यदि तपाईं कोरोना संक्रमण भएर 'होम आइसोलेसन' मा बसिरहनुभएको छ भने तपाईंलाई कति दिन घरभित्रै बस्नुपर्छ भन्ने लाग्दो हो।
त्यसमाथि अहिले आइसोलेसनमा पाँच दिन बसे पुग्छ भन्ने कुरा आइरहँदा यसले तपाईंलाई झन् अलमल बनाइरहेको होला।
यही जिज्ञासा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोधेका छौं।
डाक्टर सुवेदीका अनुसार पाँच दिन आइसोलेसन बसेर पुग्दैन। किनभने पाँच दिनपछि पनि संक्रमित व्यक्तिबाट भाइरस अरूमा सर्नसक्ने उनी बताउँछन्।
तर अहिले धेरै संक्रमितहरूले आफूलाई छिट्टै निको भएको महसुस गर्ने गरेका छन्। त्यसले गर्दा पनि कतिलाई आइसोलेसनमा पाँच दिन बसे पुग्ने भन्ने लागेको हुनसक्छ।
यसबारे डाक्टर सुवेदीले भने, 'केहीलाई पहिल्यै संक्रमण भइसकेकाले त्यसबाट बनेको रोग प्रतिरोधात्मक क्षमताका कारण ओमिक्रोन संक्रमण चाँडै हराएर गएको देखिन्छ तर पाँच दिन आइसोलेसन बसेर पुग्दैन।'
हुन त केही देशहरूले ओमिक्रोन संक्रमणलाई लिएर आइसोलेसन अवधिलाई छोट्याएका पनि छन्। अमेरिकाले पाँच दिन आइसोलेसनमा बसे पुग्ने जनाएको छ। तर विश्व स्वास्थ्य संगठनले भने यसबारे कुनै आधिकारिक धारण बाहिर ल्याएको छैन।
अमेरिकाकै कुरा उल्लेख गर्दै सुवेदीले त्यहाँ आइसोलेसन अवधिलाई पाँच दिनमा झारिए पनि सकेसम्म बाहिर निस्किँदा एन्टिजेन परीक्षण गर्न भनिएको बताए।
सुवेदी पनि पुनः परीक्षण गर्दा एन्टिजेन नै उचित हुने बताउँछन्। किनभने एन्टिजेनले मरेको भाइरसलाई पोजेटिभ नदेखाउने उल्लेख गर्दै सुवेदीले भने, 'पिसिआरले भाइरस जिउँदो छ कि मरेको भन्ने सरोकार राख्दैन। भाइरसको एउटा सानो टुक्रा भयो भने पनि पोजेटिभ देखाउँछ। तर एन्टिजेनले अरूलाई सर्न सक्ने भाइरस छ भने मात्र पोजेटिभ देखाउँछ।'
त्यसो भए संक्रमण भएको कति दिनमा एन्टिजेन परीक्षण गर्ने भन्नेमा डाक्टर सुवेदी कम्तीमा सात दिनपछि एन्टिजेन परीक्षण गर्दा उचित हुने बताउँछन्। त्यसरी एन्टिजेन परीक्षण गर्दा नेगेटिभ आएको खण्डमा संक्रमितले आफू निको भएको ठानी बाहिर निस्किन सक्ने उनले जनाए।
साथै, संक्रमितहरूले आफूमा भएको लक्षण सुधारका आधारमा पनि एन्टिजेन परीक्षण गराउन सक्ने सुवेदी बताउँछन्। किनकि अहिले धेरै संक्रमितहरूलाई लक्षणले छिट्टै छोड्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा संक्रमितले एन्टिजेन परीक्षण गराएर नेगेटिभ आएको अवस्थामा बाहिर निस्किन मिल्ने जनाए।
तर यदि होम-आइसोलेसनमा रहेका संक्रमितले पुनः परीक्षण गर्न नचाहेको अवस्थामा पहिल्यैको जस्तो कम्तीमा पनि १० दिन आइसोलेसनमा बस्नुपर्ने उनको भनाइ छ।
१० दिन आइसोलेसनमा बसेपछि भने परीक्षण नै नगराई बाहिर निस्किन मिल्ने सुवेदी बताउँछन्।
यद्यपि यो सबै संक्रमितको हकमा भने लागु नहुने उनको भनाइ छ।
किनभने भाइरसको असर पनि व्यक्तिको स्वास्थ्य अवस्थासँग सरोकार रहने उल्लेख गर्दै उनले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा भाइरसको असर पनि लामो समयसम्म हुने बताए। तर त्यस्ता संक्रमितहरू पनि १० दिन आइसोलेसनमा बसेपछि आफू निको नभए पनि उनीहरूबाट अरूमा संक्रमण सर्ने सम्भावना भने न्यून रहने उनको भनाइ छ।
त्यसैले घरमै होम-आइसोलेसनमा बसिरहेका संक्रमितहरू कम्तीमा पनि १० दिन आइसोलेसनमा बस्नुपर्ने सुवेदी बताउँछन्।
यदि लक्षण कम भएको अवस्था वा आफूलाई छिटो निको भएको महसुस भएमा सकेसम्म एन्टिजेन परीक्षण गराउन र नेगेटिभ आएको अवस्थामामात्र बाहिर निस्किन उनको सुझाव छ।