डेढ महिनामै संसारभर फैलिएको ओमिक्रोन भेरियन्टको लहर सेलाउन नपाउँदै वैज्ञानिकहरूले यो अन्तिम नभएको र फेरि नयाँ भेरियन्ट आउनसक्ने चेतावनी दिएका छन्।
पछिल्लो समय कोरोना भाइरसमाथि भएका विभिन्न अध्ययनका आधारमा वैज्ञानिकहरूले ओमिक्रोनपछि अर्को भेरियन्टको लहर आउन सक्ने निष्कर्ष निकालेका हुन्।
अब आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्नेबारे कुनै तथ्य आइसकेको छैन। तर ओमिक्रोन भेरियन्ट नै कोरोना भाइरसविरूद्ध अन्तिम लडाइँ नभएकोमा वैज्ञानिकहरू लगभग सहमत छन्।
यसबारे केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा विभिन्न खबर आइरहेका छन्। तिनै खबरका आधारमा हामीले भाइरोलोजिस्ट लुना भट्टसँग कुरा गरेका छौं।
उनको भनाइमा ओमिक्रोन भेरियन्टको फैलिने दर विगतभन्दा उच्च छ। दक्षिण अफ्रिकामा पहिलोचोटि देखापरेको ओमिक्रोनलाई संसारभर फैलिन डेढ महिना पनि लागेन। यसले भाइरस उत्परिवर्तित हुने अर्थात् भाइरसले आफ्नो स्वरूप बदल्ने सम्भावना अझै बढी हुन्छ।
'जति धेरै मान्छेमा संक्रमण हुँदै जान्छ, भाइरस उति बढी उत्परिवर्तित हुने सम्भावना रहन्छ। अहिले ओमिक्रोनको संक्रमण धेरै छ, त्यसैले अर्को भेरियन्ट उत्परिवर्तित भएर आउँछ नै,' उनले भनिन्।
ओमिक्रोन भेरियन्टबारे भएका पछिल्ला अनुसन्धानले पनि यो भाइरस अघिल्लो डेल्टाभन्दा दोब्बर र सुरूको भन्दा चार गुना बढी संक्रामक रहेको देखाएको छ। नेपालको पछिल्लो साताको संक्रमण अवस्थाले यो पुष्टि गर्छ। ओमिक्रोन भित्रिएसँगै नेपालमा दैनिक संक्रमण सयबाट हजार पुगेको छ। सोमबार मात्र ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो।
ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा कम घातक रहेकाले अस्पतालहरूमा दोस्रो लहरको जस्तो गम्भीर बिरामीको चाप छैन। नत्र अहिलेको संक्रमण दर वैशाख दोस्रो सातातिर दोस्रो लहर उत्कर्षमा पुग्दाको जस्तै हो भन्ने चिकित्सकहरूको भनाइ छ। त्यो बेला अस्पतालमा बेड नपुगेर बिरामीहरूलाई भुइँमा राखेर उपचार गर्नुपरेको थियो।
भाइरोलोजिस्ट भट्ट भने तत्काललाई ओमिक्रोन कम घातक देखिए पनि यसको दीर्घकालीन असरबारे आएका पछिल्ला तथ्य चिन्ताजनक रहेको बताउँछिन्।
'अस्ति मात्र दुइटा कुरा बाहिर अएका छन्। एउटा डरलाग्दो पक्ष भनेको यो भेरियन्टले मान्छेको दिमागमा असर गर्छ भनिएको छ। अर्को, यसले एचआइभीले जस्तै कोषहरूलाई कमजोर बनाउने रहेछ। यस्तो भयो भने अरू जुनसुकै रोग लाग्दा मानिसको मृत्यु हुनसक्छ। त्यसैले ओमिक्रोनलाई सामान्य रूपमा बुझ्नु हुँदैन। यसको दीर्घकालीन असरलाई पनि हेर्नुपर्ने हुन्छ,' उनले भनिन्।
यही कारणले पनि ओमिक्रोनपछि आउने नयाँ भेरियन्ट कस्तो हुन्छ भन्नेबारे अहिल्यै भन्न नसकिने भट्ट बताउँछिन्।
'पहिले ओमिक्रोन कम घातक छ भनिन्थ्यो, अहिले यसले दिमाग र कोषहरूमा दीर्घकालीन असर पार्ने कुरा बाहिर आएको छ। त्यसैले अब आउने भेरियन्ट कस्तो होला भनेर अहिल्यै भन्न सकिँदैन,' उनले भनिन्।
उनका अनुसार एकपछि अर्को भेरियन्ट आउनुमा केही कारण छन्। सबभन्दा पहिले त ओमिक्रोन धेरै मानिसमा संक्रमण हुँदा त्यसबाट उत्परिवर्तित भएर नयाँ भाइरस आउने सम्भावना बढी हुन्छ। अर्को, भाइरसको उत्परिवर्तित प्रकृतिलाई लक्ष्य गरेर खोपहरू विकास नहुँदा नयाँ भेरियन्ट देखा परिरहन्छन्।
खोप लगाइसकेकालाई पनि ओमिक्रोन भेरियन्टले संक्रमण गरेको उदाहरण दिँदै लुनाले भनिन्, 'भाइरसको यो प्रकृतिलाई केन्द्रमा राखेर खोपहरू विकास गरिनुपर्छ।'
यति मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा भाइरसले आफूखुसी परिवर्तन गर्न पाउँदा त्यसबाट पनि नयाँ भेरियन्ट विकास हुने सम्भावना रहन्छ। यसलाई 'इमिनोकम्प्रमाइज' भनिन्छ। अघिल्लो 'अल्फा' भेरियन्ट यही कारणले देखापरेको उल्लेख गर्दै भट्टले भनिन्, 'अंग प्रत्यारोपण गरेका, एचआइभी, क्यान्सरका बिरामी, दीर्घरोगी र वृद्धवृद्धाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यस्ता मानिसमा संक्रमण भयो भने भाइरसले आफूलाई सजिलै वृद्धि गर्छ र रूप परिवर्तन पनि गरिरहन्छ।'
अहिले ओमिक्रोनको लहर त छँदैछ, सँगसँगै डेल्टा भेरियन्ट पनि हराइनसकेकाले एकैपटक दुइटै संक्रमण भए के हुन्छ भन्ने धेरैलाई चासो छ। यसबारे भट्ट भन्छिन्, 'एउटै व्यक्तिमा दुई-दुई खालको संक्रमण हुनसक्छ। त्यस्तो अवस्थामा भाइरसले आफूलाई वृद्धि गर्ने क्रममा चाहिने सजिला म्युटेसनहरू लिएर आउनसक्छ। नयाँ खालको 'हाइब्रिड' भाइरस निस्किन सक्छ जुन झनै खतरनाक हुन्छ।'
दुवै भेरियन्ट छुट्टाछुट्टै फैलिरह्यो भने ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गर्ने उनी बताउँछिन्। भाइरोलोजीको सिद्धान्तअनुसार नयाँ भेरियन्टले पुरानोलाई विस्थापित गर्ने उनको भनाइ छ।
ओमिक्रोन भेरियन्ट जनावर र चराचुरूंगीमा पनि देखा पर्नसक्छ भनिएको छ। यसले संक्रमण मानिसबाट जनावरमा सर्नसक्छ। पछिल्ला अध्ययनले कुकुर, बिरालो, मृग र अन्य घरपालुवा जनावारमा पनि यो भाइरस सर्नसक्छ भन्ने देखाएको छ।
यसले थप डर उत्पन्न गरेको उल्लेख गर्दै भट्टले भनिन्, 'पहिले यो भाइरस जनावरबाट हामीमा सरेको थियो, अब फेरि हामीबाट जनावरमा फिर्ता जाने भयो। यसले संक्रमण जनावरमा बसिराख्न सक्ने भयो र फेरि परिवर्तन भएर डरलाग्दो रूप लिएर आउनसक्ने भयो।'