बन्दिपुर बजारको सिरानमा रहेको खड्गदेवी मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको चहलपहल थियो। मध्याह्नसम्म त्यो चहलपहल घुइँचोमा बदलियो।
भक्तजनको भीडले मन्दिरको प्रांगण पूरै भरिएको थियो। प्रवेशद्वार अगाडि वरपिपल रूख वरिपरि पनि खुट्टा टेक्ने ठाउँ थिएन। चर्को घाम छेक्न छाता ओढेर बसेका भक्तजनले छेउछाउका पर्खालसमेत ढाकेका थिए। यही मेलोमा फिरफिरे र मिठाइ बेच्नेहरूको व्यापार चकाचक थियो।
यो चहलपहलको कारण दसैं मात्र होइन, दसैंको फूलपातीकै दिन हुने खड्ग जात्रा हो।
फूलपातीको दिन बन्दिपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराइन्छ। यस क्रममा निरन्तर बजाइने नगरा बाजाले जात्रामा रौनक थप्छ।
यो जात्रा तीन सय वर्षदेखि चल्दै आएको विश्वास गरिन्छ। गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्नुभन्दा अगाडिदेखि जात्रा चल्दै आएको मूलपुजारी भरतमणि भट्टराई बताउँछन्। उनी आफूहरूलाई यो मन्दिरमा पूजा गर्ने चौथो पुस्ता मान्छन्।
'दसैंमा त्यसै पनि महाशक्तिको पूजा हुन्छ,' उनले भने, 'खड्गदेवी मन्दिरको खड्ग पनि महाशक्तिको प्रतीक हो।'
बन्दिपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ। खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदाय बराबरी भाग लिन्छन्।
खड्गदेवी पूजा व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीका अनुसार यो जात्रा पहिले अमाली र पछि महामुखियाको मातहत हुन्थ्यो। अहिले पूजाआजा र जात्रा व्यवस्थापनको सम्पूर्ण काम समितिले नै गर्दै आएको छ।
समितिमा २१ सदस्य छन् जसमा बन्दिपुरका सबै मुख्य जातजातिको प्रतिनिधित्व रहेको अध्यक्ष जोशीले बताए।
खड्गदेवी मन्दिरको पुजारी छनौटमा पनि सबै जातजातिलाई सहभागी गराइन्छ। मूलपुजारी ब्राह्मण हुन्छन्। उनको काम विधिवत् पूजाआजा गर्नु हो। यसबाहेक मगर पुजारी पनि हुन्छन् जसले मन्दिर हेरचाहको काम गर्छन्। त्यस्तै, विश्वकर्मा पुजारीले खड्ग सरसफाइ र रेखदेख गर्छन् भने पूजा सञ्चालनको जिम्मा नेवार पुजारीको हुन्छ।
खड्ग जात्राका लागि मगर पुजारीले मन्दिरभित्रबाट आँगनसम्म खड्ग बोेकर ल्याउँछन्। त्यसपछि त्यो खड्ग विश्वकर्मा पुजारीलाई दिइन्छ। विश्वकर्मा पुजारीले खड्गलाई मुख्य मन्दिरको ठिक पछाडि सानो मन्दिरमा लगेर पूजा गर्छन्। त्यसपछि खड्गलाई बजार परिक्रमा गराइन्छ।
यही क्रममा विश्वकर्मा पुजारीले एउटा निश्चित स्थानबाट फेरि मगर पुजारीलाई खड्ग हस्तान्तरण गर्छन्।
हरेक वर्षझैं यसपालि पनि मगर पुजारी रामकुमार आले मगरले कपडाले बेरिएको खड्ग मन्दिरको आँगनसम्म ल्याएर जात्रा सुरू गरेका थिए। अपराह्न ४ बजेतिर खड्ग बोकेर नगर परिक्रमा गर्ने बेला बन्दिपुरका स्थानीयले आ-आफ्नो घरअगाडि पूजा गर्न थालेका थिए।
धिमेबाजा बजाउने समूहका साथ विश्वकर्मा पुजारी नगरको भित्री बाटो अगाडि बढेपछि जात्राको मुख्य रमाइलो सुरू हुन्छ। खड्ग दर्शन गर्न गल्ली र मुख्य बाटोको छेउछाउ सर्वसाधारणको घुइँचो लाग्छ। उनीहरूले बार्दली र झ्यालबाट समेत फूल र पैसा चढाउँछन्। मोबाइलमा फोटो र भिडिओ खिच्न उस्तै होड हुन्छ।
दसैं बेला मात्र प्रदर्शन गरिने यो खड्गलाई यसबीच दुईतले खड्गदेवी मन्दिरको भुइँतलामा राखिन्छ। दशमीको दिन फेरि विधिपूर्वक मूल मन्दिरको माथिल्लो तल्लामा लगेपछि जात्रा सकिने मूलपुजारी भट्टराईले बताए।
सबै तस्बिर: प्रभाकर गौतम/सेतोपाटी