फिल्म निर्माता श्री गुरुङ सन् २०१४ मा सगरमाथा आधार शिविर पुगेका थिए। वर्ल्ड भ्लग च्यालेन्ज परियोजनाका प्रमुख समेत रहेका उनले आधार शिविरमा हिउँका थुप्रै ढिकुराहरू देखे। सेतै टल्किएको सगरमाथाको मनोरम दृश्यलाई ती ढिकुराले थप सिँगारेका थिए।
ती ‘हिउँफूल’ भनिने ढिकुरामुनि लुकेर काला पत्थरहरू थोरै चिहाइरहेका हुन्थे। चट्टान वरपर देखिने स–साना खोंचले सुन्दरता थपेको थियो। त्यो सुन्दरताले जोकोहीको मन लोभ्याउँथ्यो।
'खुम्बुमा चारैतिर हिँउ र वरफ, मनमोहक,' उनले सम्झिए, 'पानी पिउँछुभन्दा पनि पाइँदैन थियो। पानीका लागि त्यही वरफ पगाल्नुपर्ने अवस्था थियो।'
यी सात वर्षको अन्तरालमा उनी चारपटक त्यहाँ पुगे। तीनपटक हरेक नोभेम्बर महिनामा, चिसोमा। हरेकपटक आधार शिविर पुग्दा फरक–फरक परिवर्तन देखे।
एक वर्षअगाडि, सन् २०२० नोभेम्बरमा पुग्दा पनि खुम्बु हिमनदीको ग्लेसियरमा साँघुरो खोंच थियो। यो वर्ष भर्खरै पुग्दा ग्लेसियरले निकै रूप फेरेछ। खोंच त ठूलो ताल पो बनिसकेछ।
'म त अचम्मै परेँ। मैले पहिला देखेको ठाउँ हो भनेर विश्वासै गर्न सकिनँ,' गुरुङ भन्छन्, 'मैले त्यो ठाउँ क्यामरामा कैद गरेको थिएँ। झुक्किएपछि आर्काइभ खोतलेर हेरेँ।'
पहिलेको फोटो हेरेपछि उनले ठाउँ पुष्टि गरे। त्यसपछि बल्ल उनलाई विश्वास भयो, गत वर्ष आफ्नो क्यामरामा कैद गरेको दृश्य त्यहीँको रहेछ।
त्यही दृश्य उनले फेरि गत वर्षकै स्थानबाट कैद गरे। २८ नोभेम्बर २०२० र २ नोभेम्बर २०२१ मा गुरुङले खिचेका खुम्बु ग्लेसियरका ती दुई तस्वीर उनले हालै सार्वजनिक गरेका छन्।
तस्बिर हेर्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ। एक वर्षको अन्तरालमा कैद गरिएको एकै ठाउँको तस्बिरमा निकै परिवर्तन देखिएको छ।
'परिवर्तन त अचम्मै तरिकाले भएको रहेछ। मैले सेयर गरेको फोटो हेर्नुभयो भने कसैले पनि दुइटा फोटा एकै ठाउँको हो भनेर पत्याउन सक्नुहुन्न,' उनले भने।
पहिले पानी पाउन निकै मुस्किल पर्ने खुम्बु क्षेत्रमा अहिले जताततै तालैताल बनिसकेको गुरुङले सुनाए। हिमालमा हिउँको तह पनि पातलिँदै गएको दृश्यमा देख्न सकिन्छ।
'मैले बोल्नुभन्दा जलवायु परिवर्तनले हिमालयमा पारेको असरबारे विज्ञानले बोलिसकेको छ,' गुरूङले भने, 'मैले प्रत्यक्ष रूपमा जे जे देखेँ, जे जे मेरो क्यामराले कैद गर्न सम्भव भयो, ती कुरा हामी सबैले बुझ्न जरूरी छ।'
हिमालय क्षेत्रमा देखिएको परिवर्तन बुझ्न सहज होस् भनेर नै वर्ल्ड भ्लग च्यालेन्ज परियोजनामार्फत् आफूहरूले खुम्बु क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर र त्यहाँको जनजीवनबारे विश्वभर जानकारी गराउने योजना अघि सारेको उनले बताए।
यसका लागि नेपालसहित विश्वका विभिन्न ६ मुलुकका ११ जना चर्चित भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए। त्यसै क्रममा उनीहरूले खुम्ब क्षेत्रको द्रुत गतिमा बदलिँदो अवस्था भिडियो फुटेजमार्फत् कैद गरेका छन्।
करिब १२ दिनमा उनीहरूले तयार गरेको भ्लगबाट विश्वमा खुम्बु क्षेत्रको अवस्थाबारे ध्यानकेन्द्रित हुने गुरूङ बताउँछन्।
‘यस्तै हो भने हिउँ सकिएर कालो पत्थर मात्रै बाँकी हुने अवस्थामा हामी पुग्दैछौं। हिमालमा देखिएका यस्ता परिवर्तनलाई सम्बन्धित सरोकारवालाहरूले गम्भीर रूपमा लिएर हिमाल कसरी बचाउने भन्नेतर्फ ध्यान पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
प्रकृति बचाइराख्न सबै सरोकारवालाले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आवश्यक रहेको उनले औंल्याए।
यो पदयात्रामा उनीहरूसँगै आठ हजारभन्दा माथिका सबै हिमाल आरोहण गरी चार पटकभन्दा बढी विश्व कीर्तिमान कायम गरिसकेका पर्वतारोही मिङ्मा डेभिड शेर्पा पनि थिए। उनले सगरमाथा आधारशिविरको यात्रा मात्रै नौपटक गरिसकेका छन्। उनी पनि आफू हरेकपटक जाँदा फरक फरक परिवर्तन देखिएको बताउँछन्।
सन् २००८ मा त्यहाँ पुग्दा हिउँको तह जति बाक्लो थियो, त्यो २०२१ सम्म पुग्दा घट्दै गएको उनले जानकारी दिए।
'बरफ पग्लिनु ठूलो कुरा होइन तर तीव्र गतिमा पग्लिनु चिन्ताको विषय हुन सक्छ। यस्तै हो भने अबको ३० वर्षसम्ममा हिउँ पो देख्न नपाइने हो कि भनेर जोकोहीलाई पनि चिन्ता हुन्छ,' उनले भने।
दोहोर्याएर हिमाल पुग्ने जोकोहीले पनि हिमाली क्षेत्रमा देखिएको परिवर्तनबारे सहजै अनुभव लिन सक्ने उनको भनाइ छ।
जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रको बदलिँदो स्वरूपलाई पहिलेकै अवस्थामा ल्याउन नसकिए पनि धेरै वर्षसम्म हिमाल बचाइराख्न कदम चाल्न सकिने हुँदा सम्बन्धित सबैले ध्यान पुर्याउनुपर्ने उनी बताउँछन्।
नेपालमा वार्षिक औसत ०.०५६ डिग्री सेल्सियस तापक्रम वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ। तापक्रम बढ्दै जाँदाको असर प्रकृतिमा देखिन थालेको विज्ञहरूले बताएका छन्। हिमालमा हिउँको तह पातलिँदै जानु, हिमताल विष्फोटनको अवस्थामा पुग्नु, मौसम फेरबदल लगायत अन्य प्राकृतिक विपदहरूको जोखिम बढ्नुको कारण तापक्रम वृद्धि नै भएको विज्ञहरूको भनाइ छ।
जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा मात्रै नभएर विश्वभर नै देखिएको छ। संसारभरि हिउँको तह पातलो हुँदै गएको विभिन्न अध्ययनले देखाइसकेको छ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रको 'जलवायु परिवर्तन, स्थिरता, र मानव' शीर्षक प्रतिवेदनले पनि पृथ्वीको तापक्रम औसत १.५ डिग्री सेल्सियसले मात्रै बढ्यो भने पनि यो शताब्दीको अन्तिमसम्ममा हिमालको हिउँ एकतिहाइ पग्लने अनुमान गरेको छ।
विश्वमा कार्बन उत्सर्जनको रफ्तार बढ्दै गएका कारण तापक्रम वृद्धि सीमाभन्दा निकै बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
सन् २१०० सम्म ६.५ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने वैज्ञानिकहरूको अनुमान छ। त्यसो भयो भने हिमालमा रहेको हिउँको दुई भाग हिउँ पग्लिने चिन्ता व्यक्त गरिएको छ।
भिडिओ: मनोज सत्याल/सेतोपाटी