सहरभरि फोहोर उधिन्दै डुल्न कसलाई रहर हुन्छ र! फोहोरमा डुल्नु, त्यहाँबाट कवाडमा बिक्री हुने सामान खोज्नु र दिनको हजार पन्ध्र सय रुपैयाँ कमाउनु कम सकसको काम होइन।
यसो गर्नु रहर होइन, बाध्यता हो, अन्तिम विकल्प हो।
अमरितादेवी साह यही अन्तिम विकल्पको पेसामा छिन्। टोलमा सडक तथा छेउछाउ फालिएका पोलिथिन झोला, बोतल लगायतका प्लास्टिक फोहोर टिप्दै अघि बढ्छिन्। भेटेसम्म बियर र रक्सीका बोतल पनि उठाउँछिन्।
यस्ता वस्तु कतै सजिलै टिप्न सकिने ठाउँमा भेटिन्छन् त कतै निकै जोखिमा मोलेर टिप्नुपर्छ। उनी खुट्टामा चप्पल लगाएर त्यस्ता फोहोर टिप्न नालामै पनि पस्छिन्। कहिलेकाहीँ पैतालामा सिसाले काट्छ, काँटाले घोच्छ। तै पनि अमरितादेवी साह हार मान्दिनन्।
सर्लाहीको ब्रहमपुरी गाउँपालिकाकी स्थायी बासिन्दा अमरितादेवीले जनकपुरको माछा बजारमा डेरा लिएकी छन्। बिहान खाजा बनाएर छोराछोरीलाई खुवाउने र आफू पनि खाएर फोहोरबाट पैसा आर्जन हुने सामान टिप्न एउटा ठेला ठेल्दै हिँड्नु उनको दिनचर्या हो।

फोहोर संकलनका लागि ठेला चढेर निस्केकी अमरिता।उनी बिहानै चाँडै कोठाबाट निस्किन्छिन् र घाम अस्ताउन थालेपछि मात्र घर फर्किन्छिन्। फोहोरमा डुल्दै दिनभर कहाँ-कहाँ पुगिन्छ उनलाई थाहै हुँदैन। कच्ची र खाल्टे सडकमा ठेला धकेल्न निकै सकस हुन्छ। उनले गर्दै आएको काम यही हो। जति दुःख भए पनि काम छाड्न मिल्दैन। उनका लागि जीवन चलाउने, छोराछोरी पाल्ने उपाय यही हो।
महिला मान्छे फोहोरमा डुलेको देखेर कतिपयले कुरा काट्छन्। यसरी फोहोरमा डुल्ने काम त पुरूषको हो भन्ने ठान्छन्। यो काम थालेको सुरूका दिनहरूमा त यसरी कुरा काटेको सुनेर उनी निराश हुन्थिन्। आजकाल वास्ता गर्दिनन्।
‘यही काम पुरूषले गर्दा कसैले केही बोल्दैन, महिलाले गर्दा नानाथरी कुरा काट्छन्,’ अमरितादेवी भन्छिन्, ‘सामान लोड गरेर ठेला चलाउँदा छाती दुख्छ। वर्षामा बाटोमा हिलो हुन्छ, पानी जमेको हुन्छ, ठेला धकेल्न गाह्रो हुन्छ।’
अमरितादेवीले पढेकी छैनन्। आफूले गर्ने काम यस्तै हो भनेर चित्त बुझाएकी छन्।
भन्छिन्, ‘म अनपढ छु, काम नगरी गुजारा चल्दैन। अर्को काम जानेको छैन।’
अमरितादेवी ३२ वर्षकी भइन्। तीन वर्षअघि अचानक उनका श्रीमान बिते। साथमा दुई छोरी र एक छोरा छन्। तीन सन्तानको पालनपोषण गर्नुपर्छ। आफू पालिनु पर्छ।
‘मेरो त आधा जिन्दगी बित्यो। मेरा छोराछोरीले मैले जस्तो दुःख नपाऊन्, उनीहरूले राम्रो पढून्, बिजनेस गरून्’ उनी भन्छिन्, ‘यतिका लागि म दिनभर कचरा (फोहोर) मा काम गर्छु।’
यसरी फोहोर उधिनेर अमरितादेवी दिनको पाँच सयदेखि १५ सय रुपैयाँसम्म कमाउँछिन्। यही कमाइले उनको परिवार चलाउनु छ र छोरा-छोरीको भविष्य उन्नत बनाउने सपना पूरा गर्नुछ।
सडकमा घुम्दै प्लास्टिक र सिसाजन्य फोहोर टिप्न निस्केका मजदुर। उनका अनुसार जनकपुरधाममा उनले जसरी फोहोर उधिन्दै हिँड्ने महिला झन्डै सय जना छन्। यी परिश्रमी महिलाहरू सहरभित्रमात्रै होइन, गाउँमा पनि पुग्छन्। पसलबाट बियरका बोतल खरिद गर्छन् र कवाडमा बेच्छन्।
जनकपुरमा वयस्कहरूमात्रै होइन, बालबालिका पनि फोहोर उधिन्दै गरेका भेटिन्छन्।
भमरपुरा चोकमा भेटिए नौ वर्ष उमेरका एक बालक। उनका खुट्टा खाली थिए, न चप्पल, न जुत्ता। पिठ्युँमा फोहोरबाट टिपेका प्लास्टिकले आधा भरिएको बोरा थियो।
उनी हरेक दिन बिहानै बोरा लिएर प्लास्टिकका बोतल र पोलिथिन टिप्न हिँड्छन्।
सडकपेटीमा बोरामा प्लास्टिकजन्य फोहोर टिप्दै उनी आफूले जम्मा गरेको सामान भमरपुरा चोकको कवाडखानामा प्रतिकिलो ३० रुपैयाँमा बेच्छन्।
भन्छन्, ‘एक दिनमा चार बोरा बोतल र पोलिथिन टिप्छु। कमाएको पैसा आमालाई दिन्छु। आमालाई बिमार छ, सधैं पेट दुख्छ।’
उनका बुबा मजदुरी गर्छन्।
जनकपुरधाममा मात्रै फोहोरबाट प्लास्टिक, प्याकेजिङका कार्टुन, टिनका बट्टा टिप्ने र फलाम, पुराना किताबकापी इत्यादि संकलन गर्नेको संख्या पाँच सयको हाराहारीमा रहेको अनुमान छ।
उनीहरू जनकपुरधामसँगै धनुषाका विभिन्न बजार डुल्छन्। घुम्दै महोत्तरीसम्म पनि पुग्छन्।
कवाड व्यवसायीहरूका अनुसार गरिब र अशिक्षित बालकहरू फोहोर टिप्ने काममा लागेका छन्।
कवाड संकलनमा भारतीयहरू पनि छन्। सीतामढीका भागनारायण साहले जनकपुरमा कवाड संकलन गरेको २० वर्ष भयो। उनी जनकपुरको बजरंग कवाडका लागि काम गर्छन्।
साहुले उनलाई एउटा ठेला दिएका छन्। दिनभरमा उनी १५ सय रुपैयाँसम्म कमाउँछन्।
यसरी कवाड संकलन गर्नुलाई आफन्तहरूले राम्रो मान्दैनन्। तै पनि उनी आफ्नो श्रममा सन्तुष्ट छन्।
‘हामी चोरी गर्ने होइन, आम्दानी हुने ठाउँमा काम गर्न केको लाज!,’ भगनारायण भन्छन्,‘सामान जोखेर बुझाउनासाथ पैसा पाइन्छ।’
जनकपुरका बासिन्दा अरूण झाका अनुसार प्लास्टिक र कवाड संकलकहरूकै कारण जनकपुर केही सफा रहन सकेको हो।
‘यहाँबाट दिनको कैयौं ट्रक फोहोर, प्लास्टिक र बोतल पाइप फ्याक्ट्रीमा जान्छ,’ उनी भन्छन्, ‘कल्पना गरौं त यति फोहोर बाहिर नजाने हो भने जनकपुरको के दुर्दशा हुन्थ्यो होला!’
अमरिताले जनकपुरका विभिन्न स्थानबाट टिपेर ल्याएका प्लास्टिक र बोतलजन्य फोहोर कवाड पसलमा लैजान ठेलाबाट बोरामा कसेर राख्दै।उनका अनुसार यी श्रमिकले आफ्नो गुजाराका लागि काम गरेका भए पनि समग्र जनकपुरका लागि काम गरिरहेका छन्।
स्थानीय सरकारले नगरेको काम यस्ता व्यक्तिहरूले गरिरहेकाले उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ।
बजरंग कवाडका साहु राजकुमार साहका अनुसार जनकपुरमा करिब एक दर्जन कवाड पसल छन्।
मजदुरले ती कवाड पसलमा दिनको चार-पाँच टन सामान पुर्याउँछन्। उनको कवाडमा दिनको झन्डै एक टन प्लास्टिक जम्मा हुन्छ। उनकोमा मात्रै सामान बेच्ने ६० जना छन्। उनी यस्तो प्लास्टिक जनकपुर र वीरगञ्जका पाइप उद्योगलाई बेच्छन्।
जोखिम मोलेर फोहोरबाट प्लास्टिक संकलन गर्नेलाई उपमहानगरपालिकाले कम्तीमा पञ्जा र बुटको व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ। यी श्रमिकहरूलाई प्रोत्साहित गर्न सके सहर सफा राख्न मद्दत पुग्ने उनको विश्वास छ।