काठमाडौंबाट आफन्तको घरमा जान आएकी एक युवतीलाई चितवनमा महिनौंसम्म बन्धक बनाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।
काठमाडौंमा घरको ढलान गर्ने काममा मजदुरी गर्ने २७ वर्षीया युवतीको हराएको ८२ दिनपछि उपचारको क्रममा मृत्यु भएको छ।
जेठ २० गते उपचारका लागि भरतपुर अस्पताल पुग्दा ती महिलामा अत्याधिक रक्तस्राव थियो। शरीरका विभिन्न अंगमा घाउ चोट लागेको थियो। उनको जेठ ३० गते मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार ती युवती गत चैत १० गते पूर्वी चितवनको पिप्ले नजिकै दाइ-भाउजुको घर जान भनेर काठमाडौंबाट आएकी थिइन्।
पूर्व-पश्चिम राजमार्गबाट २ किलोमिटरजति भित्र नयाँबस्ती भन्ने गाउँमा बस्ने दाइ-भाउजुको घरमा उनी जाँदै थिइन्।
काठमाडौंबाट आएको गाडीबाट उनी रातिको समयमा भण्डारा बजारमा झरिन्। अँध्यारोमा दाइको घर जाने बाटो पत्ता लगाउन नसकेर रन्थन्निरहेकी उनलाई सहयोग गर्न एक जना अधवैंशे पुरूष आए।
मकवानपुरको हेटौंडा-९ घर भएका पूर्ण घलान नामका पुरूषले ‘आज रात परिसक्यो भोलि दाइ-भाउजुको घर लगिदिन्छु’ भनेर आश्वास दिँदै युवतीलाई आफैंसँग लगे।
आफूसँग लगेको २ महिना १० दिनपछि बल्ल घलानले युवतीलाई दाइको घरमा पुर्याइदिए। यो अवधिमा ती युवतीमाथि के-के भयो, उनको मृत्यु के कारणले भयो भन्ने विषयमा अहिले जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए।
युवतीमाथि अपहरणपछि बन्धक बनाएर सामूहिक बलात्कार भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। मृतकका आफन्तले अलपत्र परेकी युवतीलाई भोलिपल्ट घर लगिदिन्छु भनेर आफूसँगै लगि बन्धक बनाएर घलान र अन्य तीन जनाले महिनौंसम्म बलात्कार गर्ने गरेको बताएका छन्। बलात्कार गर्ने समूहले युवतीलाई कसैलाई भने मार्ने धम्की दिएका थिए।
४५ वर्षे पूर्ण घलानलाई स्थानीयबासीले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए। उनी अहिले पनि प्रहरीको नियन्त्रणमा छन्।
‘एक जना जेठ २४ गतेबाट हाम्रो नियन्त्रणमा छन्। घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी अधिकारीले भने, ‘अन्यको पनि खोजी भइरहेको छ।’
डिएसपी अधिकारीका अनुसार युवतीको स्वास्थ्य अवस्था बिग्रिएपछि घलानले वैशाख २७ गते नै उपचारका लागि भरतपुर अस्पताल लगेको भेटिएको छ। त्यतिखेर उनले आफ्नी श्रीमती भनेर एक हप्तासम्म राखेर उपचार गराएका थिए। उपचार खर्च पनि श्रीमतीका लागि भनेर सहयोग उठाएका थिए।
एक साता अस्पतालमा उपचार गराएर उनले ती युवतीलाई फेरि आफ्नो घरमा लगेर बलात्कार गरेका थिए। यही बीचमा केही दिनअघि उनले युवतीलाई दाइको घरमा पुर्याएका थिए।
घलानले जेठ २० गते दाइको घरमा पुर्याउँदा पनि आफूलाई युवतीको श्रीमानका रूपमा चिनाएका थिए। सोधपुध गर्दै जाँदा बिहे नभएको खुलेको थियो। घलानले त्यहाँबाट निस्किएपछि बल्ल युवतीले सबै कुरा आफन्तलाई बताएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चितवनमा ६ महिनामा २९ बलात्कारका घटना, २५ जना बालिका: इन्सेक
चितवनमा गत पुसदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा २९ वटा बलात्कारका घटना भएका छन्। सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार बलात्कार हुनेहरूमा २५ जना बालिका र ४ जना महिला छन्।
इन्सेक चितवनका संयोजक दीपेन्द्र अधिकारीले पछिल्लो ५ महिनामा थप एक महिलामाथि बलात्कारको प्रयास भएको, १२ जना बालिकाहरू बाल यौन दूर्व्यवहारमा परेको भेटिएको बताए।
अघिल्लो वर्षको यही अवधिमा चितवनमा १९ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए। उनीहरूमध्ये १३ जना बालिका थिए। उक्त अवधिमा १० जना बालिका बाल यौन दुर्व्यवहारमा परेका थिए।