गत शुक्रबार भरतपुर महानगरपालिकाले गरेको समृद्ध भरतपुर महानगरपालिकाको आगामि कार्यदिशा विषय अन्तरक्रियामा भागलिन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, मुख्यमन्त्री राजेन्द्र पाण्डे, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, अर्थ सचिव, योजना आयोगका उपाध्यक्ष, विभिन्न विभागका महानिर्देशकको जम्बो टोली भरतपुर आइपुगेको थियो।
दोस्रो पटक भरतपुरको मेयर बनेकी रेनु दाहालले आफूले पहिलो कार्यकालमा गरेका काम देखाउने र आगामी योजनाका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेकी थिइन्।
अन्तरक्रियामा नारायणी नदीमा पुल बनाउने विषयले निकै चर्चा पायो।
मेयर दाहालको पहिलो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा भरतपुर र नवलपुरलाई जोड्ने तीन पुल निर्माण गर्ने उल्लेख थियो। तर उनको पाँच वर्षे कार्यकालमा एउटा पनि पुल निर्माणको काम अघि बढ्न सकेन। यसपटक उम्मेदवार बन्दै गर्दा उनले प्रतिवद्धतापत्रमा नारायणी नदीमा आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने उल्लेख गरेकी थिइन्।
शुक्रबारको अन्तरक्रियामा उनले सिग्नेचर ब्रिजका अलावा नारायणी नदीमा पश्चिम चितवन र नवलपरासी जोड्ने अर्को पुल पनि निर्माणका लागि बजेटको सुनिश्चितता गरिदिन संघ र प्रदेश सरकारसँग माग गरिन्।
उनको कुरा ध्यान दिएर सुनेका संघीय सरकारका प्रतिनिधिले पनि नारायणी नदीमा पुल निर्माण तुरून्तै सुरू गर्ने वचन दिन भ्याए।
‘नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउन कन्सेप्च्युअल डिजाइन भइसकेको छ, अब केही दिनमा हामी टेन्डर आह्वान गर्छौं,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने।
सडक विभागका मुख्य मान्छेले नै तुरून्तै टेन्डर निकालेर पुल बनाउन सुरू हुने बताउँदा कार्यक्रममा सहभागीहरू खुसी देखिन्थे। चार दशक पुरानो नारायणीको एक मात्र पुल जीर्ण बनिसकेको छ। केही दिनअघि ठूलो हावाहुरी चल्दा यो पुलका बार र पोल ढलेका थिए। त्यसपछि यात्रुहरू यो पुल हुँदै यात्रा गर्न थप सशंकित बनेका छन्। यो अवस्थामा महानिर्देशकले बोलेका कुराले चितवनवासीलाई खुसी बनाउनु स्वभाविकै हो।
उनले सिग्नेचर पुलको अर्थ र डिजाइनबारे बताउँदै हाल पुल रहेको पुल्चोकबाट नजिकै छिट्टै चार लेनको पुल बन्ने दाबी गरेका थिए।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले महानिर्देशक थापाले भन्दा ठूला सपना देखाए।
‘म यो सिग्नेचर पुलको कुराबाट सन्तुष्ट हुन सकेको छैन। सिग्नेचरको परिभाषा कति पर्छ मलाई थाहा छैन तर अब बनाउँदाखेरी सपनाचाहिँ ठूलो देखौं के,’ उनले भने, ‘तल गाडी, माथि वाकिङ ट्रेल, साइडमा साइकल लेन, पुलबाट बन्जीजम्प नै गर्न मिल्ने बनाउँ न।’
उनी यतिमै रोकिएनन्। नारायणी मल्टिप्रपोज पुलको बोर्ड बनाई आइपिओ निकालेर सेकेन्डरी मार्केटमा जान सकिने सुनाए।
‘त्यसपछि त त्यसको शेयरमात्रैले नि मालामाल कमाउन सकिन्छ,’ मरासिनीले भने, ‘यो राइट लोकेशनमा छ यसको विकासमा दिमाग लगाउनुपर्यो।’
सडक विभागका महानिर्देशक थापाले सरकारको बजेटमा सिग्नेचर पुलको तुरून्तै टेन्डर हुन लागेको दाबी गरेको करिब १५ मिनेटपछि बोलेको अर्थ सचिवले त्यही ठाउँमा सिग्नेचर नभई मल्टिप्रपोज पुल ‘पिपिपी मोडल’मा बनाउनु पर्ने बताए।
जिम्मेवार दुई निकायका अधिकारीबाट आएका फरक-फरक कुराले यहाँ तत्काल नयाँ पुल बनाउन सरकार तयार भइसकेको छैन भन्ने स्पष्ट झल्को दिन्थ्यो। अर्थ सचिव मरासिनीले अमेरिका, बेलायत, अष्ट्रेलियातिर सरकारकोमात्रै मुख नताकी इनोभेटिभ फाइनान्सिङ गरेर ठूला योजना सम्पन्न हुने गरेको भन्दै जनताले दिमाग लगाउनुपर्ने बताएका थिए।
‘परम्परागत सोच नराखौं। विदेशमा के भइरहेको छ हेरौं। दिमाग लगाउने हो, सरकारको मुख ताक्ने होइन,’ उनले भने।
जिम्मेवार अधिकारीहरूका फरक कुरा सुनेपछि सेतोपाटीले सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख उमेश विन्दु श्रेष्ठलाई सम्पर्क गरेर सोध्यो-नारायणी नदीमा सिग्नेचर पुल निर्माणको टेन्डर तुरून्तै हुन लागेको हो?
उनले भने-तत्कालै सम्भव छैन। हामीले नयाँ पुल बनाउनका लागि हालको पुल भन्दा उपल्लो भागलाई हेरेका थियौं तर त्यहाँ सडकको राइट अफ वेमा अतिक्रमण बढी भएकाले सम्भावना कम देखियो। अहिलेसम्म कहाँ बन्ने भन्ने नै टुंगो छैन।
उनले नारायणी नदीमा नयाँ पुल बनाउने कार्यक्रम सरकारले बजेटमा ल्याएको भए पनि कस्तो पुल, कति बजेटमा, कहिले बनाउन थाल्ने भन्ने अझै यकिन नभइसकेको बताए।
‘सम्भवत: अब हालको पुलभन्दा तलतिर हेर्छौं होला। धेरै तल जाँदा चितवन राष्ट्रिय निकुञ्जले दिँदैन त्यसैले थोरै तल कस्तो हुन्छ हेर्छौं,’ उनले भने, ‘नयाँ आर्थिक वर्ष त अब सुरू हुन लाइहाल्यो, यसपालिलाई सम्भव छैन। अर्को वर्ष टेन्डर हुनसक्छ।’
उनले सरकारले पुल बनाउने कुरामात्रै कार्यक्रममा ल्याएको र सडक विभागले सिग्नेचर पुलको कन्सेप्ट डिजाइन गरेको बताए।
‘बनाउने भनेरमात्रै भएन, आवश्यक पर्ने जग्गा उपलब्ध हुनुपर्यो,’ श्रेष्ठले भने, ‘सुरू गरेपछि त बजेट बिस्तार आउँदै गर्ला।’
उनले पहिले पश्चिम चितवनको गोलाघाटमा नारायणी नदीमाथि पुल बनाउन खोज्दा चितवन निकुञ्जले नदिएपछि टेन्डर खारेज गर्नुपरेको सुनाए।
‘तलतिर पुल बनाउन त सजिलो छैन, हालको पुल नजिकैचाहिँ ढिलो-चाँडो बन्ला,’ पुल महाशाखाका प्रमुख श्रेष्ठले भने।