पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिरहेको छ। जसलाई लिएर नेपालमा संक्रमणको तेस्रो लहर आउनसक्छ भनिएको छ।
हुन पनि ओमिक्रोनकै कारण छिमेकी देश भारतमा दैनिक लाख बढी संक्रमितहरू भेटिएका छन्।
नेपालमा पनि गत मंगलबारदेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ।
सोमबार मात्र एक हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या अझै बढ्ने निश्चित छ। किनभने अघिल्लो भेरियन्टहरू भन्दा पनि बढी संक्रामक रहेको ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ।
ओमिक्रोन भेरियन्टले ल्याउनसक्ने जोखिमलाई नै मध्यनजर गरेर सरकारले विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। साथै २५ जनाभन्दा बढी मानिसहरू एकै ठाउँ भेला नगर्न भनेको छ।
तर ओमिक्रोन भेरियन्ट बढी संक्रामक भए पनि यसले जटिलता ल्याउनसक्ने सम्भावना कम रहेको अध्ययनहरूले देखाएको छ। अर्थात् यो भेरियन्ट अन्य भेरियन्टभन्दा कमजोर छ। यद्यपि रोग प्रतिरोधात्मक क्षमता कम भएका र वृद्धावृद्धाहरूमा यसको जोखिम कायमै रहन्छ। साथै यो बढी संक्रामक रहेका कारण धेरै मानिसहरू एकैचोटि संक्रमित हुँदा प्रतिशतको हिसाबले अस्पताल भर्ना हुने बिरामीहरूको संख्या बढ्नसक्छ।
स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता डाक्टर जागेश्वर गौतमले ओमिक्रोन घातक नभए पनि यसले छिटो संक्रमण सार्ने हुँदा धेरै मानिस संक्रमित हुँदा गम्भीर बिरामीको संख्या बढ्ने बताए।
‘कमै मान्छे सिरियस हुँदा पनि संख्या ठूलो हुनजान्छ। त्यसैले भिडभाडजन्य गतिविधिलाई कम गर्नुपर्छ।’
यदि त्यसरी नै अस्पताल भर्ना हुने गम्भीर बिरामीहरू बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको चुस्त व्यवस्थापन हुनुपर्छ। किनकि दोस्रो लहर उत्कर्षमा पुग्दा आइसियू, भेन्टिलेटर र अक्सिजनको चरम अभाव भएको थियो। जसका कारण धेरैले मृत्युवरण गर्नुपरेको थियो। त्योबेला संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले नै पर्याप्त अक्सिजन पुर्याउन सकेको भए धेरै मानिसहरू बचाउन सकिने सुनाएका थिए।
तर सरकारले त्यो बेला पर्याप्त अक्सिजनको व्यवस्था गर्न सकेन। दर्जनौं निजी अस्पतालहरूले अक्सिजन अभावका कारण उपचार गर्न नसकिने भन्दै हातै उठाएका थिए। त्यो बेला दैनिक २० हजार अक्सिजन सिलिण्डर आवश्यक परेको अवस्थामा १० हजार मात्र पुर्याउन सकिएको थियो। जसका कारण संक्रमितहरू अक्सिजन नपाएर छट्पटिएका दृश्यहरू बाहिर आए।
तर यसपटक दोस्रो लहरकै स्थिति आउँछ वा आउँदैन भनेर अहिले भन्न सकिँदैन। सरकारले समेत कस्तो स्थिति आउँछ भनेर यकिन भन्न सकेको छैन।
पहिलेभन्दा कमजोर भाइरस रहेका कारण समस्या नआउँला कि भन्ने धेरैको आशा छ। तर यदि धेरै संक्रमित भएर अस्पताल भर्ना हुने बिरामी बढ्न थाले आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्था अहिले नै हुन जरूरी छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी यसपटक आइसियू, भेन्टिलेटर र अक्सिजन पुग्ने गरी तयारी अवस्थामा रहेको दाबी गर्छन्।
दोस्रो लहरको सिकाइले पनि बेलैमा स्रोत जुटाइएको भन्दै उनले भने, ‘अस्पतालका बेड, अक्सिजन र भेन्टिलेटरहरू जम्मा भएका छन् र सञ्चालन गर्ने गरी तालिम पनि दिएका छौं।’
दोस्रो लहरमा सबैभन्दा खड्किएको भनेकै अक्सिजन हो। कति अस्पतालले सरकारले अक्सिजन उपलब्ध गराएमा भुइँमै पनि बिरामीको उपचार गर्ने जनाएका थिए। हुन पनि त्यो बेला टेकु, टिचिङ अस्पतालले बेड नहुँदा संक्रमितलाई भुइँमै राखेर पनि उपचार गरेको थियो। तर अक्सिजन अभावकै कारण त्यो बेला धेरै अस्पतालहरूले उपचार क्षमता विस्तार गर्न सकेनन्।
यसपटक भने अक्सिजनको कुनै कमी नहुने अधिकारी दाबी गर्छन्।
‘अहिले दैनिक ४० हजार अक्सिजन सिलिण्डर पुर्याउनसक्छौं। दर्जनौं अस्पतालहरूसँग आफ्नै अक्सिजन प्लान्ट छ। कन्सन्ट्रेटर पनि धेरै अस्पतालसँग छ,’ उनले भने, ‘लिक्विड अक्सिजन ट्यांक पनि १९ वटा छ। जम्मा ३२ वटाको योजना हो। बाँकी केही दिनमा आउँछ। ४७ वटा अस्पतालसँग आफ्नै प्लान्ट छ। आवश्यकताको आधारमा ८५ वटा सञ्चालन गर्न सक्छौं। त्यसैले चाहिने भन्दा धेरै छ।’
तर एउटा कुरा के हो भने दोस्रो लहरमा भन्दा आइसियू बेड लगायत स्रोतहरू अहिले दोब्बर संख्यामा छन्। दोस्रो लहरमा देशभर एक हजारको हारहारीमा आइसियू बेडहरू थिए। अहिले भने झन्डै २८ सय आइसियू बेड रहेका छन्।
मन्त्रालयका तथ्यांक अनुसार अहिले देशभर दुई हजार ७९७ आइसियू बेड, एक हजार ८ भेन्टिलेटर, ३ हजार ८४६ एचडियू बेड रहेका छन्।
यसैगरी, ८ हजार २०२ आइसोलेसन बेड, १३ हजार ९३९ अक्सिजन सिलिण्डर, ६ सय ९३ अक्सिजन कन्सन्ट्रेटर र ४७ वटा अक्सिजन प्लान्ट छन्। काठमाडौं उपत्यकाको हकमा भने २ हजार ४९४ आइसोलेसन बेड, ३ सय २४ एचडियू बेड, ४ सय ४५ आइसियू र २ सय ५४ भेन्टिलेटर छन्।