चार वर्षअघि स्थानीय तहको चुनाव भयो। जनप्रतिनिधि आएपछि गाउँ-गाउँमा डोजरको संख्या बढ्यो। डोजरले खोस्रेर बाटो बनाए। बाटोसँगै ‘विकास’ गाउँ पस्यो।
बहुराष्ट्रिय र राष्ट्रिय कम्पनीले उत्पादन गरेका सामान बोकेर गाडीहरू गाउँ पुगे। गाउँ जाँदा गह्रुंगा भएर जाने गाडी फर्किँदा रित्तै हुन्छन्। देशका धेरै गाउँमा अहिले पनि यस्तै दृश्य देखिन्छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले भने यो दृश्य बदलिदिएका छन्। बाहिरको सामान बोकेर आफ्नो गाउँपालिकामा आउने गाडी उनले अचेल कागती भरेर पठाउन थालेका छन्। त्यो कागती उनले आफैं फलाएका हुन्।
२०७४ मा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि राईले आफ्नो साढे सात रोपनी जग्गामा कागती खेती सुरू गरेका थिए। कागती खेती गर्नुअघि उक्त खेतमा मुस्किलले १२ मुरी धान फल्थ्यो। उनको परिवारले खेत अधियाँ दिएको थियो। दु:ख गरेजति उब्जनी नहुने भएपछि अधियाँ लिएकाले पनि छोडिदिए।
‘अधियाँ गर्नेले छाडेपछि खेत बाँझो हुने भयो। गाउँपालिकाकै अध्यक्षले खेत बाँझो राखेर कृषि उन्नति गर्छु भन्नु ठीक लागेन। त्यसैले आफैंले खेती सुरू गरेँ,' राईले सेतोपाटीसँग भने।
खेती गर्ने सोचेपछि राईले कृषि विज्ञहरूलाई उक्त खेतमा कुन नगदे बाली लगाउँदा ठीक हुन्छ? भनेर सोधे। विज्ञहरूले कागती रोप्दा राम्रो फल्ने सुझाए।
उनले धनकुटाबाट ३ सय ५० बोट कागतीका बिरूवा ल्याएर रोपे। नभन्दै तीन वर्षअघि रोपेको ती बिरूवाले यस वर्षबाट उत्पादन दिन सुरू गरेका छन्।
बारीमा लटरम्म कागती फलेपछि अध्यक्ष राईलाई कहाँ बेच्ने होला भन्ने चिन्ता लागेको थियो। किनकी उनले फलाएको ५ सय केजी बढी कागती गाउँघरमा खपत हुन्थेन। सदरमुकाम दिक्तेलमा पनि एकैपटक त्यति कागती उठाउने व्यापारी थिएनन्। कागती काठमाडौं वा विराटनगर पठाउनुपर्थ्यो। दूरीका हिसाबले विराटनगर पठाउन सहज थियो।
केही समयअघि राई पार्टीको महाधिवेशनका लागि विराटनगर पुगेका थिए। उनी नेपाली कांग्रेसका हुन्। महाधिवेशनकै गएका बेला उनले विराटनगरमा कागती बेच्ने चाँजोपाँजो मिलाए।
तर समस्या ढुवानी कसरी गर्ने भन्ने भयो किनभने खोटाङबाट गाडी रिजर्भ गरेर कागती पठाउँदा ढुवानी खर्च चर्को हुन्थ्यो।
त्यसपछि अध्यक्ष राईले एउटा जुक्ति निकाले। तराईतिरबाट बियर, चाउचाउ, चामललगायत खाद्यान्न बोकेर आउने गाडी रित्तै फर्किने गरेको सुनेका थिए। व्यापारीहरूसँग कुरा गरेर तिनै गाडीमा कागती विराटनगर पठाउने व्यवस्था गरे।
‘यहाँ व्यापारीहरूसँग कुरा गर्दा चाउचाउ, बियर, चामलजस्ता खाद्यान्न बोकेर आउने गाडी रित्तै फर्किने रैछ। ढुवानी खर्च पनि कम हुन्छ भनेर त्यसमै पठायौं,’ अध्यक्ष राईले भने, ‘हिजो (बिहीबार) मात्र ३ सय ५० केजी पठाइयो। त्योभन्दा अगाडि डेढ सय केजी बेचिसकियो।’
उनको बारीमा यो सिजनको कागती अझै सकिएको छैन।
‘अर्को दुई सातामा थप ८० केजी निस्किन्छ होला,’ खुसी हुँदै राईले भने, ‘१५ हजारको पनि धान नफल्ने खेतमा ६० हजारको कागती फलाएँ।’
कागती किन्न आउने मानिसलाई भ्याएसम्म उनी आफैं कागती टिपिदिन्छन्।
राईका श्रीमती र दुई छोराछोरी छन्। छोराछोरी सानै भएकाले उनलाई श्रीमती सरिताले काममा सघाउँछिन्। कागती खेतीबाट आफूले बाउबाजेबाट आएको संस्कारलाई पनि रूपान्तरण गर्न खोजेको उनी बताउँछन्।
‘हामी बेच्नु हुँदैन बरू सित्तैमा दिनुपर्छ भन्ने समाजमा हुर्कियौं। यहाँ त बेच्न थाल्यो भने वरिपरिकाले हेर फलानोलाई के समस्या पर्यो र टार्नलाई बेच्यो भन्न थाल्छन्। त्यहीँ सोचेर पनि बाउबाजेको इज्जत गए जाओस् भनेर कागती खेती सुरू गरें,’ राईले भने।
कागतीबाट धानभन्दा चौगुना बढी आम्दानी भएपछि उनी झन् हौसिएका छन्।
‘छ कित्ता खेत हुँदा हामीलाई वर्षदिन खाने धान फल्थ्यो तर अहिले एउटा कित्ताले नै मलाई पाल्नसक्ने देखियो। पहिलो पटक भएर यति फलेको हो पूरै बोट फल्दा त झन् के होला!,’ राईले भने।
अध्यक्ष भएकाले जनताको सेवामा पनि खटिनु पर्दा समय व्यवस्थापन गर्न भने केही चुनौती रहेको राई बताउँछन्। कागती खेतीका लागि आफूले बिहान र साँझ अनि विदाको दिन छुट्याएको उनले सुनाए। कागतीलाई अरू खेती जति समय पनि दिनु पर्दैन।
‘म त मर्निङ वाक नै कागती खेतीमा गर्छु। १२ बोट जति गोडमेल गरेपछि पसिना खलखली बगिहाल्छ। अनि फ्रेस भएर कार्यालय जान्छु,’ उनले भने।
राई राजनीतिमा सक्रिय रहे पनि आफ्नो नियमित आय स्रोतको बाटो हुनुपर्ने मान्यता राख्छन्। हरेक राजनीतिज्ञले आफ्नो रोजीरोटीको व्यवस्था गर्नसके त्यसले जनतामाझ थप विश्वासको वातावरण सिर्जना हुने र सही कार्य गर्न प्रेरित गर्ने उनको भनाइ छ।
‘भाषणले नेता बनाउला, कार्यकर्ताबीच पपुलर पनि बनाउला तर बेलुका उसले के खाने? भाषणले बाँच्ने हो र!,’ राई प्रश्न गर्छन्, ‘राजनीति गर्ने मान्छेको आयस्रोत के हो? उसको बाँच्ने आधार के हो भन्ने प्रश्न आउँदा राजनीति स्वच्छ हुन्न। त्यसैले राजनीतिज्ञले आफ्नो रोजीरोटीको आफैं व्यवस्था गर्नुपर्छ।'
उत्पादनमा सिन्को नभाँच्ने नेताहरूले कृषि उत्थानको ठूल्ठूलो गफ गर्न नसुहाउने राईको तर्क छ। अहिले गफभन्दा पनि आफैंले नै केही गरेर देखाउनुपर्ने बेला रहेको उनी बताउँछन्।
आफूले कागती खेती नगरेको भए त्यसमा हुने दुःख थाहा नहुने उल्लेख गर्दै उनले कुनै कुराको मर्म बुझ्न पहिले आफूले पनि त्यो कुरा भोग्नुपर्ने बताए।
‘आफूले फलाएको कागतीको मूल्य लिनलाई कति दुःख भयो भन्ने कुरा मैले अनुभूत गरेको छु। उखु किसानले मूल्य नपाएको पीडा बेलाबेलामा सुनाइरहन्छन्। कुनै नेताले पनि उखु खेती गर्थ्यो भने उसले किसानको पीडा बुझ्थ्यो नि!,’ राईले भने।
यस्ता कुराहरूले आफूलाई छुने उल्लेख गर्दै अध्यक्ष राईले राजनीतिमा हुँदा वा नहुँदा पनि कागती खेती नछोड्ने मनस्थिति बनाएको बताए।
‘मैले कागती खेती देखाउनलाई गरेको होइन। यो मेरो गरिखाने व्यवसाय हो। गाउँपालिका अध्यक्ष हुँदा होस् वा कुनै ठूलो पदमा रहँदा होस् म यसमा लागिरहन्छु,’ उनले भने।
अध्यक्ष राईले कागती फलाएको देखेर उनको गाउँपालिकाका अरू मानिसहरू पनि प्रेरित भएका छन्। कोही कागती खेती सुरू गर्न लागेको भन्दै त कोही जग्गा भाडामै लिएर पनि अन्य खेती गर्छु भनेर आउने गरेको अध्यक्ष राई सुनाउँछन्। उनीहरूमध्ये धेरैलाई बजारको भने चिन्ता छ।
‘उहाँहरूले बजारको ग्यारेन्टी तपाईंले लिनुपर्छ भन्नुभएको छ। मैले उहाँहरूलाई तपाईंहरूको कागती बिक्री भएन भने गाउँपालिका अध्यक्षबाट हटे पनि म रहन्छु र मै ठेक्का लिउँला भनेको छु,’ उनले भने।
अध्यक्ष राईले यसअघि पनि कोरोना महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल लैजाने काम गर्दा धेरैबाट प्रशंसा बटुलेका थिए। त्यो बेला १९ जना संक्रमितलाई बोकेको स्मरण गर्दै राईले भने, ‘त्यतिबेला पनि १९ जना बिरामीलाई आफैं बोकेर अस्पताल पुर्याएँ। तीमध्ये तीन जनालाई बचाउन सकिएन। निको भएकाहरूसँग अहिले भेटघाट हुँदा स्यावासी र आशिर्वाद दिनुहुन्छ।’