूम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो। जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उनीसँग। रुम्जाटारै फर्किन पनि सकिएन। काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो।
उनीहरूसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो। त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो। मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ।
'उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो। आकाशमा समस्या हुन्छ नै अमेरिकाको अलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ,' सुवासको भनाइ छ।
एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुन् सुवास। अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै गएका थिए। त्यहाँ अवतरण गरेको केही समयमै विमानस्थलको एक भागमा बम विष्फोट भएको थियो। यस्ता दर्जनौँ उदाहरण छन् उनीहरूसँग।
सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो। त्यसपछि नेपाल वायुसेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो। रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गरेका छन्।
विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पुर्याउने श्रेय सुवासको नाममा छ। व्यावसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिए पनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्छन्।
निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए। पूर्व सचिव सुशील घिमिरे दोहोर्याएर अध्यक्ष बने। मदन खरेल पनि दोहोर्यार कमान सम्हाल्न पुगे तर अवस्था जहाँको त्यहीँ छ। उनीहरू दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिँडे। निगमलाई बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशीर्वाद, बधाई र सफलताका शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ। यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई माया गर्नेहरु पटक पटक मर्माहत हुनुपरेको वरिष्ठ क्याप्टेन सुवासले बताए।
आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चार वटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला ? धेरैको जिज्ञासा छ। वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ। त्यस्तो आँटका लागि प्लान चाहिन्छ। टिम पनि चाहिन्छ। विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन।
नयाँ सोचका साथ काम गर्नैपर्छ। निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन ?
तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिए। 'निगमलाई धेरै सुधार गर्न सकिन्छ। छ महिनामा परिणाम दिन सकिन्छ। निगमभित्रका तमाम विकृति पनि हटाउन सकिन्छ। दर्जनभन्दा बढी जहाज पनि किन्न सकिन्छ। गन्तव्य पनि विस्तार गर्न सकिन्छ। नसकिने भन्ने केही पनि छैन। सबै सम्भव छ। गर्न सकिन्छ,' उनले भने।
त्यो काम हामी गर्न सक्छौँ। कुराकानीको बिट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भने, 'एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ। निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ। किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ। मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन।'