बाढीपहिराको जोखिममा परेको हिमाली जिल्ला मनाङ विगत डेढ महिनादेखि सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद छ। मनसुन सक्रिय हुनुअगावैदेखि बाढीले पुल बगाउँदा मनाङ सडक सञ्जालबाट विच्छेद छ।
असार लागेसँगै बाढीपहिराले सडकदेखि बजार र बस्तीमा समेत क्षति पुग्दा सडक सञ्जालबाट टाढिएको छ।
वर्षा न्यून भएपछि सडक सञ्जाल मर्मतको काम थालिएको छ। मनाङलाई दसैंसम्म सडक सञ्जालसँग जोड्ने प्रयास भइरहे पनि त्यति सहज भने छैन।
सडक सञ्जालबाट विच्छेद हुँदा यहाँका नागरिकलाई राहत पुर्याउन र अत्यावश्यक सेवाका लागि आवतजावत गर्न नसकिएको स्थानीयबासीको भनाइ छ।
सडक सञ्जालबाट टाढिएपछि आवतजावत र अत्यावश्यक सामग्री ढुवानीका लागि हवाई मार्गबाहेक अन्य विकल्प नै छैन तर, बाढीपहिराले क्षतिग्रस्त पैदल हिँड्डुलसमेत रोकिएको अवस्थामा विमानस्थल उपयोग गर्नसमेत पाएनन्। विपदमा सहज बनाउने विमानस्थलतर्फ कसैको चासो पुगेन।
विमानस्थल सञ्चालनमा नहुँदा हेलिकप्टर चार्टर गरेर महँगोमा दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आए पनि हवाई सेवा सञ्चालन गरी एकैपटक धेरै परिमाणमा उपभोग्य वस्तु ल्याउनसमेत कसैको ध्यान पुग्न सकेको छैन।
राज्यले समेत विपदमा विमानस्थल सञ्चालन गरी जहाजमार्फत् सामान ढुवानी गराएर सहज बनाउने विकल्पतर्फ ध्यान दिन नसकेको पर्यटन व्यवसायी विनोद गुरूङले बताए।
अप्ठ्यारो अवस्थामा विमानस्थलसमेत उपयोग गर्ने ध्यान नपुर्याउँदा दुखित बनाएको उनको भनाइ छ।
समुद्री सतहदेखि ११ हजार १४५ फिट उचाइमा हुम्दे विमास्थल छ। विमानस्थलभन्दा माथिल्लो क्षेत्रले जिल्लाको करिब आधा जनसङ्ख्याले यो अवस्थामा सहजै लाभान्वित हुने भए पनि उपयोग नहुँदा नागरिकको दैनिकी कठिनपूर्ण बन्दै गएको गुरूङले बताइ।
‘गाडी नै नचलेको दुई महिना कटिसक्यो। अझै केही महिना मनाङमा गाडी चल्ने अवस्था देखिएको छैन। यस्तो अवस्थामा भएको एकमात्र विमानस्थल प्रयोगमा ल्याउनतर्फ चासो देखाउनुपर्ने हो’, उनले भने, ‘विमानस्थल प्रयोगमा ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले चासो दिएका छैनन्।’
हाल मनाङमा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको अभाव छ। कतिपय दाताले महँगोमा हेलिकप्टर चार्टर गरेर राहतका सामग्री पुर्याइरहेका छन्।
यस्तो अवस्थामा जहाजको उडान भएको भए केही सस्तोमा सामान ढुवानी हुने थियो तर, त्योबारेमा कसैले चासो नदिएको स्थानीयबासी याङदुङ गुरूङले बताए।
‘पोखराबाट हेलिकप्टरमा सामान ढुवानी गर्दा प्रतिकिलो रु २५० पर्छ, हेलिकप्टरले एकैपटक धेरै तौल बोक्न पनि सक्दैन’, उनले भने, ‘यो अवस्थामा जहाजमा सामान ल्याउन सकेको भए केही सस्तो पर्ने थियो, जहाजले एकैपटक धेरै तौल पनि बोक्ने हुँदा सस्तो पर्न जान्थ्यो।’
खाद्यान्न ल्याउनुबाहेक जहाज चलेमा बिरामीलाई उपचारमा पनि केही सहज हुने उनको भनाइ छ।
यहाँका मानिस बिरामी परे महँगोमा हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको उनले बताए।
अप्ठ्यारोमा पनि भएका पूर्वाधार उपयोग गर्न मनाङबासी चिन्तित छन्। यसअघि पनि बारम्बार मनाङमा नियमित उडान गर्न भनेर राज्यका निकायमा ताकेता गरे पनि सुनुवाइ नभएको उनको भननाइ छ।
‘पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरी खच्चडको प्रयोग गरेर सामान ल्याउने गरेका छौं, गाडीमार्फत् ल्याउँदा प्रतिकिलो रु १० ढुवानी गर्न सक्ने भए पनि खच्चडको माध्यमबाट ल्याउँदा रु ४० पर्छ’, याङदुङले भने।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पर्यटन मन्त्रालयलाई विमानस्थल चालू गर्न सकिनेबारे पत्र पठाएको छ तर, त्यसबारेमा खासै प्रगति भएको पाइएन।
विमानस्थल भएको हुम्देबाट सदरमुकाम चामे पैदल करिब छ घण्टाको दूरीमा छ। चामे र हुम्देबीच पनि बाटो पहिराले लगेको छ तर, तल्लो भेगमा भन्दा माथिल्लो भेगमा क्षति कम छ।रासस