सुन्दरीजलस्थित सुन्ताखानको पारिभित्ता जंगलछेउ जस्तापाताले बारिएका टहराहरू छन्। टहरासम्म पुग्न खोलाछेउको अप्ठ्यारो बाटो हिँड्नुपर्छ।
जति नजिक पुगिन्छ, टहराबाट कुकुरहरू भुकेको आवाज उति चर्को सुनिन्छ। टहराबाहिर चरिरहेका गोरूहरू पनि कराउन थाल्छन्।
झट्ट सुन्दा पशु फार्मजस्तो लाग्ने यो ठाउँ 'स्रिज एनिमल रेस्क्यू नेपाल' हो। यहाँ सडकमा छाडिएका, घाइते तथा नाजुक स्थितिमा रहेका कुकुर उद्धार गरेर राखिन्छ।
स्रिज एनिमल रेस्क्यूकी सञ्चालक सिर्जना ठकुरी हरेक दिउँसो एक बजेतिर यी कुकुरलाई खाना खुवाउन बौद्धस्थित आफ्नो कोठाबाट हतारहतार यहाँ आइपुग्छिन्। आउनेबित्तिकै सबै कुकुर हतारिँदै उनीसँग झुम्मिन्छन्।
सिर्जना पुग्दा त्यहाँ रेखदेख गर्ने कर्मचारीले कुकुरका लागि खाना पकाएर ठिक्क पारेका हुन्छन्। त्यही खाना सिर्जना आफैंले सबै कुकुरलाई एकएक गरी खुवाउँछिन्।
'म भइनँ भने कुकुरहरू खानै खाँदैनन्,' ४६ वर्षीया सिर्जनाले सेतोपाटीसँग भनिन्, 'मलाई पनि अरूले खाना दिँदा सबै कुकुरले पाउँदैनन् कि भन्ने चिन्ता लाग्छ। त्यसैले आफ्नै हातले खुवाएपछि मात्र मन शान्त हुन्छ।'
सिर्जना जनावरलाई एकदमै प्रेम गर्छिन्। करिब छ वर्षदेखि बाटोमा बिचल्ली परेका कुकुरको उद्धारमा लागिपरेकी छन्। गाडीले किचिदिएर, तेजाब हालिदिएर, आँखा निकालिदिएर, तातोपानी खन्याइदिएर बिजोग अवस्थामा सडकमा लडेका कुकुरलाई उनी आफूसँग ल्याउँछिन्। उपचार गर्छिन् र पाल्छिन्।
उनले दुई वर्षअघि यो रेस्क्यू सेन्टर सञ्चालन गरेकी हुन्। यसलाई उनी आफ्नो संस्थाभन्दा कुकुरहरूको अनाथाश्रम भन्न रूचाउँछिन्। यहाँ उनले करिब दुई सय पचासभन्दा बढी कुकुर र दुइटा गोरू पालिरहेकी छन्।
सिर्जनालाई सानैदेखि कुकुरहरू साह्रै मनपर्थ्यो। उनको माइतीघर बानेश्वर चोकैमा थियो। धेरैपटक बाटोमा गाडीले कुकुरलाई किचेको देख्थिन्। एकपटक उनको आफ्नै कुकुर बाहिर भएका बेला कसैले खुकुरीले अगाडिको खुट्टा काटिदिएछ। उनले जतिसक्दो कुकुरको उपचार आफैं गरिन्।
'त्यसपछि जति कुकुर घाइते भएको देखेँ, ती सबैलाई घरमा ल्याउँदै उपचार गर्न थालेँ,' सिर्जनाले भनिन्, 'कुकुरप्रति माया झन्-झन् पलाउन थाल्यो। मैले आमालाई पढाइ छाडेर कुकुर मात्रै पालेर बस्छु समेत भनेकी थिएँ।'
उनकी आमा पनि जनावरलाई खुबै माया गर्थिन्। सिर्जनाले घरभरी कुकुर ल्याएर राख्दा पनि केही भनिनन्। उल्टै कुकुरका लागि बिहान-बेलुकी खाना पकाउँथिन्। खुवाउँथिन्। आमाबाटै प्रेरित भएर आज कसैको कुरा नसुनी जनावर उद्धारमा लागेको सिर्जना बताउँछिन्।
उनी विवाहपछि अमेरिका गइन्। पाँच वर्ष त्यहीँ बसिन्। सन् २००२ तिर उनको बुवाको स्वास्थ्य बिग्रिन थाल्यो। उनी फर्केको केही समयमा बुवाको निधन भयो। केही वर्षपछि आमा पनि बितिन्।
आमाबुवा दुवै गुमाएपछि सिर्जना मनबाटै टुटिन्। उनका जवान छोरा पनि मानसिक समस्याबाट ग्रसित भए। एकाएक आफ्ना प्यारा मान्छेहरूको स्थिति दुःखद देखेपछि सिर्जना आफैंले पनि जीवनबाट केही अपेक्षा राखिनन्।
'मलाई केवल अरूको हितमा राम्रो काम गरेर मर्न मन थियो,' उनले भनिन्।
जनावरप्रति धेरै मोह भएकाले उनले तिनकै सेवामा लाग्ने सोच बनाइन् र १८ वटा कुकुरलाई सडकबाट उद्धार गरेर घर ल्याइन्।
सुरूमा उनको संस्था स्थापना गर्ने कुनै योजना थिएन। कुसुन्तीमा एउटा जग्गा लिएर कुकुरहरू राखेकी थिइन्। त्यहाँबाट धापाखेल सरिन्। त्यहाँ पनि दुई ठाउँमा सरेर कुकुर पालिरहिन्। तर फेरि घरबेटीले निकाले।
त्यसपछि चाहिँ कसैले हेप्ने बाटो नपाऊन् भनेर नामका लागि मात्र भए पनि संस्था खोलेको उनले बताइन्।
'कुनै बेला मैले पनि विलासी जीवन बिताएकी थिएँ। अहिले यी जनावरका लागि सबै त्याग गरिसकेँ,' उनी भन्छिन्, 'कुकुर उद्धार गरेर यिनीहरूका लागि बस्ने ठाउँ, रेखदेख र खानपिनको खर्च जुटाउन मैले आफ्नो सबै सम्पत्ति सकेँ। आफ्ना चारवटा घर पनि बेचिसकेँ। अहिले म कोठा भाडा लिएर बसिरहेकी छु।'
उनका अनुसार कुकुरका लागि दिनमा एक बोरा चामल र सातामा पाँच सय किलो मासु चाहिन्छ। बिहान दूध, बिस्कुट र अन्डा छुट्टै चाहिन्छ।
फेरि उनी आफ्नो संस्थामा भएका कुकुरलाई मात्र खुवाँउदिनन्। लकडाउनपछि आफू बस्ने कोठा, टोल आसपासका र पशुपति क्षेत्रका कुकुरलाई पनि दिनकै खाना खुवाउँछिन्। कुकुरको खानामा मात्र महिनामा दुई लाख जति खर्च हुने उनले बताइन्।
यसबाहेक कुकुरको उपचार र संस्थाका कर्मचारीलाई लाग्ने खर्च छुट्टै छ। कुकुरको उपचार गर्न सातामा तीनपटक पशुचिकित्सक आउने उनी बताउँछिन्।
सिर्जना आफ्नो आँखाले देखेसम्मका कुकुर उद्धार गरिरहेकी हुन्छिन्। कति फेसबुकमा राखेका पोस्ट देखेर उद्धार गर्न जान्छिन्। भन्छिन्, 'कति कुकुरलाई रेबिज, छालाको र सरूवा रोग लागेको हुन्छ। मान्छे त्यस्ता कुकुर वरिपरि जान डराउँछन्। मलाई भने डर, घिन केही लाग्दैन।'
अहिले सिर्जनाको कमाइ स्रोत केही छैन, खर्च मात्र छ। कतिपयले उनको काम देखेर कदर गर्छन्। केहीले आर्थिक सहयोग गर्छन्। तर उनले अहिलेसम्म कसैसँग हात जोडेर सहयोग मागेकी छैनन्। आफूले सक्नेजति एक्लै गरिरहेको उनले बताइन्।
'मलाई अब श्रीमानसँगै बस्न अमेरिका जान मन छैन। मेरो खुसी यिनै कुकुरहरूको माझमा छ,' उनले भनिन्, 'पशुमा मान्छेजस्तो केही स्वार्थ हुँदैन। यिनीहरूको माया शुद्ध हुन्छ। त्यसैले पनि मलाई मान्छेभन्दा जनावरको धेरै माया लाग्छ। एक दिन आउन पाइनँ भने कर्मचारीहरूलाई भिडिओ कल गरेर वा सिसिटिभीबाट भए पनि कुकुरहरूलाई हेरिरहेकी हुन्छु।'
धन-सम्पति खर्च गरेर कुकुरका लागि काम गरेकै कारण सुरूमा उनको कुरा काट्ने धेरै थिए। श्रीमानले पनि गाली गरेका थिए। अहिले भने परिवारबाट समर्थन पाइरहेकी छन्।
सिर्जनाले पाल्न चाहने व्यक्तिलाई कुकुर दिन्छिन् पनि। तर धेरैले रोगको समस्या देख्नेबित्तिकै फिर्ता ल्याउने उनको गुनासो छ। कतिले त पालेको कुकुर घाँडो हुन थालेपछि उनलाई फोन गरेर बोलाउँछन् पनि।
'मानिसहरू लाखौं खर्चेर विदेशी कुकुर किन्छन्। तर आफ्नै अगाडि सडकमा भएका साना छाउराछाउरी लगेर पाल्न मान्दैनन्। कुकुर बिरामी भए हजार खर्चेर उपचार गर्ने हैसियत देखाउँदैनन्,' उनी गुनासो गर्छिन्, 'कहिलेकाहीँ मसँग एक रूपैयाँ हुँदैन। घर खर्च जुटाउन, चामल किन्नसमेत पैसा पुग्दैन। तर म जसरी भए पनि पैसा जुटाएर यी कुकुरलाई खुवाउँछु। अहिले भने श्रीमानले पठाएको पैसा र केही सहयोगबाट खर्च जुटिरहेको छ।'
कुकुरको मायामा डुबेकी सिर्जनालाई आर्थिक चुनौती मात्र छैन। उनका अनुसार एक्ली महिला देखेर अधिकांशले उनलाई हेप्न खोज्छन्। तर उनी यो कठिनाइसँग हार मान्दिनन्।
'दुःखको कुरा गरी नसक्नु छ। तर जब यी कुकुरहरू देख्छु, सबै दुःख हराउँछ। यिनीहरूमै मैले आफ्नो सुख पाइरहेकी छु। यिनीहरू मेरा लागि बाँचिरहेका छन् र म यिनीहरूका लागि,' उनी भन्छिन्, 'आफ्नो क्षमताभन्दा धेरै कुकुर पाल्न भने सक्दिनँ। कहिलेकाहीँ यसमा दुःख लाग्छ।'
केही महिनाअघि सिर्जना आफैं बिरामी परेकी थिइन्। पाठेघरमा समस्या आएर शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदा पनि उनको दिमागमा केवल एउटै कुरा थियो– कुकुरहरू।
उनलाई लाग्छ- यी जनावरका लागि धेरै काम गर्न बाँकी छ।
'मेरो सास गएपछि मात्र काम गर्न छाड्ने छु,' उनी भन्छिन्।
उनलाई डर पनि छ, भनिन्, 'म मरेपछि यिनीहरू अनाथ हुन्छन्। यिनीहरूले आमा गुमाउँछन्। फेरि त्यही सडकमा पुग्छन्। त्यसैले मेरो एउटै इच्छा छ- मानिसहरूले मेरो कामबाट केही सिकून्। मैलेजस्तै जनावरको हेरचाह गरून्।'