अफगानिस्तानको कान्दाहार सहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ।
सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो। शुक्रबार अपराह्न एकैपटक तीन वटा विस्फोट भएको थियो।
विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरू ६८ जना घाइते भएका छन्। उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।
तीन जना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार एक जना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएका हुन्।
अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए। त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो।
शुक्रबारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ थियो। सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ।
तालिबानका सशस्त्र लडाकूहरूले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ। साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरूले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको थियो।