पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज प्रतिकूल मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार भएको संसदको अन्तर्राष्ट्रिय समितिमा खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक अध्ययन प्राप्त भएको जानकारी गराए।
महानिर्देशक अधिकारीले खराब मौसमका कारण दायाँ मोड्नु पर्ने जहाज बायाँ मोडिएको र गएर भित्तामा ठोक्किएको प्रारम्भिक अध्ययनले देखाएको बताए। जाँच-बुझ आयोग गठन गरी घटनाको थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने उनले बताएका छन्।
यो रूटमा यसपालिको सहित पाँच दुर्घटना भएका छन्। यी दुर्घटनामा अहिलेसम्म ७७ जनाले ज्यान गुमाएका छन्।
यसअघि २०७२ फागुन १३ गते यो रूटमा दुर्घटना भएको थियो। त्यस बेला तारा एयरकै विमान म्याग्दीको दाना गाविसमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ जना यात्रुको मृत्यु भएको थियो।
त्यस्तै २०७० सालमा नेपाल एयरलाइन्सको जहाज यो रूटमा दुर्घटना भयो। त्यसमा २१ जना घाइते भए। जहाज पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खसेको थियो।
२०५९ जेठ १ मा अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै पानीट्यांकी डाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। ६ जना घाइते भएका थिए। उक्त जहाज पनि डाँडामा ठोक्किएको थियो।
२०५९ भदौ ३ गते जोमसोमबाट पोखरा उडेको सांग्रिला एयर दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो।
यसरी पछिल्ला बीस वर्षमा यो रूटमा पटक–पटक दुर्घटना हुँदा ठूलो मानवीय तथा आर्थिक क्षति भएको छ। प्रतिकूल मौसम हुँदाहुँदै पनि जहाज उडाउने तथा रूटमा टावर र सिग्नलको समस्याका कारण पनि दुर्घटना भएका टिकाटिप्पणी आइरहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो रूटमा एक ठाउँमा 'लाइन अफ साइट कम्युनिकेसन ग्याप' छ। यो भनेको जहाज सम्पर्कबिहीन हुने अवस्था हो। पार गर्न करिब तीन मिनेट लाग्ने डाँडामा छेकिने ठाउँ (बफर जोन) भएकाले यो अवस्था आउने प्राधिकरणको भनाइ छ। यो ठाउँमा पुगेपछि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटिसी) बीच सम्पर्क हुँदैन।
यसरी टावरसँग सम्पर्क टुट्दा जहाज उडाउन जोखिमपूर्ण हुन्छ भनेर कतिपयले तर्क गरेका छन्। यो रूटमा पटकपटक दुर्घटना हुनुमा सम्पर्क नहुनु पनि कारण रहेको केहीले बताएका छन्।
हामीले यस सम्बन्धमा यो रूटमा २०४९ सालदेखि जहाज उडाउँदै आएका क्याप्टेन सन्तोष शाहसँग कुरा गरेका छौं। उनी २०४९ सालमा यही रूटमा नेपाल एयरवेजको जहाज चलाउँथे।
त्यो रूटमा तीन मिनेट सम्पर्क नभएकै कारण दुर्घटना हुने अवस्था भने नरहेको उनी बताउँछन्।
उनले भने, 'यो रूटमा मात्र होइन, हाम्रो देशका धेरै रूटमा यस्ता ठाउँ छन् जहाँ १० मिनेटसम्म पनि पाइलट र टावरबीच सम्पर्क हुँदैन।'
रोल्पा, चौरजहारी, जुम्ला, बाजुरा, रारा, जोमसोम, लुक्ला, फाप्लुजस्ता विकट स्थानमा जहाज चलाउँदा धेरै स्थानमा सम्पर्क टुट्ने उनले बताए। विगत २३ वर्षयता तारा एयरसँग आबद्ध भएर पोखरा–जोमसोमसँगै अन्य दुर्गम स्थानका रूटहरूमा उनी काम गरिरहेका छन्।
उनका अनुसार पोखरा–जोमसोम रूटमा उड्ने विमानको म्याग्दीको घोरेपानी कटिसकेपछि तातोपानी र लेतेको बीचमा करिब तीन मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छ। त्यसपछि फेरि टावरसँग सम्पर्कमा आउँछ र अवतरण हुन्छ।
ताराको यसपालि दुर्घटनामा परेको ९ एन एइटी विमान पनि बफर जोन पार गरेर टावरमा सम्पर्क आएपछि बेपत्ता भएको बताइएको छ।
'हामी यसबारे पूर्व जानकार हुन्छौं। विकट स्थानमा सिग्नल वा टावर नटिपे केही समस्या पर्दैन। बरू म काठमाडौं आउँदै छु, यहाँ म सम्पर्कबिहीन भएँ भने समस्या पर्न सक्छ। अर्को जहाजसँग ठोक्किने जोखिम हुन्छ,' उनले सेतोपाटीसँग भने।
दुर्गम स्थानमा उड्ने बाटो ठाउँको मौसम, अवतरण हुने ठाउँको मौसम र अवतरण गर्न नसकिने अवस्थामा असहज भए अर्को विकल्प ठाउँको मौसमसमेत बुझेर मात्रै उडान गरिने उनले बताए।
'हामी सजग भएर उडान भर्दा पनि बीच बाटोमा जाँदाजाँदै मौसम बदलिदिन्छ,' क्याप्टेन शाह भन्छन्, 'त्यसरी मौसम बदलीको जिम्मा त कसले लिन सक्छ र?'
प्राधिकरणका प्रवक्ता देव चन्द्रलाल कर्ण पनि पोखरा–जोमसोम रूटमा तीन मिनेट जहाज र टावरबीच सम्पर्क नहुँदा दुर्घटना ननिम्तिने जिकिर गर्छन्।
'यो रूटमा बीचमा पहाड आउँछन् जसले गर्दा लाइन अफ साइट कम्युनिकेसन ग्याप हुन्छ। केही समय सम्पर्क टुट्छ। तर सम्पर्क टुट्दैमा दुर्घटना हुने भन्ने हुँदैन,' उनले भने।
डाँडाले छेकिँदा टावर र सिग्नल नटिप्ने ठाउँमा उपकरण जडानका लागि प्राधिकरणले केही गरिरहेको छ कि छैन? भन्ने प्रश्नमा उनले भने, 'म यो विषयको विज्ञ नभएकाले मलाई यसबारे जानकारी छैन।'
तर प्राधिकरण नेपालको हवाई सुरक्षामा विशेष संवेदनशील रहेको उनले दाबी गरे। त्यसबीच पनि प्रतिकूल मौसम लगायत विभिन्न कारण जहाज दुर्घटना हुनु दुखद भएको उनी बताउँछन्।
के जहाज र ट्राफिक कन्ट्रोलबीच सम्पर्क टुट्ने अवस्था आउने ठाउँ हामीकहाँ मात्र छ?
प्रवक्ता कर्णका अनुसार बीचमा सम्पर्क नहुने (लाइन अफ साइट कम्युनिकेसन ग्याप) को अवस्था विश्वका अरू मुलुकका हवाई रूटमा पनि छन्। यस्तो ठाउँमा एक किसिमको प्रविधि (एचएफ फ्रिक्वेन्सी) प्रयोग गरेर सम्पर्क गर्न सकिने उनको भनाइ छ।
'जहाजसँग सम्पर्क गर्न भिएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र एचएफ (हाई फ्रिक्वेन्सी) गरी दुई प्रविधिका विकल्प हुन्छन्। खोंच तथा पहाडले छेकेको ठाउँमा भिएचएफले काम नगरेको अवस्थामा एचएफ फ्रिक्वेन्सी प्रयोग गर्न सकिन्छ,' उनले भने, 'सम्पर्क नहुने कुरा सामान्य समस्या हो।'
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि यसबारे केही नतोकेको उनले बताए।
'यस्तो समस्या सबैतिर हुने हो। यसमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि प्रश्न गर्दैन,' उनले भने।
आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। यात्रुमा १३ नेपाली, दुई जर्मन र चार भारतीय नागरिक थिए। यी २२ जनामध्ये २१ जनाको शव फेला परिसकेको छ।