ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ स्थित नागी सानो भीर पहरे-पाखा सामुदायिक वनमा अचेल चहलपहल हुन्छ। सामुदायिक वनभित्र पर्ने एउटा चट्टान खोप्न काठमाडौंदेखि मान्छे गएका छन्। केही स्थानीय पनि काममा जुटेका छन्।
अनकन्टार ठाउँमा रहेको चट्टानमा बिस्तारै भगवान् गौतम बुद्धको अनुहारको आकार आउँदैछ।
जंगलको बीचमा रहेको चट्टानलाई बुद्धको मूर्तिमा बदल्ने काम गरिरहेका छन् मनकुमार तामाङले।
ओखलढुंगामै जन्मिएका मनकुमारलाई सानोमै काठमाडौं आएका थिए।
२०५८ सालतिर उनका बुवाआमाले गाउँ छोडेर काठमाडौंको बौद्धमा होटल चलाउन सुरू गरे। मनकुमार काठमाडौंमै हुर्किए, यतै पढे।
सुरूमा भाडामा होटल सुरू गरेका मनकुमारको परिवारले अहिले गौशालाको तिलगंगा अस्पताल नजिकै आफ्नै भवनमा गौरी होटल चलाइरहेका छन्। ३१ वर्षीय मनकुमारले होटलको सबै व्यवस्थापन हेरिरहेका छन्।
अचेल मनकुमारको तन होटलको काममा व्यस्त भए पनि मन भने ओखलढुंगाको त्यही अनकन्टार चट्टानमा छ।
काठमाडौं आएपछि ओखलढुंगासँग मनकुमारको सम्पर्क टुटेको थियो। बाल्यकालमै गाउँ छोडेर आएका २४ वर्षको हुँदा मात्रै गाउँ फर्किएका थिए।
श्रीमती ग्याल्मूलाई उनले केहीदिनका लागि गाउँ जान्छु भनेका थिए। ग्याल्मूलाई पनि मनकुमार कति नै गाउँमा बस्लान् र भन्ने लागेको थियो। तर मनकुमार तीन महिनापछि मात्रै काठमाडौं फर्किए। त्यतिबेलै गाउँसँग सायद उनको माया बसेको।
‘काठमाडौंमा हुर्किएको मान्छे। गाउँ जाँदा धेरै समय बस्नुहोला भन्ने लागेको थिएन। त्यहाँ यहाँको जस्तो सुविधा पनि छैन, गाह्रो मानेर छिट्टै फर्किनुहुन्छ भन्ने लागेको थियो,’ ग्याल्मूले भनिन्,‘तर उहाँ त तीन महिनापछि मात्रै फर्किनुभयो।’
ग्याल्मू र मनकुमारको प्रेम विवाह भएको हो। उनीहरूकी एक छोरी छन्।
मनकुमारले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका छन्। उनले इन्जिनियरको काम भने कहिल्यै गरेका छैनन्। यो बीचमा उनी पैसा कमाउन डेनमार्क पुगे। डेनमार्कमा धेरै टिक्न सकेनन्। दुई वर्षमै फर्किहाले।
विदेशमा पैसा कमाउने मनकुमारको सपना फिका भइसकेको थियो।
नेपाल आएर उनले आमा-बुवाले चलाइरहेको होटलमा सघाए, सँगसँगै विभिन्न ठाउँमा लगानी गर्न थाले। नेपालमै उनले राम्रै पैसा कमाए।
जंगलको चट्टानमा बुद्ध मूर्ति बनाउने सोच भने उनलाई गाउँकै एक जना पूजारी (लामा) बाजेको कुरा सुनेपछि आएको हो।
स्थानीय पञ्चे तामाङले एक रात सपनामा त्यो चट्टानमा बुद्धको मूर्ति देखेका रहेछन्। सपनामा बुद्ध देखेपछि उनी दैनिक त्यहाँ गएर ढोग्थे।
‘बाजेले सपनामा त्यो ढुंगामा बुद्धको मूर्ति देख्नुभएको रहेछ। त्यसपछि उहाँले दैनिक गएर ढोग्न थाल्नुभयो,’ मनकुमारले सुनाए, ‘बाजेले पूजा गर्न थालेपछि स्थानीय स्तरमा त्यो ढुंगाको पनि चर्चा भयो।’
पूजारीको कुरा सुनेपछि धार्मिक आस्था भएका मनकुमारलाई लाग्यो,‘मैले पनि बुद्धको मूर्ति पो देख्छु कि!’
उनी त्यही चट्टान हेर्न ओखलढुंगा पुगे। चट्टानमा त्यस्तो केही देखेनन्।
केही दिनपछि उनले सामाजिक सञ्जालमा एउटा भिडिओ देखे। त्यो भिडिओ चीनको थियो।
उक्त भिडिओ ढुंगामा खोपेर बनाइएको बुद्धको विशाल मूर्तिबारे थियो। त्यही मूर्ति हेर्न हजारौं पर्यटक जाने गरेको उनले भिडिओ हेरेर थाहा पाए। भिडिओ हेरेपछि मनकुमारलाई लामा बाजेले चट्टानमा देखेको बुद्धको मूर्तिको याद आयो।
‘भिडिओमा त्यस्तो देखेपछि मलाई पनि आफ्नो गाउँको लागि केही गर्न रहर लाग्यो। चीनमा मूर्ति बनेको ठाउँमा धेरै पर्यटक जाँदा रहेछन्। त्यसपछि लामा बाजेले देखेजस्तो बुद्धको मूर्ति बनाउने सोचेको थिएँ,’ उनले भने, ‘बुद्धको मूर्ति बनाए भने त्यो ठाउँ धार्मिक पर्यटकीय क्षेत्र बन्छ। त्यसले गर्दा विकास पनि हुन्छ भन्ने सोच आयो।’
मनकुमारले अहिले जहाँ बुद्धको मूर्ति खोप्न लगाइरहेका छन्, त्यो ठाउँलाई चिहान डाँडा भनिन्छ। गाउँमा कसैको मृत्यु भए त्यहाँ लगेर गाडिन्छ।
मनकुमारका दुबै पट्टीका हजुरबुवाहरूको शव पनि त्यही डाँडामा गाडिएको थियो।
'आमा र बुवा दुबैतिरका हजुरबुवाहरू गाउँको हितमा काम गर्ने भनेर सोच्नुहुन्थ्यो। आफूहरूले गाउँको लागि केही गर्न सकिएन भनेर भन्नुहुन्थ्यो। उहाँहरू चाहि ब्रिटिस लाहुरे लिन आउँदा पनि गाउँको मायाले नै जानुभएन,' उनले भने, ‘फेरि गाउँमा सुविधा केही पनि छैन। जे-जति छ मान्छेहरू विदेश गएर कमाएपछि भएको छ। पर्यटकीय हिसाबले र युगौंसम्म बाजेहरूको नाममा चिनारी पनि हुन्छ भनेर मैले आफ्नै व्यक्तिगत तर्फबाट मूर्ति बनाउन सुरू गरेको हुँ।’
मनकुमारले त्यहाँ मूर्ति बनाउनुको अर्को कारण पनि छ। काठमाडौंमा आफूहरू सम्पन्न परिवारको रूपमा बसे पनि छोरी ठूली भएपछि गाउँ पठाउँदा भने गाह्रो अवस्था सिर्जना नहोस् भन्ने उनले चाहेका छन्।
‘काठमाडौंमा एउटा घर होस्, गाडी होस् भन्ने चाहना मान्छेहरूको हुन्छ। जुन हामीले पूरा गरिसक्यौं। तर गाउँमा केही छैन भन्दाचाहिँ अलिकति नराम्रो लाग्छ,’ उनले भने, ‘मेरी छोरीलाई अमेरिका जाउँ भन्न सजिलो भए पनि गाउँ जाऔं भन्दा नाइँ भन्ने स्थिति नआओस् भनेर पनि हो मूर्ति बनाउन लागेको।’
मनकुमारले गत वर्ष मंसिरदेखि मूर्ति बनाउने काम सुरू गरेका थिए। कोरोनाभाइरस नियन्त्रण गरिएको लकडाउनले काम रोकियो।
तीन महिनाअघि फेरि काम सुरू भएको छ।
१२८ फिटको चट्टानमा ३२ फिटको बुद्धको मुर्ति बनिरहेको छ। अहिलेसम्म मूर्तिको काम ७० प्रतिशत सकिइसकेको छ। चट्टानमा बुद्धका आँखा, नाक, कान र टाउकोको गजुरको भाग निस्किइसकेको छ। मुर्ति बुद्धको काँधसम्मको बन्नेछ। मनकुमारले खुट्टासम्मै मूर्ति बनाउन चाहेका थिए। धेरै लगानी पर्ने भएपछि काँधसम्म मात्रै बनाउँदै छन्।
मूर्ति बनाउन मनकुमारले कसैको सहयोग लिएको छैन। आफ्नै ४५ लाख मूर्ति बनाइसक्ने उनको योजना छ। अहिलेसम्म ३२ लाख खर्च भइसकेको मनकुमारले जानकारी दिए।
मूर्ति कोर्न चाहिने मेसिनहरू किनिसकेको हुँदा अब मूर्तिकारलाई ज्याला दिनेमात्रै काम बाँकी रहेको उनले बताए।
अहिलकै अवस्थामा कठिन भए पनि त्यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि भने रिसोर्टहरू पनि खोल्न सकिने उनी बताउँछन्। त्यस्तै गाउँका युवाहरू विदेशिनुपर्ने बाध्यताबाट मुक्त हुने उनले बताए।
काठमाडौंको होटलमा बसे पनि मनकुमार मूर्तिको दैनिक अपडेट लिइरहन्छन्। कहिलेकाहीँ त उनी आफैं पनि त्यहाँ पुग्छन्।
‘मूर्तिकारहरूले मलाई दैनिक अपडेट दिन्छन्। अब छिट्टै सकिन्छ,’ उनले भने।
यो मूर्ति बनाउन धेरै समय लगाउने पक्षमा पनि उनी छैनन्।
पुस अन्तिममा मूर्ति बनिसक्ने उनले बताए।
‘ल्होसार वा बुद्ध जयन्तीमा उद्घाटन गर्ने योजना छ। यही महिनाको अन्तिमसम्म तयार भइसक्छ,’ उनले भने।