लीला लिम्बू (नाम परिवर्तन) लाई एकदिन अपरिचित पुरुषबाट फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' आयो। उनले 'एसेप्ट' गरिन्। उनीहरूबीच कुराकानी चल्न थाल्यो। फेसबुकबाटै एकअर्कालाई साथी मान्न थाले।
ती व्यक्ति धनकुटाका किसान राई रहेछन्। म्यासेन्जरमै चिनजान भइसकेपछि लीलाले आफ्ना सुखदुःखका सबै कुरा किसानलाई सुनाउन थालिन्। ३८ वर्षीया लीलाको गाउँमै बंगुर फार्म थियो। उनले किसानलाई आफ्नो कामबारे पनि सबै बताइन्।
'उसले मलाई तपाईं जस्तो मान्छे सानोतिनो काम गरेर किन बस्ने? बरू विदेश जानु राम्रो कमाइ हुन्छ। म साथीहरूसँग मिलेर मानिसहरूलाई कम्बोडिया पठाउने काम गर्छु, धेरैलाई पठाइसकेँ। राम्रो कमाइ गरिराखेका छन् भनेर सुनाए,' किसानका भनाइ उद्धृत गर्दै लीलाले प्रहरीसँगको बयानमा भनेकी छन्।
किसानले लीलालाई निर्माण तथा व्यापारमा राम्रो रोजगार अवसर भएको बताए। स्टोर-किपरको काममा अवसर भएकाले त्यहाँ लगाइदिने आश्वासन दिए। आफूले कम्बोडिया पठाएकाहरूले महिनामा तीन लाखसम्म बचाएर घर पठाइरहेको भन्दै लीलालाई प्रलोभन देखाए।
धेरै मेहनत गर्दा लीलाले फार्मबाट पनि राम्रै आम्दानी गरिरहेकी थिइन्। तर कम्बोडियामा सजिलो कामबाटै टन्न कमाइ हुने सुनेपछि लोभिइन्। अनि जान तयार भइन्।
लीलाका अनुसार त्यहाँ जान भिसा तथा टिकट शुल्क चार लाख पचास हजार लाग्ने भनियो। किसान र उनका अर्का साथीले लीलालाई भिसा लगाइ सबै प्रक्रिया पूरा गरी पठाउने भने। कम्बोडियामा साथीहरूले 'रिसिभ' गरी सबै व्यवस्था मिलाउने, अप्ठ्यारो परे आफैंले कम्बोडिया पुर्याउने आश्वासन दिए। त्यस्तै खाने-बस्ने व्यवस्था गरी कामसमेत उनीहरूले नै लगाइदिने भएपछि लीला ढुक्क भइन्। पठाउन नसके वा भनेअनुसार काम नपाएर फर्किनु परे ब्याजसहित सबै रकम फिर्ता गर्ने बाचा गर्दै लीलाको विश्वास जिते।
लीलालाई विश्वासमा पारेपछि किसानले २०७६ चैतमा भिसा प्रक्रियाका लागि छिटो रकम बुझाउन सुझाए।
'जति चाँडो रकम जम्मा हुन्छ त्यति नै छिटो काम हुन्छ, राहदानी र फोटो लिएर गोंगबुको गेस्ट हाउस आउनु भनेपछि म गएँ। अनि किसानलाई दुई लाख पचास हजार नगदै बुझाएँ,' लीलाले प्रहरीसँग भनेकी छन्।
थप दुई लाख रूपैयाँ केही दिनपछि गाउँ फर्किएर किसान राईका नाममा आइएमइ गरिदिइन्।
रकम बुझाइसकेपछि किसानले उनका कम्बोडियामा रहेका भनिएका साथीसँग इमो र मेसेन्जरमा जोडिदिए। लीलाले उनीहरूसँग थप कुरा गरिन्। उनीहरूले राम्रो कमाइ हुने काम मिलाइदिने बताए।
उनीहरूले सबै बन्दोबस्त मिलाइ दिने भनेपछि लीला ढुक्कले कम्बोडिया हिँडिन्। भारत हुँदै कम्बोडिया पुर्याइने बताइएको थियो। नेपालबाट भारतसम्म छाड्न किसानका अर्का साथी थिए। काकडभिट्टा, आसाम, नागाल्यान्ड, ग्वाटी हुँदै मनिपुर पुगे। मनिपुरबाट पैदल हिँडेर भारत-म्यानमारको नाका हुँदै म्यानमार पुर्याइयो। त्यसपछि उनी थाइल्यान्डबाट कम्बोडिया उडिन्।
कम्बोडियाको एयरपोर्टमा किसानले चिनेका एक व्यक्ति लीलालाई लिन आएका थिए। ती व्यक्तिले नोमपेन भन्ने ठाउँको एउटा घरमा पुर्याए। स्टोर-किपरको काम भनेर लगिए थियो, उनले त्यो घरको काम गर्नुपर्ने भयो।
लीलालाई राम्रो काम दिलाइदिने आश्वासन दिएका किसानका साथीहरू त्यही घर छेउ बस्थे। लीलाको उनीहरूसँग भेटघाट भइरहन्थ्यो। जे भए पनि उनले काम गरिरहिन्। तर चार महिनासम्म तलब नपाएपछि त्यो समस्या किसानका तिनै साथीहरूलाई सुनाइन्।
उनीहरूले त्यहाँको तलब दिलाइदिने भन्दै लीलालाई अर्को घरमा सारे।
'घरकै काम हो। यहाँभन्दा तलब राम्रो छ र समयमै दिन्छ भनेर उनीहरूले मलाई चाइनिजको घरमा काम गर्न पठाए,' उनले जाहेरीमा उल्लेख गरेकी छन्।
लीलाका अनुसार त्यो घरमा चार जना पुरुष मात्रै थिए। लीलालाई उनीहरू घरको सबै काम लगाउँथे। त्यसपछि सबैले पालैपालो यौन दुर्व्यवहार गर्थे।
'मैले पटक पटक रोइकराइ गरेर घर फर्काइदिनू भन्दा पनि कसैले मेरो कुरा सुनेनन्। यौन सम्पर्क गर्न नमान्दा तिनीहरू मलाई जबजर्स्ती गर्थे,' लीलाले प्रहरीसँगको बयानमा भनेकी छन्, 'मैले १५ दिनसम्म त्यो घरमा मानसिक र शारीरिक यातना खेप्नुपर्यो।'
लीला घरबाट बाहिर निस्किन पाउँथिनन्। ती चार पुरुषले उनलाई बन्धक बनाएर यौन शोषण गरिरहे। किसानका साथीलाई फोन गरेर आफूमाथि दुर्व्यवहार भएको जानकारी गराउँदा उनीहरूले बेवास्ता गरेको लीलाले बताइन्।
फेसबुकमा चिनजान भएको मान्छेको विश्वास गर्दा लीला नारकीय जीवन बिताउन बाध्य थिइन्। उनलाई पछुतो भइरहेको थियो।
उनी काम गर्ने घरमा एकदिन एक जना पुरुष मात्रै थिए। लीलाले त्यही मौका पारेर ढोका बाहिरबाट चुकुल लगाइदिइन्। त्यहाँबाट भागेर किसानका साथीहरू भएको ठाउँमा पुगिन्। उनले आफूलाई राम्रो कामको प्रलोभन देखाएर 'बिक्री' गरेकाले प्रहरीमा उजुरी गर्ने सुनाइन्। ती व्यक्तिहरूले कम्बोडिया जाँदा लिएको सबै रकम तिर्ने र काम गरेको पैसा पनि दिलाउने आश्वासन दिलाए। प्रहरीमा खबर नगर्न आग्रह गरे। तर केही समयपछि उनीहरू सम्पर्कबिहिन भए।
लीलाले न कम्बोडिया जाँदा तिरेको रकम पाइन् न तलब। त्यसपछि अलपत्र परेकी उनी गैरआवासीय संघ (एनआरएनए) को सहयोगमा नेपाल फर्किइन् र मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी हुन्।
'चिनियाँ नागरिकहरूको घरको काम भनी झुक्याएर आफूलाई यौन दासीका रूपमा बिक्री गरेको' भन्दै लीलाले दिएको जाहेरीका आधारमा धनकुटा, सहिदभूमि गाउँपालिका-२ का ३७ वर्षीय किसान राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। ब्युरो टोलीले असार १२ गते उनको घरबाटै पक्राउ गरेको हो। यसबारे जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
पछिल्लो समय रोजगारी प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारका घटना बढेको पाइएकाले सबै सचेत हुनुपर्ने ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।
'नेपालमा बेरोजगारी समस्या बढेका कारण पनि राम्रो काम र कमाइको लोभमा युवाहरू बेचिने क्रम बढेको छ। बेचबिखन रोक्न तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याउन हामी सक्दो पहल गरिरहेका छौं,' उनले सेतोपाटीसँग भनिन्।