पोखरा महानगरका मेयर उम्मेदवार लेखक गनेस पौडेलले फरक नतिजाका लागि मत बदल्नुपर्ने बताएका छन्। अहिलेका दलहरू र तिनका उम्मेदवारले फरक नतिजा दिन नसक्ने दाबी गर्दै उनले देशभर चलेको ‘अटेरी अभियान’लाई साथ दिन आग्रह गरे।
‘विगत २६ वर्षदेखि एउटै दलका एकै व्यक्ति लगातार सांसद भइरहेका छन्, तर काम केही पनि गर्दैनन्,’ उनले भने, ‘फरक नतिजा चाहने हो भने मत बदल्नुस्, अटेरी अभियानलाई साथ दिनुस्।’
आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयरमा र उम्मेदवारी घोषणा गर्दै पौडेलले ‘अटेरी अभियान’ चलाएको बताएका छन्।
‘पोखरा लक्ष्य २०७९ कार्ययोजना पत्र’ सार्वजनिक गर्दै शनिबार लेखक पौडेलले दलहरूका गतिविधि र गलत शासनबाट मुक्त हुन अटेरी अभियान चलाएको बताए। उनले भने, ‘दलहरू आफ्नो मूल्य, मान्यता र आदर्शमा चलेनन्, त्यही भएर हामीले अटेर गरेका हौं।’
पटक-पटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका एमाले र कांग्रेस एक-अर्काका विकल्प नभएको उनले दाबी गरे।
‘कांग्रेसको विकल्प एमाले होइन, एमालेका विकल्प कांग्रेस होइन,’ उनले भने, ‘यी दुबै दलका विकल्प हामी हौं, अटेरी अभियान हो।’
राजनीतिक दलहरूले हरेक क्षेत्रमा हस्तक्षेप गरेर कार्यकर्ता भर्ना गरिरहेको भन्दै उनले त्यस्तो प्रवृत्तिमाथि आपत्ति जनाए। ‘टोल सुधार समिति, युवा क्लब, आमा समूह, विद्यालय व्यवस्थापन समिति, वन समिति जहाँ पनि राजनीतिक भागबण्डा हुन्छ,’ उनले भने, ‘हरेक संस्थामा छायाँ सरकार छ।’
आउँदो स्थानीय चुनावलाई लक्षित गरेर दलहरूले निर्वाचन हुने इकाइभन्दा तल्लो तहमा पनि पार्टी कमिटी गठन गरेको भन्दै उनले खारेज गर्न माग गरे। ‘दलहरूले टोल-टोलमा कमिटी बनाएका छन्, निर्वाचन आयोगले वडा तहभन्दा तलका कमिटी खारेज गर्नुपर्छ,’ पौडेलले भने, ‘निर्वाचन हुने इकाइभन्दा तल दलीय कमिटी बनाउन दिनु हुँदैन।’
पौडेलले कार्यकर्ता व्यवस्थापनमा ध्यान दिने दलहरू सबैभन्दा भ्रष्ट भएको बताए। ‘जनप्रतिनिधि पाल्न महंगो भएको होइन, देशलाई कार्यकर्ता पाल्न गाह्रो भएको हो,’ उनले भने, ‘नेपालमा ५० लाख घोषित कार्यकर्ता छन्, कार्यकर्ता व्यवस्थापनमा ध्यान दिने पार्टी सबैभन्दा भ्रष्ट पार्टी हुन्।’
दलहरूले उपभोक्ता समितिदेखि अन्य सामाजिक संस्था र समितिमा कार्यकर्ता घुसाएर भ्रष्टाचार गरेको पौडेलले आरोप लगाए।
कार्यक्रममा साहित्यकार कुमार नगरकोटीले दलहरूप्रति आमनागरिकको अन्धविश्वास अटेरी अभियानले तोड्न सक्नुपर्ने बताए। उनले ‘प्रधानमन्त्रीको प्रेस वक्तव्य र ऊ कम्युनिष्ट मेनिफेष्टो पढिरहेछ’ शीर्षकको कविता वाचन गरेका थिए।
पोखरा लक्ष्य सार्वजनिक समारोहमामा बोल्दै रूपन्देहीकी सिद्धार्थ नगरका मेयर उम्मेदवार इशा खड्काले आम नागरिकले निकास खोजेको बताइन्। ‘स्थानीय तहदेखि नै सरकार सञ्चालनमा दलहरूले बनाएको जालो तोड्न धेरै गाह्रो छ,’ उनले भनिन्, ‘हामीले आँट गरेका छौं, नगरबासीले साथ चाहिएको छ।’
प्रकृति संरक्षण र सुशासन मूल मुद्दा
लेखक पौडेलले आफू मेयर जितेमा सुशासन र प्रकृति संरक्षणलाई मूल मुद्दा बनाउने उद्घोष गरेका छन्। पोखरा महानगरमा भइहरेको भ्रष्टाचार नियन्त्रण गर्ने र पोखराका तालतलैया, पोखरी, रुख र चौतारा संरक्षण गर्ने नीति लिने उनले बताएका छन्।
पोखरा महानगरमा राजनीतिक प्रभाव र भागबण्डाका आधारमा नियुक्त कर्मचारीलाई बर्खास्त गर्ने भन्दै उनले जनप्रतिनिधि र कर्मचारीले वार्षिक रूपमा सम्पत्ति सार्वजनिक गर्ने कार्ययोजना पत्रमा उल्लेख गरेका छन्।
पोखरा महानगरले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाएको निर्णय खारेज गर्ने उनको कार्ययोजनामा छ। फेवातालको मापदण्ड ६५ मिटरबाट महानगरले हालै ३० मिटरमा झारेको थियो भने पोखराका अन्य ८ वटा तालको मापदण्ड पनि आधा घटाएको थियो।
पौडेलले कार्ययोजनामा रुखलाई सार्वजनिक सम्पत्ति घोषणा गर्ने बताएका छन्। सार्वजनिक मात्र होइन, निजी रुखसमेत काट्न नपाउने नीति लिने उनले बताएका छन्। पाखेराका नदी र तटीय क्षेत्रमा अतिक्रमणमा परेका १५ हजार रोपनी जग्गा फिर्ता ल्याएर जंगल बनाउने उनको कार्ययोजनामा छ।
पोखराका शिक्षा र स्वास्थ्यमा देशकै उत्कृष्ट बनाउने लक्ष्य उनले लिएका छन्। उच्च शिक्षा अध्यनका लागि सहुलियतमा ऋण दिन महानगर शिक्षा कोष निर्माण गर्ने उनको योजना छ।
कार्ययोजनामा पौडेलले ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ नारा दिएका छन्।
महानगरको प्रत्येक वडामा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएका पौडेलले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई प्रोत्साहन गर्ने कार्ययोजना बनाएका छन्।
पौडेलको पोखरा लक्ष्य कार्ययोजना विस्तृतमा पढ्नुहोस्