मोरङमा एमालेको विजय जुलुसमा जान हिँडेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा १३ जना घाइते भएका हुन्।
को २ च १४३७ नम्बरको बिहीबार दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।
जुलुसका सहभागी लिएर जाने क्रममा ट्याक्टर पल्टँदा घाइते भएकामध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर छ।
उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
घाइते अन्य ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्।