काठमाडौंबाट वीरगन्ज पुगेका एक पुरूषको हत्या भएको छ।
हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। काठमाडौं गोंगबुका २९ वर्षीय सुजन पाख्रिनको हत्या भएको हो।
बिहीबार बिहान करिब ३ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए। शव फेला परेपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो।
सुजन सर्लाही जाँदै थिए। उनीसँगै काठमाडौंबाट अरू दुई जना साथीहरू पनि गएका थिए।
राहुल महर्जनले सुजन आउँदै गरेको थाहा पाएपछि उनीहरूलाई वीरगन्ज बोलाए। सुजन जग्गाको काम र लाइसेन्स नवीकरण गर्न काठमाडौंबाट हिँडेका थिए।
राहुलले बोलाएपछि उनीहरू वीरगन्ज पुगे। राहुलका अरू साथीहरू पनि सँगै थिए। वीरगन्ज पुगेर अघिल्लो रात उनीहरू सबै जना बसेर बियर खाएका थिए।
तर त्यसको भोलिपल्ट बिहान करिब ३ बजे सुजनको शव भेटियो।
प्रहरीले हत्या आरोपमा राहुल, बिक्की भन्ने दीप लामा र धनजय रजकलाई पक्राउ गरेको छ। अर्का एक जना भने फरार छन्।
प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार उनीहरूले योजना बनाएर लुटपाट गरी हत्या गरेका थिए। पक्राउ पर्नेहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको उनले बताए।
'अघिल्लो रात सँगै बसेर रक्सी खानुपर्छ भनेर राहुलले मृतकलाई बोलाएका रहेछन्। अनि राहुलले अब यतै बस, राति भनेर घरमा राखेछन्। अरू साथीहरू पनि चिनाएछन्,' पाण्डेले भने,' अबेरसम्म बियर खाए र सकेपछि करिब १२-१ बजे बियर किन्न भन्दै फरार रहेका व्यक्तिले सुजनलाई मोटरसाइकलमा लिएर बाहिर लगेछन्।'
तर उनीहरू लामो समयसम्म फर्किएनन्। नफर्किएपछि सुजनसँग आएका अरू दुई जना साथीहरू ट्याक्सी लिएर घुम्न भनी निस्किए।
'उनीहरू घुम्न निस्किएपछि सुजनको हत्या गरेको देखिन्छ,' पाण्डेले भने।
उनका अनुसार सुजनको घाँटी थिचेर हत्या भएको थियो।
उनीहरूले सुजनको सुनको औंठी र सिक्री लुटेर भागेका थिए। त्यस्तै सुजनसँग भएका केही नगद पनि उनीहरूले लुटेका थिए। अहिले प्रहरीले सुनको सिक्री बरामद गरेको छ।
काठमाडौंबाट गएका सुजनका साथीहरूलाई पनि प्रहरीले अनुसन्धानको लागि सम्पर्कमै राखेको प्रहरी नायब उपरीक्षक खनालले बताए।
पोष्टमार्टमको लागि प्रहरीले शव नारायणी अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।