मंगलबार नेपालमा एकैदिन १० हजार बढी मानिसमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। सन् २०२० को सुरूदेखि फैलिएको कोरोना महामारीमा पहिलो पटक एकैदिन यति धेरै मानिस संक्रमित भए।
संक्रमितको संख्यामात्र होइन परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुने दर पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार २२ हजार ८२८ जनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। जुन झन्डै ४५ प्रतिशत हो।
संक्रमण दरलाई आधार मान्ने हो भने अहिले हामी ठ्याक्कै दोस्रो लहरको उत्कर्षतिर छौं। गत वैशाख तेस्रो सातातिर डेल्टा भेरियन्टसहित कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेका बेला संक्रमण दर ४० प्रतिशत आसपास थियो।
वैशाख २० गते १७ हजार १७६ जनाको परीक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो भनेको ४३.३६ प्रतिशत हो।
संक्रमण दर उस्तै भए पनि त्यो बेला र अहिलेको दृश्य फरक छ। किनभने हामी वैशाखको तेस्रो सातातिर टेकु अस्पताल पुग्दा अस्पतालका बेड मात्र होइन परिसर पनि संक्रमितले भरिएको थियो। बेड अभाव भएपछि संक्रमितहरू अक्सिजन पाइप लगाएर कोही कुर्सी त कोही भुइँमै लडिरहेका देखिन्थे। त्यो बेला टेकु मात्र होइन, देशभरका अस्पतालहरूको नियति उस्तै थियो। कति संक्रमितहरू अक्सिजन नपाएर छट्पटिएका थिए, कतिले बाटैमा ज्यान गुमाएका थिए।।
त्यो बेला दैनिक २० हजार सिलिन्डर अक्सिजन माग भएकोमा सरकारले १० हजार सिलिन्डर मात्र पूर्ति गर्न सकेको थियो। जसले गर्दा संक्रमितहरूले चाहिए जति अक्सिजन पाउन सकेनन्। कति अस्पतालले त अक्सिजन नभएकाले उपचार गर्न नसकिने भन्दै हातै उठाए। टेकु अस्पतालमै झन्डै २० हजार लिटरको लिक्विड ट्यांकले त्यो बेला एक साता पनि पुग्थेन। सामान्य अवस्थामा त्यही अक्सिजनले झन्डै महिना दिन थेग्ने गर्थ्यो।
यसपालि भने टेकु अस्पतालमा त्यस्तो दृश्य देखिँदैन। अहिले अस्पतालको आँगन खाली छ। बिरामीको चाप छैन। संक्रमितका लागि छुट्याइएको बेडमा पनि आधा मात्र संक्रमित छन्।
'अहिलेकै जस्तो संक्रमण दर हुँदा दोस्रो लहरमा अस्पतालका सबै बेड बिरामीले भरिएको थियो। बेड नभएर बिरामीलाई बाहिर राख्नुपर्ने स्थिति थियो,' अस्पतालकी निर्देशक डाक्टर मनीषा रावल भन्छिन्, 'तर अहिले अस्पतालमा ५० प्रतिशत बिरामी पनि छैनन्।'
निर्देशक रावलले अहिलेको लहरमा संक्रमित हुनेको संख्या व्यापक देखिए पनि अस्पतालमा भर्ना हुने संख्या निकै न्यून रहेको बताइन्। उनले टेकु अस्पतालमा अहिले जम्मा १३ जना संक्रमित उपचाररत् रहेको उल्लेख गर्दै दोस्रो लहरको तुलनामा यो निकै कम संख्या रहेको जनाइन्।
अर्को महत्वपूर्ण कुरा तेस्रो लहरमा गम्भीर हुने संक्रमितको संख्या दोस्रो लहरभन्दा झन्डै चार गुना कम छ। अर्थात् यसपटक धेरै जनामा संक्रमण भएको देखिए पनि अस्पताल भर्ना हुने र गम्भीर हुने संक्रमितको संख्या निकै कम छ।
मन्त्रालयकै तथ्यांकअनुसार गत वैशाख २० गते देशभर ५ सय ७८ जना संक्रमित आइसियू र १ सय ४२ जना भेन्टिलेटरमा थिए। मंगलबारको तथ्यांकमा देशभर जम्मा १ सय ५१ जना संक्रमित आइसियू र २८ जना संक्रमित भेन्टिलेटरमा छन्। जुन दोस्रो लहरको तुलनामा ३.८२ गुना कम हो।
कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ पनि दोस्रो लहरको तुलनामा यसपटक गम्भीर अवस्थाका संक्रमित निकै कम रहेको बताउँछन्। अहिले दोस्रो लहरभन्दा पनि बढी संक्रमण देखिए पनि अस्पताल भर्ना र गम्भीर हुने संक्रमित कम रहेको उल्लेख गर्दै श्रेष्ठले भने, 'यसपालिका धेरै संक्रमितहरू रूघाखोकी जस्ता सामान्य लक्षण लिएर आएका छन्। त्यस्तै अक्सिजन चाहिने र भेन्टिलेटर चाहिने बिरामीको संख्या पहिलेभन्दा कम छ।'
ओमिक्रोन भेरियन्ट बढी फैलिने भए पनि कम घातक भएका कारण अस्पतालहरूमा गम्भीर अवस्थाका संक्रमितहरू कम देखिएका हुन्। अहिले अस्पतालहरूको स्थितिले पनि ओमिक्रोनले डेल्टाभन्दा निकै न्यून क्षति पुर्याउँछ भन्ने आकलन गर्न सकिन्छ। तर यसैलाई सबथोक मानेर हेलचक्र्याइँ भने गर्न नहुने चिकित्सकहरूको सुझाव छ।
स्वास्थ्य मन्त्रालयले नै माघको दोस्रो साता दैनिक झन्डै २० हजार संक्रमित देखिने प्रक्षेपण गरेको छ। एकै पटक धेरैजना संक्रमित हुँदा गम्भीर हुने संक्रमितको संख्या पनि बढ्न सक्छ। त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।
अहिलेकै स्थितिमा ओमिक्रोन भेरियन्टको असर स्थिर भए, सामान्य क्षतिमा तेस्रो लहर पार गर्न सकिन्छ। किनभने छिमेकी भारतमा पनि संक्रमण दरअनुसार अस्पताल भर्ना हुने र ज्यान गुमाउने दर उकालो लागेको छैन। नेपालमा माघको अन्तिम सातादेखि संक्रमण घट्दै जाने चिकित्सकहरूको भनाइ छ।