त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले 'अनअराइभल' भिसामा नेपाल आउने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोकेरै आउन आग्रह गरेको छ। कोरोनाका कारण थलिएको नेपाली पर्यटन क्षेत्रमा भर्खर-भर्खर विदेशी पर्यटक आउन थालेका बेला अध्यागमन कार्यालयले यस्तो आग्रह गरेपछि आलोचना भएको छ।
विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीका अनुसार एक साताअघि सूचना जारी गरी अनअराइभल भिसा लिने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोक्न आग्रह गरिएको हो।
अध्यागमनले भने कुनै विशेष कारणले नभई विमानस्थलमा विद्युतीय भुक्तानीमा समस्या आएकाले यस्तो निर्णय गरेको जनाएको छ। अहिले मास्टर, भिसा कार्ड चल्ने एटिएम नचलेकाले यस्तो आग्रह गरिएको उनको भनाइ छ।
विमानस्थलमा एउटा मात्र एटिएम मेसिन छ। त्यसैले धेरै भिडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्किने समस्या भइरहन्छ। त्यसैले भिसा तथा मास्टर कार्डबाट पैसा निकाल्न कठिन भएको उनी बताउँछन्।
‘यहाँको एटिएमले कामै गर्दैन। एक वर्ष भइसक्यो राम्ररी काम नगरेको। हामीले राष्ट्र बैंकलाई पटक-पटक भनिसक्यौं तर पार लागेन,’ शाहीले सेतोपाटीसँग भने, ‘साथमा डलर नभएका पर्यटकलाई प्रहरीसँगै लगाएर पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएर मात्रै भिसा दिनुपर्ने अवस्था आएपछि यस्तो अनुरोध गरेका हौं।’
उनका अनुसार राष्ट्र बैंकको टोली आएर यहाँ एटिएमको समस्याबारे हेरेर गइसकेको छ। तर अहिलेसम्म सुधारको कुनै प्रक्रिया बढेको छैन। यहाँ प्रभु बैंकको एटिएम छ। एटिएम राख्ने ठाउँ नागरिक उड्ड्यन प्राधिकरणले उपलब्ध गराएको हो। बैंकिङ प्रणाली र प्रक्रियाको नियामकका रूपमा समस्याबारे राष्ट्र बैंकसँगै कुरा गरिने पनि शाहीले जानकारी दिए।
'यहाँको बैंकिङ प्रणालीमा केही समस्या आए हामीले भन्ने राष्ट्र बैंकलाई नै हो,' शाहीले भने, 'अहिलेसम्म समस्या भने सुल्झेन।'
विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन्। राष्ट्र बैंकले भने विमानस्थलमा पर्यटकका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि चासो नदेखाएको अध्यागमन कार्यालयले बताएको छ। यसबारे हामीले राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलसँग सोध्यौं।
उनले मेसिनरी सामानले कहिलेकाहीँ काम नगर्ने समस्याका कारण पर्यटकलाई साथमा दुई सय डलर ल्याउन आग्रह गरिएको तर यसबारे थप जानकारी आफूलाई नभएको बताए।
‘पर्यटकलाई त्यहाँ भुक्तानीमा समस्या नहोस् भनेर तत्कालका लागि यस्तो सूचना जारी गरिएको रहेछ। यस विषयमा थप कुरा मलाई जानकारी छैन,’ उनले भने।
कोरोना संक्रमण कम हुँदै गएपछि पर्यटक बढ्न थालेका छन्। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ।
तर विमानस्थलमै पर्यटकका लागि बाधा-अड्चन हुँदा सास्ती भोग्नु पर्ने अवस्था रहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्। विमानस्थलमा पूर्वाधार व्यवस्थित नहुँदा पर्यटनमा नराम्रो असर पर्ने भएकाले तत्काल सहजीकरण गर्न बोर्डले आग्रह गरेको समेत लामिछानेले बताए।
‘यो समस्याले पर्यटन प्रवर्द्धनमा नकारात्मक असर पर्नसक्छ। विद्युतीय भुक्तानीमा देखिएको यो समस्या तत्काल समाधान गर्नुपर्छ। त्यहाँ एउटा मात्र एटिएम मेसिन छ भने बढाएर हुन्छ कि, कसरी हुन्छ, सहज हुनुपर्छ भन्ने कुरा बोर्डले राखेको छ,’ उनले भने।