सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले 'ढलको ढक्कन मिलाउन नजान्ने' भन्दै इञ्जिनियरहरूमाथि व्यंग्य कसेपछि सामाजिक सञ्जालमा उनको खुब आलोचना भयो।
मन्त्री झाँक्रीले गत शुक्रबार एक कार्यक्रममा बोल्दै सडकको सतह सलल मिल्नुपर्नेमा ढलका ढक्कनले उबडखाबड पारेको बताइन्। उनले ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनियरहरूलाई प्रश्न पनि गरेकी छन्।
'कालगतिले कहाँबाट के-के भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,' झाँक्रीले भनिन्, 'तर म स्कुटर चढ्ने मान्छलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो। म पटक-पटक लडेँ। यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।'
मन्त्री झाँक्रीले सडक निर्माणमा संलग्न इञ्जिनियरहरूको दक्षतामाथि प्रश्न उठाएपछि इञ्जिनियरहरू नै उनीविरूद्ध खनिएका छन्।
तर के मन्त्री झाँक्रीले भनेजस्तै हाम्रो सडकमा जथाभाबी राखिएका ढलका ढक्कनले हाम्रो इञ्जिनियरिङमाथि प्रश्न उठाएकै छैन र?
सामाजिक सञ्जालमा कतिपयले ढलका ढक्कन मिलाउने काम इञ्जिनियरको होइन, ठेकेदारको हो भनेर टिप्पणी गरेका छन्। तर ठेकेदारले नै काम बिगारेको भए पनि त्यो देख्दादेख्दै सच्याउन नखोज्नु इञ्जिनियरहरूकै गल्ती होइन र?
बुद्धनगरका ईश्वरकुमार थापा हाम्रो सडक दुर्दशाका एक भुक्तमान हुन्। हरेक बिहान कालिमाटी तरकारी बजार जाने थापा छ महिनाअघि थापाथली चोकैमा रहेको खाल्डोमा परे। मोटरसाइकल हुइँक्याउँदै आएका बेला त्यहाँ खाल्डो छ भन्ने यादै नभएको उनी बताउँछन्।
'बिहान चार बजेको थियो। अँध्यारै थियो। ठूलै खाल्डो पो रैछ। बाइक ढलिहाल्यो। मेरो दाहिने खुट्टामा चोट लाग्यो,' उनले सेतोपाटीसँग भने।
धन्न त्यो बेला पछाडिबाट कुनै सवारी नआएकाले आफू ठूलो दुर्घटनाबाट बचेको उनी बताउँछन्।
छ महिनाअघि उनी थापाथली चोकको जुन खाल्डोमा लडेका थिए, त्यो खाल्डो अहिले पनि उस्तै छ। आजभोलि पनि उनी त्यही बाटो हिँड्छन्। तर एकचोटि दुर्घटनामा परिसकेकाले त्यहाँ पुग्नेबित्तिकै अचेल आफैं झसंग हुने गरेको उनले बताए।
'त्यत्रो व्यस्त सडकको बीचमा कुन बुद्धिले खाल्डो राखेको होला। पहिलोपटक हिँड्नेलाई त थाहै हुँदैन, कसरी तर्कनू? कहिलेकाहीँ तर्कन्छु भन्दा पनि झ्याम्मै परिन्छ,' उनले गुनासो गरे।
थापाथली चोकमा मात्र होइन, उपत्यकाका मुख्य सडकमा यस्ता खाल्डा जताततै छन्। धेरैजसो खाल्डोको कारण ढलका ढक्कन हुन्। ती ढक्कन सडक सतहसँग मिलेका हुँदैनन्। कुनै ठाउँमा ढलको ढक्कन सडक सतहभन्दा होचो हुन्छ, कहीँ सतहभन्दा अग्लो हुन्छ। दुवै अवस्थामा या त बीच सडकमा खाल्डो परेको हुन्छ या ढिस्कोजस्तो उठेको हुन्छ। यसले दुईपांग्रे सवारी दुर्घटना हुने जोखिम बढेको छ।
सर्वसाधारणले लामो समयदेखि झेल्दै आएको यो समस्यामा सडक विभागका इञ्जिनियरहरूले कहिल्यै ध्यान दिएको पाइँदैन। सजिलै सच्याउन सकिने यो गल्तीमा आजसम्म न विशेषज्ञ इञ्जिनियरहरूको आँखा पुगेको छ, न सडक विभागका प्रमुखहरूले इञ्जिनियरहरूलाई सचेत गराएका छन्।
उपत्यकाका भित्री सडकको अवस्था त कुरा गरिसाध्य छैन। दुईपांग्रे सवारी चालकहरू कुन बेला कहाँको खाल्डोमा पर्नुपर्ने हो भनेर त्रासैत्रास बोकेर हिँड्नुपर्ने अवस्था छ।
माइतीघरमा भेटिएका गगन अर्याल गत मंसिरमा मात्र धोबिखोला करिडोरमा सडकको सतहभन्दा माथि उठेको ढलको बिर्कोमा ठोक्किएर उछिट्टिए।
'धेरै स्पिडमा थिएँ। मेरो अगाडि एउटा ट्याक्सी गुडिरहेको थियो। ट्याक्सीमा गएर ठोक्किएँ। अलिकति कुच्चियो। उल्टै सात हजार तिर्नुपर्यो,' उनले भने।
कतैकतै ढकनी नलगाई छाडिएका त्यस्ता प्वालमा चारपांग्रे सवारी पनि फसिरहेका देखिन्छन्। केही दिनअघि मात्रै केशरमहलतर्फको सडकमा एउटा कार ढलको खाल्डोमा फसिरहेको थियो। कारको पछाडिपट्टि बायाँ तर्फको चक्का पूरै खाल्डोमा खसेको थियो। चालक कारलाई खाल्डोबाट निकाल्न निकै जोडबल गर्दै थिए।
मुख्य सडकमा खासगरी बेलुकी र बिहानको समय चाप कम भएका बेला हुइँकिएर आउने सवारीहरू यस्ता ढलका ढक्कनमा बढी दुर्घटना पर्ने गरेको पाइन्छ।
यसबारे हामीले ट्राफिक प्रहरी महाशाखालाई सोध्दा ढलको ढक्कनकै कारण दुर्घटनामा परेका उजुरी नआएको बताएको छ।
'हामीलाई कसैले रिपोर्ट गर्नुभएको छैन। दुर्घटना भएर पनि हामीसम्म नआइपुग्नुभएको हो कि,' महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले सेतोपाटीसँग भने।
उपत्यकामा वार्षिक पाँच सयभन्दा बढी सडक दुर्घटना हुने गरेको तथ्यांक महाशाखाको छ। सडक दुर्घटनामा परेर पनि ट्राफिकसम्म नपुग्ने प्रवृत्तिले तथ्यांक कम देखिएको हुनसक्ने महाशाखाको अनुमान छ।
'दुर्घटनामा परेर पनि धेरैजसो आफैं मिल्ने गर्नुहुन्छ। हामीसम्म आइपुग्नुहुन्न,' उनले भने।
सडक विभागका अधिकारीहरू भने खानेपानी तथा ढल व्यवस्थापन विभागसँग समन्वय नहुँदा यस्तो समस्या देखिने गरेको बताउँछन्। सडक मर्मत गरिसकेपछि ढल तथा खानेपानी मर्मतका लागि राखिएका प्वाल खोतल्ने र त्यसै छाडिदिने गर्नाले यस्तो समस्या निम्तिएको विभागका अधिकारीहरूको भनाइ छ।
'हामीले भर्खरै सडक मर्मत तथा विस्तार गरेका हुन्छौं। खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूले त्यतिबेलै ढल खोतल्नुपर्ने वा खानेपानीको पाइप फुटेर खोतल्नुपर्ने जस्ता समस्या हुन्छन्। त्यसले सडकमा लामो समयसम्म मंगालका प्वाल खुलै रहन्छन्,' विभागका एक अधिकारीले सेतोपाटीसँग भने।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपाल विभागले आफू मातहतका सडकमा देखिएका समस्या सुल्झाउन काम गरिरहेको बताउँछन्।
'उपत्यकाका करिब चार सय किलोमिटर सडक मात्र हाम्रो मातहतमा छन्। बाँकी विभिन्न परियोजनाले हेर्छन्। हाम्रो मातहतका सडकमा सतहभन्दा माथि उठेका र तल दबेका मंगाल मिलाइरहेका हुन्छौं,' उनले सेतोपाटीसँग भने।
बेलाबेला सतह मिलाउँदा मिलाउँदै पनि सवारी गुडिरहँदा ढलका ढक्कन दबिन गई फेरि खाल्डो बढ्नेजस्ता समस्या आएको उनले बताए। मंगालहरू पुरेर सडक निर्माण गर्ने हो भने सवारी चालकलाई समस्या नहुने उनको भनाइ छ। तर यसले ढल तथा खानेपानी मर्मतमा समस्या आउने गरेको उनले बताए।
'केही समयअगाडि मात्रै स्वयम्भुमा सडक निर्माण गर्दा मंगालको बिर्को भएको ठाउँ पुरिएछ। पछि त्यो कहाँनिर थियो भनेर भेट्टाउन ठूलै समस्या भयो,' विभागका प्रवक्ता नेपालले भने।
काठमाडौंका सडकमा कहाँ-कहाँ मंगाल छ भन्ने था पाउन राम्रो नक्सा नहुँदा सडकमै खाल्डो वा टुटुल्को बनाएर राख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। यो समस्या सल्टाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले मंगालको नक्सा बनाउन जरूरी भएको उनी बताउँछन्।
'नक्सा भयो भने सडकको सबै सतह एउटै बनाउन सकिन्छ। पछि मर्मत गर्नुपर्ने भयो भने पनि नक्साका आधारमा मंगाल भेट्टाउन सकिन्छ। नक्सा नहुँदा नै समस्या निम्तिएको हो। दीर्घकालीन समाधानका लागि नक्सा आवश्यक छ,' प्रवक्ता नेपालले भने।